२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

जुम्लाको खलङ्गामा पहिलो पटक ‘फायर हाइड्रेन्ट’ जडान

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८२ मंसिर २२ गते सोमबार

जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल छिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो ।

एकआपसमा जोडिएका अन्य घरहरूमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो । पसलको सामुन्नेकै चोकमा ‘फायर हाइड्रेन्ट’ को ‘ड्राइराइजर’ भर्खरै जडान गरिएको थियो । तत्काल स्थानीयवासी, चन्दननाथ नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी, स्वयंसेवकका सहयोगमा तत्काल चोकमा राखिएको ‘फायर हाइड्रेन्ट’मार्फत् आगलागी नियन्त्रणमा लिइयो ।

सम्भावित ठूलो क्षति हुनबाट बजार क्षेत्रलाई जोगाइयो । चन्दननाथ–५ का स्थानीयवासी अकवरनाथ क्षेत्रीले त्यसदिनको घटनाका बारेमा भने, ‘चोकमा ‘फायर हाइड्रेन्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त नै हुने सम्भावित जोखिम थियो । फायर हाइड्रेन्टको उपयोग गरेर आगो नियन्त्रणमा आयो र बजार क्षेत्र जोगियो ।’

दमकल जान नसक्ने साँघुरा स्थान, चोक तथा गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनलाई नै ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’ पाइप लाइनका ठाउँठाउँका राखिएका ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ)मा पाइप जोडेर यसको उपयोग गरिन्छ ।

स्वीस रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकामा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन जडान गर्न सहयोग पुर्याएको छ । विशेष गरेर आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं २, ३ र ५मा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन राखिएका छन् । यस्ता ‘फायर हाइड्रेन्ट’लाई कसरी उपयोग गर्ने भन्ने कुरा स्वयंसेवकमार्फत समुदायलाई जानकारीसमेत गराइएको छ ।

नेपाल रेडक्रसका स्वयंसेवक लालबहादुर भण्डारीले आपतकालीन विपद् प्रतिकार्यकाबारेमा समुदायलाई जानकारी दिएको बताए । चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले भनिन्, ‘हालै चन्दनाथ–५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा लागेको आगलागीलाई निभाउन ‘फायर हाइड्रेन्ट’ले सहयोग गर्यो । यो नभएको भए अकल्पनीय क्षति व्यहोर्नुपर्थ्यो ।’ उनका अनुसार चन्दननाथ नगरपालिका क्षेत्रसहित खलाङ्गा बजार क्षेत्र विपद्जोखिम अन्तर्गत आगलागीको उच्च जोखिममा रहेको छ ।

नेपालमा ‘फायर हाइड्रेन्ट’ सुरुआती चरण

नेपाल रेड्क्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकासँगका सहकार्यमा असन, इन्द्रचोक वरपरका स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि ‘फायर हाइड्रेन्ट’को पहिलो प्रयोग गरेको थियो ।

काठमाडौं महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष नीलकाजी शाक्य र व्रिटिश रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित ‘उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रमका तत्कालीन जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाको संयुक्त पहलमा सो वडाको मांसगल्ली–केलटोलदेखि महाबौद्ध जाने गल्लीमा आगलागी नियन्त्रणका लागि ‘फायर हाइड्रेन्ट’ को अवधारणालाई कार्यान्वयनमा उतारिएको थियो ।

साँघुरा गल्लीका कारण ती स्थानमा आगलागी हुँदा अहिले पनि दमकल छिर्नसक्ने अवस्था छैन । सहज रूपमा दमकल छिर्न नसक्ने यस्ता स्थानमा आगलागी नियन्त्रण गर्ने एकमात्र उपाय ‘फायर हाइड्रेन्ट’का पाइप लाइन नै हुन् । ‘उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रम’ले मांसगल्ली –केलटोलदेखि महाबौद्ध जाने गल्लीमा जडान भएको ‘फायर हाइड्रेन्ट’ लाई विसं २०७६ पुस २६ गते दिउँसो परीक्षण गरेको थियो ।

तत्कालीन ‘उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रम’का जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाले भनिन्, ‘दमकल छिर्न नसक्ने स्थानमा सम्भावित आगलागी नियन्त्रणको उपाय भन्नु नै ‘फायर हाइड्रेन्ट’ हो । यही उपायलाई कार्यान्वयनमा ल्याइएको हो । तत्कालीन समयमा हामीले मांसगल्ली–केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्मको ‘फायर हाइड्रन्ट’को उपयोगिताका लागि वास्तविक घटनामा आधारित अभ्यासमार्फत सफल परीक्षण पनि गरेका थियौँ ।’ सो परीक्षण सफल भएपछि स्थानीयवासी र व्यापारी खुसी भएका थिए ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार