२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

विश्वले जलवायु संकटको सामना गर्न नयाँ उपायको खाँचो : राष्ट्रसंघ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २३ गते मंगलबार

संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तन, जैविक विविधतामाथिको संकटको सामना गर्न नयाँ उपायको खाँचो औंल्याएको छ । राष्ट्रसंघको प्रतिवेदनमा पर्यावरणसँग जोडिएको संकटबाट मान्छे र धर्ती दुवैलाई खतरा रहेकाले संकट समाधानका लागि नयाँ दृष्टिकोणको आवश्यकता रहेको उल्लेख छ । जलवायु परिवर्तन, जैविक विविधताको नोक्सानी, भूमि क्षयीकरण र प्रदूषणको मिलेर सामना गर्न नीतिहरू अपनाउनुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।

‘यी मुद्दाहरू आपसमा जोडिएका छन् र यसका लागि यस्तो समाधानको खाँचो छ जसमा जीवाष्म इन्धनबाट टाढा जान, दिगो कृषि अभ्यासहरूलाई प्रोत्साहन गर्न, प्रदूषण नियन्त्रण गर्न र बर्बादीलाई सीमित गर्न बढ्दो खर्च र वित्तीय प्रोत्साहन आवश्यक छन्,’ संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको चतुर्भुज ग्लोबल इन्भाइरोमेन्ट आउट लुकका लेखकहरूले भने ।

जताततै असर

‘तपाईं जैविक विविधता, भूमि क्षयीकरण र प्रदूषणको बारेमा नसोची जलवायु परिवर्तनको बारेमा सोच्न सक्नुहुन्न । ‘जलवायु परिवर्तन र प्रदूषणको असर बारेमा नसोची जैविक विविधताको नोक्सानीको बारेमा सोच्न सक्नुहुन्न,’ प्रमुख लेखकहरू मध्येका एक, नासा र बेलायतका पूर्व शीर्ष जलवायु वैज्ञानिक बब वाटसनले भने ।

‘यी सबैले हाम्रो अर्थतन्त्रलाई कमजोर बनाइरहेका छन्, स्वास्थ्य र गरिबीलाई थप बिगारिरहेका छन् अनि खाद्य तथा पानी सुरक्षा र राष्ट्रिय सुरक्षालाई समेत खतरा पुर्याइरहेका छन्,’ वाट्सनले भने । केन्याको नैरोबीमा संयुक्त राष्ट्रसंघीय वातावरण सभाका क्रममा जारी गरिएको राष्ट्रसंघीय प्रतिवेदन (जसलाई अहिलेसम्म गरिएको सबैभन्दा व्यापक विश्वव्यापी वातावरण मूल्याङ्कन भनिएको छ) मा ८३ देशका लगभग ३०० वैज्ञानिकले योगदान पुर्याएका छन् ।

प्रयासबाट खासै प्रगति भएन

विश्व जलवायु परिवर्तन, प्रजाति र भूमिको क्षतिसँगै अन्य हानिको सन्दर्भमा महत्वपूर्ण मोड नजिक पुग्दै गरेको चेतावनीसँगै विज्ञहरूले ‘यी समस्याहरूको समाधानका प्रयास प्रायजसो फरक फरक सम्झौतामार्फत गरिएका छन्, जसबाट खास प्रगति भएको छैन’ भनेका छन् । यसको सट्टा उनीहरूले सरकारको हरेक क्षेत्र, वित्तीय क्षेत्र, उद्योग र नागरिकको हरेक क्षेत्र संलग्न हुनुपर्ने र प्राकृतिक स्रोत सीमित छन् भनेर स्वीकार गर्ने सर्कुलर अर्थतन्त्र हुनुपर्नेमा जोड दिइएको छ ।

द्रुत गतिमा अभूतपूर्व परिवर्तनको खाँचो

‘हामी धेरै दिगो बन्न सक्छौं तर यी प्रणालीलाई रूपान्तरण गर्न पहिले कहिल्यै नभएको परिवर्तन आवश्यक पर्नेछ,’ वाटसनले भने, ‘हामीसँग समय कम हुँदै गएकाले अहिले नै द्रुत गतिमा अभूतपूर्व परिवर्तन गर्नुपर्छ ।’ यदि संसारले आफ्नो वर्तमान मार्गलाई निरन्तरता दियो भने भयानक भविष्यको चित्रण प्रतिवेदनले गरेको छ ।

पृथ्वीको बढ्दो तापक्रम वृद्धि रोक्ने हरितगृह ग्यासको उत्सर्जन (खासगरी कोइला, ग्यास र तेल जस्ता जीवाष्म इन्धन जलाएका कारण) सन् २०२४ मा उच्च स्तरमा पुगेको थियो । १० वर्षअघि लगभग २०० राष्ट्रले पेरिस सम्झौतामा हस्ताक्षर गरेका थिए, जसको उद्देश्य जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी प्रभावबाट बच्न वा कम गर्न पूर्व–औद्योगिक समयदेखि भविष्यमा हुने तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस (२.७ डिग्री फरेनहाइट) भन्दा बढी हुन नदिने थियो ।

तर हालको प्रक्षेपणले सन् २१०० सम्म जलवायु २.४ डिग्री सेल्सियस (४ डिग्री फरेनहाइट) सम्म तातो हुनसक्ने देखाएको वाटसनले बताए । वैज्ञानिकहरूले जलवायु परिवर्तनले तीव्र गतिमा आँधीबेहरी, लामो खडेरी एवं सुक्खा र वन डढेलो जस्ता चरम मौसमी घटना झन् बढिरहेको बताएका छन् । ‘यदि हामीले जलवायु परिवर्तनलाई समाधान गरेनौं भने अन्य समस्या पनि समाधान गर्न सक्षम हुने छैनौं,’ टेक्सास टेक विश्वविद्यालयकी जलवायु वैज्ञानिक र प्रतिवेदनमा संलग्न नभएकी नेचर कन्जर्भेन्सीकी प्रमुख वैज्ञानिक क्याथरिन हेहोले भनिन् ।

नेट-जेरो उत्सर्जन : वर्षेनि आठ ट्रिलियन डलर आवश्यक

संसार भर ४० प्रतिशतसम्म जमिनको क्षेत्रफल घट्दै गएको छ; १० लाखभन्दा बढी बोटबिरुवा र जनावरका प्रजाति लोप हुने अवस्थामा छन् र प्रदूषणका कारण हरेक वर्ष अनुमानित ९० लाख मान्छेको मृत्यु अन्य चुनौतीका रूपमा देखा परेका छन् । व्यापक दृष्टिकोण अपनाउनु महँगो पर्न जाने भए पनि सम्भावित हानि नोक्सानीको तुलनामा यसलाई निकै कम लागत ठानिएको वैज्ञानिकहरूको भनाइ छ ।

प्रतिवेदनले सन् २०५० सम्म नेट-जेरो अर्थात् शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न र जैविक विविधता पुनःस्थापित गर्न एवं ठिक पार्न, प्रत्येक वर्ष लगभग ८ ट्रिलियन अमेरिकी डलर विश्वव्यापी लगानी आवश्यक पर्ने उल्लेख गरेको छ । तर २०५० देखि आर्थिक लाभ खर्चभन्दा धेरै हुनेछ, जुन २०७० सम्म प्रतिवर्ष २० ट्रिलियन अमेरिकी डलर र त्यसपछि प्रतिवर्ष १०० ट्रिलियन डलर हुने प्रतिवेदनले औंल्याएको छ । ‘यो ग्रह बचाउने बारेमा होइन । हामी गएपछि पनि ग्रहले सूर्यको परिक्रमा गरिरहनेछ’, टेक्सास टेक वैज्ञानिक हेहोले भनिन्, ‘प्रश्न के हो भने, त्यो ग्रहमा स्वस्थ, समृद्ध मानव समाज हुनेछ ? अहिलेकै अवस्थामा उत्तर सहज छैन ।’

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार