नेपाली समाजमा सामान्यतया ६० वर्ष कटेपछि अवकाश जीवन बिताउने, ७० कटेपछि तीर्थव्रतमा लाग्ने र ८० कटेपछि ओछ्यान वा घरको पिँढीमै सीमित हुने रिति नै बनिसकेको छ । संसारमा यस्ता मानिस पनि छन्, जसका लागि उमेर एउटा अङ्कमात्र हो । उमेरले आठ दशक पुगेका मानिस हिमाली क्षेत्रको पदयात्रामा निस्कनु कतिपयका लागि कल्पनाभन्दा बाहिरको कुरा हो ।
उमेरलाई अङ्कमा मात्र सीमित राख्नेहरूका लागि भने यस्ता गतिविधि सामान्य हुन्छन् । मङ्सिर ५ गते दार्चुलाको मकरीगाड बजारमा यस्तै सोच भएका चार जना विदेशी पर्यटक भेटिए । अनुहारमा बुढ्यौलीका रेखा प्रस्ट देखिए पनि उनीहरूको आँखामा २० वर्षे युवाको जस्तो चमक थियो । उनीहरूको मनमा एक किसिमको उत्साह पनि थियो । यो समूहमा युरोपेली मुलुक अस्ट्रियाबाट आएका कार्ल हाइन्ज, पिटर, इना र क्रिस्टिन थिए ।

यो टोलीको नेतृत्व गरिरहेका थिए ८० वर्षीय वृद्ध कार्ल हाइन्जले । उनीहरू चारै जनाको उमेर ८० वर्ष नै थियो । लौरो टेक्ने उमेरमा पनि लौराको सहाराले हिमाल छिचोल्ने उनीहरूको आँट देख्दा मकरीगाडका बासिन्दा आश्चर्यचकित भए । उनीहरूलाई बाटो देखाउने नेपाली गाइड पनि चकित परेका थिए । संसारकै अग्लो शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुबाट आएका २५ वर्षीय गाइड छिरिङ शेर्पाको नेतृत्वमा रहेको यो टोलीले करिब एक महिना लामो यात्रा तय गरेको थियो ।
उनीहरूको योजना सामान्य थिएन । सुरुमा बाजुराको कोल्टीबाट पैदल हिँड्दै अपि हिमालको आधार शिविरसम्म पुग्ने लक्ष्य उनीहरूले राखेका थिए । यात्राको सुरुवातमै प्रकृतिले आफूहरूको परीक्षा लिएको कार्ल हाइन्जले बताए । उनका अनुसार बाढी र पहिरोले बाटो अवरुद्ध गरिदियो । ८० वर्षको उमेरमा सहज बाटो हिँड्न त कठिन हुन्छ भने भत्किएका सडक र बन्द भएका गोरेटो छिचोल्नु चानचुने कुरा थिएन ।

‘हामीले कोल्टीबाटै पूरै बाटो हिँड्ने सोचेका थियौँ, तर पहिरोले बाटो बन्द हुँदा हाम्रो योजना बदलियो । हामीले दुईपटक जिप प्रयोग गर्नुपर्यो र केही यस्ता कठिन भञ्ज्याङ पार गर्नुपर्यो, जुन पार गर्नु असम्भव जस्तै लाग्थ्यो,’ हाइन्जले भने । गाडीले छिचोल्न नसकेका बाटो उनीहरूले ६ देखि ७ दिनसम्म निरन्तर पैदल यात्रा गरे । अपि बेस क्याम्प पुग्न र त्यहाँ पुगेपछि फर्किन एक हप्ता समय लाग्छ ।
बेस क्याम्प चढ्दाको ठाडो उकालो, अप्ठ्यारा चट्टानी बाटो र चिसो सिरेटोलाई सामना गर्दै उनीहरू ७१३२ मिटर अग्लो अपि हिमालको आधार शिविरसम्म पुगेर सकुशल फर्किए । उनीहरूले आफैँ बन्दोबस्तीका सामान बोकेका थिए । यात्राका क्रममा टेन्ट टाँगेर पनि बसे । ८० वर्षको उमेरमा चिसो टेन्टको बसाइ र क्याम्पिङ ट्रेक आफैँमा ठुलो चुनौती हो । कार्लले यो यात्रा अविस्मरणीय रहेको बताए ।
‘हामी निकै भाग्यमानी रह्यौँ । यात्रा सुरु गरेपछि मौसम असाध्यै राम्रो भयो । हामीसँग सामान बोक्ने बलिया सहयोगीहरू र खाना पकाउने उत्कृष्ट किचेन टिम थियो । कुनै दुर्घटना भएन । हामी निकै भाग्यमानी साबित भयौँ,’ उनले भने । उनीहरूले अपि हिमालको सुन्दरतालाई मात्र नजिकबाट नियालेनन्, त्यहाँको जनजीवन र आतिथ्यलाई पनि मनमा सजाएर फर्किए । हिमाल हेरेर फर्किएका कार्लले यात्रालाई ‘अद्भुत’ र ‘उत्कृष्ट’ संज्ञा दिए ।

यो यात्रा सफल हुनुमा कार्ल र उनका साथीको इच्छाशक्ति जति महत्त्वपूर्ण थियो, त्यति नै महत्त्वपूर्ण भूमिका २५ वर्षीय गाइड छिरिङ शेर्पाको पनि थियो । हजुरबुवा र नाति पुस्ताबिचको यो सहकार्यले अपिको यात्रालाई सहज बनाएको थियो । विगत ५–६ वर्षदेखि ट्रेकिङ गाइडको रूपमा काम गरिरहेका छिरिङले भने, ‘उहाँहरूको उमेर ८० भए पनि हिँड्ने क्षमता र अनुशासन देख्दा म आफैँ छक्क परेँ । युवाहरूलाई पनि हिँड्न गाह्रो हुने यस्तो अप्ठ्यारो बाटोमा उहाँहरूले जसरी यात्रा पूरा गर्नुभयो, त्यो एउटा नयाँ अनुभव र सिकाइ हो ।’
छिरिङका अनुसार विदेशी पर्यटकहरू शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि यात्राका लागि तयार भएर आउँछन् । ‘हाम्रो समाजमा अलिकति बुढो भएपछि काम गर्न छोड्ने चलन छ, तर उहाँहरूको देशमा बुढेसकालमा पनि आफूलाई फिट राख्ने र घुमफिर गर्ने संस्कार छ,’ उनले भने । सुदूरपश्चिममा अपि र सैपाल गरी दुई वटा हिमाल छन् । पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहे पनि पूर्वाधार र प्रचारप्रसारको कमीले यी हिमाल ओझेलमा देखिन्छन् ।
यहाँ अन्य ठाउँको तुलनामा धेरै पर्यटकको चहलपहल हुँदैन, तर ८० वर्षका विदेशी पर्यटकहरूले यो क्षेत्रको सफल भ्रमण गर्नुले सुदूरपश्चिम सुरक्षित र साहसिक पर्यटनका लागि उपयुक्त छ भन्ने सन्देश विश्वभर प्रवाह गरेको कार्लकै समूहकी सदस्य टिनाको भनाइ छ । गाइड छिरिङले विगतको तुलनामा अहिले सुदूरपश्चिममा पदमार्ग र सडक सञ्जालमा सुधार आएको बताए । ‘पहिलेको भन्दा अहिले धेरै राम्रो बाटो बनेको छ । अपि बेसक्याम्प जाने बाटो पनि सुधारिएको छ । अब पूर्वाधार बन्दै गएपछि यहाँ पर्यटकको संख्या बढ्ने विश्वास छ,’ उनले भने ।
सत्यपाटी