२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

सत्यपाटीसत्यपाटी । नुवाकोट । २०८२ मंसिर २२ गते सोमबार

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शीताको विरुद्धमा जेनेरेसन-जेड (जेनजी) युवाहरूले गत भदौ २३ मा काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । उनीहरूको माग थियो ‘युवा पुस्ताको आवाजको सम्मान गरियोस्, देशमा पारदर्शीतासहित नागरिक अधिकार सुनिश्चित होस् ।’ आन्दोलनको पहिलो दिनमै राज्यले बर्बर दमन गर्यो ।

शान्तिपूर्ण विरोध प्रदर्शनका लागि विद्यालय तथा कलेज पोसाकमा सहभागी विद्यार्थीमाथि गोली चलाइँदा १९ युवाको मृत्यु भयो, सयौँ घाइते भए । यही दृश्यलाई नजिकबाट नियालिरहेका नुवाकोट तादी गाउँपालिका–३, खरानीटारका २५ वर्षीय धीरज श्रेष्ठले भदौ २४ मा बालाजुमा प्रहरीको गोलीबाट शहादत प्राप्त गरे । हाल काठमाडौँ तारकेश्वर नगरपालिका–४ नयाँ गणेशस्थान बसोबास गर्दै आएका श्रेष्ठ जेनजी आन्दोलनका अमर सहिद हुन् ।

उनी सामाजिक कार्यमा सक्रिय र साहसी युवा थिए । बुबा नारायण श्रेष्ठ र आमा मेनुकाको दुई सन्तानमध्येका धीरज कान्छो छोरा हुन् । जेठो धीरन नौ वर्षदेखि अष्ट्रेलियामा छन् । आत्मविश्वासी र निडर स्वभाव धीरजको सानैदेखिको विशेषता थियो । ‘जे भन्छु, पूरा गरेरै देखाउँछु’ भन्ने धीरजको स्वभाव थियो । कुनै पनि काममा कहिल्यैपछि हट्दैन्थो,’ बुबा नारायण सम्झन्छन् ।

‘अन्यायको सधैँ विरोध गर्थे, दुःखीको पक्षमा उभिन्थे, बोलीमा शिष्टता थियो । त्यसैले परिवार, साथीभाइ र छरछिमेक सबैको मनमा उनले छुट्टै स्थान बनाएका थिए,’ नारायणले भावुक हुँदै सुनाए । जुत्ता–कपडा व्यापारमार्फत आत्मनिर्भर बनेका थिए । सरकारले सामाजिक सञ्जाल बन्द गराएपछि उनले गर्दै आएको अनलाइन व्यापार प्रभावित बन्यो । यही कारण भदौ २३ गते बानेश्वरमा भएको जेनजी युवाको आन्दोलनमा उनी सहभागी भए ।

नागरिक स्वतन्त्रता र सामाजिक अभिव्यक्तिको पक्षमा समर्थन गरे । प्रदर्शनकै क्रममासँगै गएको साथीलाई गोलीको छर्रा लागेपछि उनको प्रतिबद्धता झनै बलियो बन्यो । भदौ २३ को आन्दोलनलाई उनले नजिकैबाट नियालेका थिए । न्यायको माग गर्दै सडकमा उत्रिएका युवामाथिको दमन देखेपछि धीरज थप पीडित हुँदै गर्दै घर फर्किए । घरमा बुबा–आमासँग बोल्दा उनको शान्त अनुहारमा असह्य अन्यायप्रति उब्जिएको आक्रोश स्पष्ट देखिन्थ्यो ।

‘अन्यायको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा भएको ज्यादती सहन हुन्न,’ घर फर्केपछि उनले भनेका यी र यस्तै आक्रोशका शब्द आमा मेनुकालाई अझै स्मरण छ, ‘अन्याय सहनुहुँदैन भन्ने दृढ विश्वास उनमा जागेको थियो । चुप बसेर हुन्न, उठ्नैपर्छ, धीरजले बारम्बार भन्ने गर्नुहुन्थ्यो । आफ्नो र देशको भविष्यको लागि अन्याय सहेर घरभित्र बस्ने होइन, न्याय खोज्न सडकमा उत्रनुपर्छ ।’

उनको त्यो अठोटले घरपरिवारमा युवा पुस्ताको आन्दोलनमा ऐक्यबद्धता जुट्दै गएको थियो । आन्दोलनको दोस्रो दिन भदौ २४ गते दिउँसो १ बजेतिर उहाँ घरबाट निस्कन लागे । अघिल्लो दिन घाइते भएका साथीलाई भेट्न अस्पताल जान्छु भन्दै बाहिर निस्कँदै गरेको बेला आमा मेनुकाले सम्झाउन खोजे, ‘देशभर अशान्त छ बाबु, भिडभाडमा केही हुनसक्छ ।’ तर, उनको जवाफ थियो, ‘म धेरै टाढा जान्न, अवस्था हेर्छु । मिल्यो भने साथीलाई भेट्न जान्छु, होइन भने बालाजु चोकसम्म पुगेर आउँछु ।’

छोराको क्रान्तिप्रतिको प्रतिबद्धता र भविष्यप्रति देखाएको भरोसाले शान्तिपूर्ण आन्दोलनप्रति घरमा एकमत बनेको थियो । धीरजको जोश, आशा र आदर्शप्रति बुबाआमाले मनले गर्व गर्थे । शब्दले भन्दा पनि गहिरो साथ थियो त्यो समर्थनमा । निर्दोष विद्यार्थीमाथि गोली चलाइएको घटना उहाँका लागि असह्य थियो । ‘यस्तो बेला चुप लागेर बस्नहुँदैन । अन्यायको प्रतिकार गर्नैपर्छ,’ धीरजले अघिल्लो दिन भनेको यो तर्कले आमा मेनुकाको मन डराइरहेको थियो ।

आँखा दृढ, स्वर शान्त, तर हृदयमा आगो बोकेको जोशमा बिरामी साथी भेट्न उनी निस्किए । सत्य, न्याय र परिवर्तनको यात्रामा उनका पाइला अगाडि बढे । धीरजले न्यायका लागि आफ्नो मनलाई बलियो मात्र बनाउनु भएन परिवारलाई पनि साहस सिकाए । उनका यी शब्द र कर्महरू आम युवाका लागि प्रेरणाको स्रोत बन्यो । अन्यायविरुद्धको आवाजलाई जेनजी युवाले घरघरबाट यसैगरी बुलन्द बनाएका थिए ।

धीरजको उज्यालो अनुहार सबैलाई मन छुने खालको थियो । सफा र सुग्घर देखिने उहाँका चालचलनमा सरलता, अनुशासन र दयालु स्वभाव झल्किन्थ्यो । देख्नेहरू एकदमै राम्रो र नम्र व्यक्तिको रूपमा चिन्दथे । भदौ २४ को दिउँसो नयाँ गणेशस्थानस्थित घरबाट निस्कँदा धीरजको अनुहार शान्त देखिन्थ्यो तर अनुहारमा अन्यायप्रति आक्रोश र परिवर्तनप्रतिको दृढ सङ्कल्प झल्किन्थ्यो ।

जेनजी युवाले उठाएको आवाजमाथि देशभर भएको बर्बरतापूर्ण दमनले धीरजको मन आहत बनेको थियो । अघिल्लो दिनको आन्दोलनमा गोलीको छर्रा लागेको साथीको अवस्था थाहा पाउन जान लागेका धीरजको मनभित्र साथीप्रतिको चिन्ता मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता पनि थियो । घरको गेटसम्म आइपुगेका धीरज अचानक फर्किए, ‘ममी, मेरो चस्मा छुट्यो !’ आमा मेनुका चस्मा लिएर ढोकामा निस्कए ।

छोराको हातमा थमाउँदै मुस्कान दिइन् । अनि धीरजले गलाको सुनको सिक्री फुकालेर आमाको हातमा राखिदिँदै भने, ‘भिडभाडमा हराउन सक्छ ममी, तपाईं राख्नुस् ।’ त्यति बेलाको धीरजको अनुहार शान्त, ममता र चिन्ताले भरिएको थियो । आमा मेनुकालाई अहिले बारम्बार झल्किरहन्छ । त्यो पल जहाँ आफ्नो धनसम्पत्तिको हिफाजत मात्र होइन, छोराको सजगता, जिम्मेवारी र आमाप्रतिको माया मिसिएको थियो ।

तर, त्यो नै आमाले छोरालाई स्पर्श गर्न पाएको अन्तिम क्षण बन्यो । त्यसपछि ती पल कहिल्यै फर्किएनन् । चस्मा दिंँदा र सिक्री समाउँदा आमाछोराको हातको स्पर्श । त्यो क्षण आज सहिद धीरजको अन्तिम सम्झना बनेर हरेक पल आमाको आँखाबाट आँशु झर्दछ । देशको अवस्था रेडियो र टेलिभिजनबाट नियाल्दै आएका धीरजका बुबा नारायण र आमा मेनुकाले जेनजी युवाहरूको माग जायज लागिसकेको थियो ।

भदौ २३ मा काठमाडौँमा र भदौ २४ गते बिहानैदेखि देशभर फैलिएको शान्तिपूर्ण प्रदर्शन माथिको दमनले उहाँहरूको मनमा गहिरो पीडा छाएको थियो । धीरज घरबाट निस्केको करिब १५ मिनेटमै तारकेश्वर अस्पतालबाट फोन आयो ‘धीरज घाइते भएका छन्, तुरुन्त आउनुहोस् ।’ केहीबेरमै बुबाआमा अस्पताल पुगे तर धीरजको प्राण सकिसकेको रहेछ । यो खबरले परिवारमा अपूरणीय क्षति र गहिरो शोकको बादल मडारियो ।

धीरजको अनुहार अझै पनि आँखामा ताजा छ, जसले सबैलाई न्यायको आवाज बुलन्द गर्न उक्साएको थियो । ‘अन्यायको लागि चुप बस्नुहुन्न’ भन्ने धीरज गोली लागेका साथी भेट्न अस्पताल जाँदै गर्दा बालाजु चौकी अगाडि पुग्दा प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागेर घटनास्थलमा नै शहादत प्राप्त गरेका थिए । घाँटीमा लागेको गोलीले धीरजको शरीर रक्ताम्य भएको थियो । आमाले छोरालाई बेस्कन अँगालोमा कसेर बोलाइन् तर उनी सधैँका लागि मौन भइसकेका रहेछन् ।

‘देशका लागि बोल्नुपर्छ, जाग्नुपर्छ’ भन्ने धीरज नै परिवर्तनको आवाज सुन्न नपाउँदै चुप लागे । अस्पताल पुर्याइए पनि चिकित्सकले घटनास्थलमै उनको प्राण गइसकेको पुष्टि गरेका थिए । धीरज अष्ट्रेलिया जाने अन्तिम तयारीमा थिए । भदौ २७ गते शुक्रबार दूतावासले उनलाई बायोमेट्रिकका लागि बोलाएको थियो । तर भदौ २४ गते सोमबार नै उनले देशको लागि शहादत प्राप्त गरे ।

घरबाट निस्कनु अगाडि, बुबाले हुलदङ्गामा परेर विदेश जाने प्रक्रियामा असर पर्न सक्छ भनेर सम्झाउन खोजेका थिए । तर, ‘देशका लागि केही गर्नुपर्छ । यो शान्तिपूर्ण प्रदर्शन हो । साथ दिनुपर्छ । देश रह्यो भने न विदेश जाने हो !’ दृढताका साथ उनले भनेको तर्कले बुबालाई पनि आन्दोलन प्रतिको ऊर्जा दिएको थियो । धीरजको अनुहारमा शान्ति, क्रान्ति र न्यायको प्रतिबिम्व झल्कन्थ्यो । समाज बदल्ने जिम्मेवारी युवाको काँधमा छ ।

युवालाई देशमा रोजगार दिनुपर्छ, ब्यापार, व्यवसाय र उद्यम गर्ने वातावरण सुनिश्चित हुनुपर्छ । देश निर्माणको लागि युवा पुस्ताको माग र शान्तिपूर्ण प्रदर्शन आम नेपालीको आन्दोलन हो भनेर उनले घरदेखि समाज र साथीभाइलाई बुझाउन सक्ने भएका थिए । गाउँमा ४ कक्षासम्म पढेर, धीरज बुबा–आमासँगै काठमाडौँ जानुभएको थियो । स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनलाई होटल क्षेत्रमा विशेष रुचि थियो ।

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण पश्चात होटल म्यानेजमेन्ट अध्ययन गरेर, धीरजले खुमलटारमा बर्गर हाउस सञ्चालन गरे । आफ्नो रुचि पूरा गर्दै, युवालाई रोजगारी दिनु उनको ठूलो लक्ष्य थियो । सोचेअनुसार ठूलो प्रगति नहुँदा पनि बर्गर हाउस सञ्चालनमा उनी सन्तुष्ट थिए । तर, परिवारसँगै बस्न चाहने धीरजले नयाँ गणेशस्थानदेखि खुमलटारसम्मको दैनिक यात्रामा थकाई महसुस गर्न थाले ।

बुबा नारायण दिनभर घरबाहिर व्यस्त हुने हुँदा, घरको जिम्मेवारी धीरजमाथि थियो । दिनभर घरमा आमा एक्लै भए भनेर धीरजले बर्गर हाउस बिक्री गर्थे । घरमा प्रशस्त समय पनि दिन सकिने र आम्दानीको स्रोत पनि हुने देखेपछि उनले पछिल्लो डेढ वर्षदेखि अनलाइन व्यवसाय सञ्चालन गर्दै आएको थिए । उज्यालो अनुहार, कोमल स्वभाव र घरपरिवारप्रतिको माया–धीरजको यही उपस्थिति घरका लागि उज्यालो बत्ती जस्तै थियो ।

दिनभर घरमै रहँदा उनको हाँसो, बोली र आत्मियताले घरमा अलगै ऊर्जा भरिन्थ्यो । घरमा छोरी नभएको अभाव कहिल्यै महसुस नहोस् भनेर धीरजले आमा मेनुकासँगको सम्बन्धलाई विशेष आत्मियताले भरिपूर्ण बनाउँथे । उनी सधैँ आमासँगै रमाउँथे, भान्सादेखि बजारसम्म । तरकारी किनेर ल्याउनु मात्र होइन, केलाउन, पकाउन, स्वाद मिलाउनसमेत आमासँगै समय बिताउन उनलाई अत्यन्तै मनपथ्र्यो ।

घरमा जुठा भाँडा रहन नदिने, फोहर देख्नासाथ कुचो समाउने उनको स्वभावले छोराको बदलामा छोरीको जस्तै जिम्मेवारी मिलेको थियो । सफाइमा सजग, व्यवहारमा अनुशासित र हरेक काममा ममतालु साथ दिने धीरजको बानीले घर सधैँ उज्यालो र जीवन्त बनाइरहेको थियो । आमा मेनुका भन्छिन्, ‘बाबु (धीरज) छोरा मात्र होइन, छोरी झैँं न्यानो साथ दिने मेरो हरकुरामा ध्यान दिने । कहीँकतै जाँदासँगै लैजाने–ल्याउने साथी थियो । बाबुको अभावले अहिले मनमात्र होइन घर नै अध्यारो भएको छ ।’

धीरजको सहयोगी स्वभाव, न्यानो मनोवृत्ति र निरन्तर सक्रियता केवल परिवारभित्र मात्र सीमित थिएन, उनको स्नेह र समर्पणले मामाघरदेखि आफन्तसम्म सबैको मन जितेको थियो । धीरजको बाल्यकाल पनि त्यत्तिकै स्मरणीय रह्यो, जहाँ उनको सरलता, भावुकता र जिम्मेवारीको बीउ सानै उमेरदेखि नै पलाइसकेको थियो । खरानीटारमा जन्मिएका धीरज साथीभाइसँग असाध्यै मिलनसार, मिठो बोल्ने र सहजै मन जित्ने स्वभावका थिए ।

बाल्यकालमै उनीभित्रको संवेदनशीलता, मानवीयता र सबैलाई साथ–सहयोग गर्न चाहने गुणहरूले सबैको प्रिय बनाएको थियो । खरानीटारस्थित उहाँको दाइ (ठूलोबुबाको छोरा) राजीव सम्झन्छन्, ‘धीरज सानैदेखि निकै मायालु थियो । स्कुल जाँदा सधैँ मेरो साथ चाहिन्थ्यो । धीरजभन्दा सानो घरको भाइलाई हिँडाएर उसलाई मैले नै काँधमा राखेर लैजानुपथ्र्यौ ।’

राजीव थप्छन्, ‘त्यसबेला लाग्थ्यो, धीरजले मलाई सास्ती दियो । तर, अहिले सम्झिँदा लाग्छ, त्यो त उसको ममता रहेछ । हरेक दिन आधा घण्टा काँध बोकेर स्कुल लैजानु, ल्याउनु–त्यो समय आज मेरो जीवनको अमूल्य स्मृति बनेको छ ।’ परिवार, साथी र समाजप्रति धीरजको त्यो निःस्वार्थ प्रेम नै आज सबैको मनमा अविस्मरणीय बनाइदिएको छ ।

देशको अवस्था परिवर्तनका लागि कलिला युवाको नेतृत्वमा चलेको जेनजी अभियानमा भएको राज्यको बर्बरतापूर्ण दमनले भदौ २३ र २४ मा आम–नेपालीका लागि कालो दिन साबित भयो । धेरै आमाको काख खाली भयो, बुढेसकालको साहारा खोसियो । धीरजका बुबाआमाको मनमा अहिले एउटै चाहना बाँकी छ– छोराले देखेको सपना अधुरो नहोस् । देशमा परिवर्तन होस् । त्यो परिवर्तन, जसको लागि धीरजले ज्यानसम्म दिए ।

‘छोराले बारम्बार भन्थ्यो, ‘देश परिवर्तन गर्न हामीले नगरे कसले गर्छ ?’ भन्दै आमा मेनुकाको आँखामा आँशु टिलपिलाउँछ, ‘त्यो आवाज अझै कानमा गुञ्जिरहेजस्तो लाग्छ ।’ उनलाई विश्वास छ, धीरजजस्ता हजारौँ जेनजी युवाको बलिदानबाट स्थापित अहिलेको सरकारले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नेछ । देशमा सकारात्मक परिवर्तन आउनेछ ।

‘जेनजीले उठाएका माग हाम्रो घरको, हाम्रै समाजकै आवाज हो । ती माग सुन्नु, बुझनु र सम्बोधन गर्नु अहिलेको सरकार र राजनीतिक नेतृत्वको कर्तव्य हो,’ आमा मेनुकाको यही भनाइ छ । उनी थप्छिन्, ‘अब हुने आम निर्वाचनमा जेनजीको बलिदान, भावना र प्रतिनिधित्व अनिवार्य रूपमा समेटिनुपर्छ । परिवर्तनका लागि बीउ रोपिएको छ, त्यसलाई हुर्काउन सबैले आफ्नो ठाउँबाट साथ दिन जरुरी छ ।’

उनको यो आशा आज देशभरका सहिद परिवारको साझा आवाज बनेको छ । जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका ४२ जना सहिदका परिवार मिलेर ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ गठन गरिएको छ । उक्त समाज गत कात्तिक २४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको हो । अध्यक्ष भोजविक्रम थापाको नेतृत्वमा रहेको समाजमा सहिद धीरजका बुबा नारायण सदस्य र प्रवक्ताको जिम्मेवारीमा छन् ।

सरकारले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका सहिद परिवारलाई राहतस्वरूप रु १५ लाख प्रदान गरिसकेको छ । ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’को भनाइ छ, सरकारी सहयोग केबल क्षतिपूर्ति होइन, यो ऐतिहासिक बलिदानको सम्मानसँग जोडिनुपर्दछ । ‘बलिदानको बदलामा पैसा चाहिएको होइन’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘हामीलाई न्याय चाहिएको हो । परिवर्तनका लागि ज्यान दिने छोराछोरीको सपना अब व्यवहारमा देखियोस् ।’

समाजले बर्बरतापूर्वक दमनमा संलग्न दोषीलाई कानुनी कारबाही, सहिद परिवारका सदस्यहरूको स्वास्थ्य बिमा, शिक्षा, रोजगारीको अवसर लगायतका माग गर्दै सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । समाजको मुख्य माग सङ्घीय संसद् भवन परिसरमा जेनजी सहिदहरूको सालिक स्थापना गर्नुपर्ने भन्ने छ ।

‘सांसद्हरूले संसद् प्रवेश गर्दा ती छोराछोरीको अनुहार हेरेर सम्झिउन–कसले र किन बलिदान दिए । उनीहरूको अधुरो सपना पूरा गर्ने सङ्कल्प गरून्,’ उनको आग्रह छ, ‘अब कुनै नेपालीले यही मागमा दोहोर्याएर अर्को आन्दोलन गर्न नपरोस्, अनाहकमा नेपालीले ज्यान गुमाउन नपरोस् । जेनजी युवाको बलिदान इतिहासमा मात्र सीमित नहोस्, प्रणालीमै परिवर्तनको आधार बनोस् । परिवर्तन शब्दमा होइन, कर्ममा देखियोस्, त्यही हो हाम्रो चाहना ।’

हरिराम भेटुवाल र रामहरि न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार