२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

विदेशमा फर्किएर स्वदेशमै अण्डा उत्पादन, महिनामै अढाइ लाख आम्दानी

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ मंसिर २२ गते सोमबार

एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उनी एक वर्षमै स्वदेश फर्किए ।

‘एजेण्टले भनेअनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किएँ,’ रानाले भने, ‘मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।’ दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताए ।

‘अहिले चार हजार कुखुराले अण्डा दिँदैछन्,’ उनले भने, ‘मासिक नौ–दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।’व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताए ।

‘एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन्,’ उनले भने, ‘तीस लाख रुपैयाँबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ ।’ अहिले दैनिक दुई हजार पाँच सयदेखि तीन हजार अण्डा बिक्री हुने गरेको उनले बताए ।

मलेसिया रोजगारीका बेला मामा नाता पर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए । ‘मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किएँ पनि । लगानी नहुँदा केही समय भारत पनि पसेँ,’ उनले भने, ‘धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढेँ ।’

कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकारवाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको गुनासो छ । उनले कञ्चनपुरमै पहिलोपटक आधुनिक (केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन् ।

‘गाउँघरमा राना थारू समुदायले परम्परागत रूपमा त कुखुरा पाल्न थालेको दशकौँ भयो होला तर व्यावसायिक रूपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ,’ व्यवसायी रानाले भने, ‘लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडी मुलुक जानपर्दैन । हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् ।

उनले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताए । ‘यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ,’ रानाले भने, ‘स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरूलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ ।’ निम्न आयस्तर भएका युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्ने उनको भनाइ छ । वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरूले स्वदेशमै रोजगारी पाउने उनले बताए ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार