कुनै बेला विज्ञानकथामा मात्र सम्भव मानिएको एउटा उपचारविधि प्रयोग गरेर चाँडै फैलिने र निको पार्न नसकिने ब्लड क्यान्सरबाट पीडित केही बिरामीहरूलाई रोगमुक्त पारिएको चिकित्सकहरूले बताएका छन् । यो विधिमा बिरामीका श्वेत रक्तकोष ‘डब्ल्यूबीसी’मा हुने आनुवंशिक तत्त्व डीएनए ‘सम्पादन’ गरेर ती कोषहरूलाई क्यान्सरको प्रतिरोध गर्ने ‘जीवन्त औषधि’मा रूपान्तरण गरिन्छ ।
यो विधि प्रयोग गरेर उपचार गरिएकी प्रथम व्यक्तिमा फेरि क्यान्सर देखापरेको कुनै सङ्केत फेला परेको छैन । बीबीसीले उनीबारे सन् २०२२ मा समाचार प्रकाशित गरेको थियो । ती किशोरी अहिले क्यान्सरबारे अनुसन्धान गर्ने वैज्ञानिक बन्न चाहन्छिन् । अहिले ‘टी–सेल अक्यूट लिम्फब्ल्यास्टिक लूकीमिआ’बाट पीडित आठ बालबालिका र दुई वयस्क व्यक्तिको सोही विधिबाट उपचार भएको छ ।
चिकित्सकहरूका अनुसार उनीहरूले ६४ प्रतिशत सफलता हात पारेका छन् । टी–सेललाई शरीरको संरक्षक मानिन्छ । प्रतिरोध प्रणालीअन्तर्गत पर्ने ती विशेष कोषहरूले शरीरलाई हानि पु¥याउने तत्त्वहरू खोज्छन् र तिनलाई नष्ट पार्न खोज्छन् । तर लूकीमिआ अर्थात् ब्लड क्यान्सर हुँदा तिनै कोषहरू अनियन्त्रित बनेर फैलिन्छन् । कीमोथेरपी र ‘बोन म्यारो’ प्रत्यारोपणबाट लूकीमिआको उपचार हुन सक्दैन ।
प्रयोगात्मक उपचारविधि वा औषधि प्रयोग गर्नुबाहेक अरू विकल्प बाँकी हुने भनेको बिरामीलाई कम कष्ट हुने गरी मृत्युवरण गर्न दिनु हो । ‘मलाई म साँच्चै मर्छु जस्तो लागेको थियो । म आफू पनि ठूली होऊँली र सबै बच्चाहरूले गर्न सक्ने कामकुरा गर्न सकूँली जस्तो पटक्कै लागेको थिएन,’ यो विधिबाट पहिलो पटक उपचार गरिएकी एलिसा ट्याप्ली भन्छिन् । यूकेको लेस्टरमा बस्ने यी किशोरी अहिले १६ वर्षकी भइन् । ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलमा उपचार भएपछि उनको जीवनमा कायापलट भएको छ ।
कसरी भयो उपचार
तीन वर्षअघि उनको उपचार गर्न प्रयोग गरिएको यो क्रान्तिकारी विधिअन्तर्गत उनको प्रतिरक्षा प्रणालीलाई पूरै हटाएर शरीरमा नयाँ प्रणाली विकसित गरिएको थियो । त्यसका लागि उनी चार महिना अस्पताल बस्नुपर्यो । सङ्क्रमण हुन सक्ने भएकाले उनले आफ्ना परिवारजनसँग पनि भेट्न पाइनन् ।अहिले उनको शरीरमा क्यान्सरको कुनै सङ्केत छैन । उनले प्रत्येक वर्ष चिकित्सकीय परीक्षण गराउनुपर्छ । अहिले उनी ए लेभलमा अध्ययनरत छिन् ।
उनी गाडी चलाउन सिक्न चाहन्छिन् । ‘म बायोमेडिकल विज्ञानमा ‘अप्रेन्टिस्शिप’ गर्ने विचार गर्दै छु । कुनै दिन ब्लड क्यान्सरको अनुसन्धान गर्न पाइने आशा पनि छ,’ उनले भनिन् । उनको उपचार गर्न यूनिभर्सिटी कलेज लन्डन (यूसीएल) र ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलमा कार्यरत विशेषज्ञहरूले ‘बेस एडिटिङ’ नामक प्रविधि प्रयोग गरेका थिए ।हाम्रो आनुवंशिक तत्त्व अर्थात् डीएनएमा चार प्रकारका यौगिकहरू हुन्छन् । तिनलाई ‘बेस’ भनिन्छ ।
तिनलाई हाम्रो जीवनको भाषा मान्न सकिन्छ । एडनीन (ए), साइटसीन (सी), ग्वानीन (जी) र थाइमीन (टी) हाम्रो आनुवंशिक सङ्केतका आधारभूत तत्त्व हुन् ।अक्षरहरू मिलेर अर्थपूर्ण शब्द बने जस्तै हाम्रो डीएनएमा भएका अर्बौँ बेसहरूले हाम्रो शरीर सञ्चालन गर्न निर्देशन दिन्छन् । ती ‘बेस’को सम्पादन गरेर वैज्ञानिकहरू आनुवंशिक सङ्केतको निश्चित भाग अर्थात् जीनमा केन्द्रित हुँदै केवल एउटा ‘बेस’को सूक्ष्म संरचनामा परिवर्तन गर्न सक्छन् ।
त्यसो गर्दा अर्कै यौगिक बन्न पुग्छ र आनुवंशिक सङ्केतले दिने निर्देशन पनि फेरिन्छ । अनुसन्धानकर्ताहरू शरीरलाई हानि पुर्याउने तत्त्वहरू खोज्ने र तिनलाई नष्ट पार्ने टी–सेलको स्वाभाविक शक्ति ‘टी–सेल अक्यूट लिम्फब्ल्यास्टिक लूकीमिआ’विरुद्ध प्रयोग गर्न चाहन्थे । तर त्यो सजिलो काम थिएन । अरू कोषहरूलाई कुनै हानि नपुर्याई केवल खराब टी–सेललाई निर्मूल पार्नका लागि उनीहरूले स्वस्थ र राम्रा टी–सेलको ‘निर्माण’ गर्नुपर्ने थियो ।
कसरी भयो जीन सम्पादन
अनुसन्धानकर्ताहरूले एक दाताबाट सङ्कलित स्वस्थ टी–सेलहरूमा परिमार्जन गर्न थाले ।पहिलो ’बेस’ सम्पादनबाट ती कोषहरूमा विद्यमान हानिकारक तत्त्वहरूलाई निसाना बनाउने प्रणाली निष्क्रिय पारियो । त्यसो गरेर डोनर टी–सेलहरूले बिरामीको शरीरलाई नै आक्रमण गर्न सक्ने सम्भावना हटाइयो । दोस्रो सम्पादनबाट टी–सेलमा हुने सीडी ७ भनिने रासायनिक सङ्केत हटाइयो ।
त्यसबाट टी–सेलहरू आत्मघाती हुन सक्ने र उपचारविधि विफल हुने सम्भावना रोकियो ।तेस्रो सम्पादनले टी–सेलहरूलाई कीमोथेरपीमा प्रयोग हुने औषधिले मार्न नसक्ने बनायो ।जीनमा गरिएको परिमार्जनको अन्तिम चरणले ती टी–सेलहरूलाई सीडी ७ भएका सबै कोषहरूको ’सिकार’ गर्न निर्देशन दियो । यसरी परिमार्जित टी–सेलहरू आफू जोगिने गरी शरीरमा फेला पर्ने अरू सबै टी–सेललाई नष्ट पार्न सक्षम भए ।
यसरी उपचार गरिएका बिरामीहरूको शरीरमा चार सातापछि क्यान्सरको सङ्केत देखिएन भने उनीहरूको प्रतिरक्षा प्रणालीलाई फेरि सक्रिय बनाउन ‘बोन म्यारो’ प्रत्यारोपण गरिन्छ । ‘केही वर्षअघिसम्म यो विज्ञानकथाजस्तै लाग्थ्यो,’ यूसीएल तथा ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलका प्रा वसीम कासिम भन्छन्, ‘हामीले खासमा शरीरको प्रतिरक्षा प्रणालीलाई पूरै भत्काउनुपर्छ । यो जटिल र सघन उपचार हो । यो बिरामीहरूका लागि निकै चुनौतीपूर्ण हुन्छ तर सफल हुँदा यो निकै फलदायी हुन्छ ।’
नतिजा र जागेको आशा
‘न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिन’ जर्नलमा प्रकाशित एउटा शोधपत्रमा यो अनुसन्धानका परिणामहरू समाविष्ट छन् । यो विधिबाट उपचार गरिएका ११ बिरामीमध्ये नौ जनामा निकै सुधार भयो र उनीहरूमा ‘बोन म्यारो’ प्रत्यारोपण पनि गरियो । तीमध्ये सात जना उपचार गरेको तीन महिनादेखि तीन वर्षसम्मको अवधिमा क्यान्सरमुक्त देखिन्छन् । शरीरको प्रतिरक्षा प्रणाली निष्क्रिय पारेर गरिने यो उपचारविधिको सबैभन्दा ठूलो जोखिम सङ्क्रमण हुन सक्ने सम्भावना हो ।
दुई बिरामीमा क्यान्सरयुक्त टी–सेलहरूले सीडी ७ गुमाएको देखियो । त्यस कारण क्यान्सर लुक्यो र फेरि शरीरमा देखा पर्यो । ‘यस खालको लूकीमिआ चाँडै फैलिन सक्ने कुराको आधारमा यो निकै प्रभावकारी नतिजा हो । अनि आशा गुमाइसकेका बिरामीमा हामीले फेरि आशा जगाउन सकेकोमा म पक्कै पनि खुसी छु,’ ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलको ‘बोन म्यारो’ प्रत्यारोपण विभागका डा रोबर्ट कीएजाले भने ।
किङ्स कलेजमा कार्यरत वरिष्ठ हीमटोलजिस्ट डा डेबोरा यालोपका अनुसार ‘पहिला उपचार हुन नसक्ने ठानिएको’ रक्त क्यान्सर निको पार्न यो विधि निकै शक्तिशाली उपाय हो । ‘यो परीक्षणअघि बिरामीहरू बाँच्ने निकै कम सम्भावना भएको कुरालाई दृष्टिगत गर्दा यो परिणामले यस खालको विधि अझ परिष्कृत हुन सक्ने र अझ बढी बिरामीहरूको उपचार गर्न उपलब्ध हुने आशा बढेको छ,’ यूकेमा स्टेम सेलको क्षेत्रमा सक्रिय परोपकारी संस्था एन्थोनी नोलनसँग आबद्ध चिकित्सक डा टान्या डेक्स्टरले भनिन् ।
सत्यपाटी