२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

हृदयाघात हुनुअघि शरीरले कसरी सङ्केत दिन्छ ?

हृदयाघातलाई प्रायः अचानक र कुनै पूर्वचेतावनीबिना हुने घटना मानिन्छ, तर यो धारणा पूर्णतया सही छैन । स्वास्थ्य विज्ञहरूका अनुसार हृदयाघात हुनुअघि शरीरले थुप्रै सङ्केतहरू दिन थाल्छ । यी सङ्केतहरूलाई समयमै पहिचान गरेर तुरुन्त सहयोग लिँदा ज्यान बचाउन सकिन्छ ।

यी सङ्केतहरू कहिलेकाहीँ स्पष्ट हुन्छन् भने कहिलेकाहीँ एकदमै सामान्य लाग्न सक्छन्, तर यिनलाई बेवास्ता गर्दा ज्यान जोखिममा पर्न सक्छ । हृदयाघात हुनुअघि शरीरले कसरी सङ्केत दिन्छ, जानौँ :

१. काम गर्दा सास फुल्नु

सामान्य काम गर्दा, जस्तै हिँड्दा, सिँढी चढ्दा वा हल्का भुइँ सफा गर्दा सास फुल्ने समस्या अचानक सुरु भएको छ भने यो मुटुको कमजोरीको सङ्केत हुन सक्छ । जब मुटुले राम्ररी रगत पम्प गर्न सक्दैन, तब फोक्सोसम्म पर्याप्त मात्रामा अक्सिजन पुग्दैन, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ । यसलाई ‘डिस्प्निया’ भनिन्छ र यो हार्ट फेल्योर वा कोरोनरी आर्टरी रोगको लक्षण हुन सक्छ ।

२. छातीमा दुखाइ, दबाब वा बेचैनी

यो हृदयाघातको सबैभन्दा सामान्य लक्षण हो, तर यो सधैँ तीव्र दुखाइको रूपमा मात्र महसुस हुँदैन । कहिलेकाहीँ छातीमा गह्रौँपन, जलन, कसाव वा दबाब जस्तो महसुस हुन्छ । यो दुखाइ कहिलेकाहीँ देब्रे हात, बंगारा, घाँटी वा पिठ्यूँसम्म पनि फैलिन सक्छ । आराम गर्दा यो कम हुन सक्छ र शारीरिक वा भावनात्मक तनावमा बढ्न सक्छ । यसलाई बेवास्ता गर्नुहुँदैन ।

३. खुट्टा सुन्निनु वा अचानक तौल बढ्नु

मुटु कमजोर हुँदा शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ, जसले गर्दा खुट्टा, गोलीगाँठो र पञ्जामा सुन्निने (एडिमा) समस्या आउँछ । साथै, कुनै कारणबिना केही दिनमै तौल तीव्र गतिमा बढ्न सक्छ । मुटुले शरीरका अङ्गहरूबाट रगतलाई ठिक तरिकाले फर्काउन नसक्दा यो हार्ट फेल्योरको सामान्य सङ्केतको रूपमा देखिन्छ ।

४. चक्कर आउनु, बेहोस हुनु वा मुटुको धड्कन तेज हुनु

कुनै कारणबिना चक्कर आउनु, टाउको हल्का हुनु वा बेहोस हुनुले मस्तिष्कमा पर्याप्त मात्रामा रगत पुग्न नसकेको सङ्केत गर्छ । त्यसैगरी, मुटुको धड्कन अचानक धेरै छिटो, ढिलो वा अनियमित हुनुले मुटुको विद्युतीय तालमा गडबडी भएको सङ्केत गर्छ । यी लक्षणहरू एरिदमियासँग जोडिएका हुन सक्छन् ।

५. असामान्य कमजोरी वा थकान

धेरै मेहनत नगरीकन पनि अत्यधिक थकान र कमजोरी महसुस हुनु, विशेष गरी महिलाहरूमा, हृदयाघातको लक्षण हुन सक्छ । यो थकान आराम गरेपछि पनि कम हुँदैन । यस्तो हुनुको कारण मुटुको मांसपेशीहरूले पर्याप्त रगत प्राप्त नगर्नु हो र शरीरका अन्य अङ्गहरूमा पनि कम अक्सिजन पुग्नु हो, जसले गर्दा व्यक्ति सुस्त र थकित महसुस गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार