२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

‘भेडा मरेर के भो मन मरेको छैन’

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८२ मंसिर २१ गते आइतबार

चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौं भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाईगोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडाच्याङ्ग्रा लगायतका चौपाया यहाँ चरनका लागि ल्याउँदछन् । चन्दननाथ नगरपालिका–३ स्थित पाटन (चौर क्षेत्र)मा चन्दननाथ–२ खोलीकोट, भण्डारीवाडा, चन्दननाथ–३ शान्तिनगर, सिङ्खडावाडा, बस्थवाडासहित कनकसुन्दरी गाउँपालिकाका चौपायाको चरन क्षेत्र हो ।

चौरमाथिको उपल्लो जङ्गल जहाँ बाघ, भालुसहित कालिज र डाँफेको बासस्थान क्षेत्र पनि हो । पाटनमा बाक्लो हिउँ पर्न छाडेपछि चन्दननाथ–३ भेडापालक किसान जङ्गबहादुर खत्री चिन्तित छन् नै । पछिल्ला दिनमा उनी खुसी देखिन्छन् । उनी भन्छन्, ‘पाटनमा बाक्लो हिउँ नपर्दा चरन क्षेत्रमा घाँसपातसहित अन्य झारपात र जडीबुटीका बिरुवा कम उम्रिन थाले । चौपायासहित जङ्गली जनावरलाई पाटनमा चरेर अघाउनै मुस्किल भयो ।’

उनका अनुसार बाक्लो हिउँ परेको वर्ष पाटन क्षेत्रमा घाँसपात, झारपात धेरै उम्रिन्थे । जलवायु परिवर्तनका असर यहाँ पनि देखिएको छ । यस स्थानमा साँझ–बिहान सिरेटो (हावा) चलेर अत्यधिक चिसो हुन्छ । स्थानीयवासीले सूर्योदयपछिको पारिलो घाममा मात्र पाटनमा चौपायालाई चरनका लागि ल्याउँदछन् । जुम्ला बजारको दृश्यावलोकनका लागि यो पाटन आकर्षक क्षेत्र मानिन्छ । दृश्यावलोकन गर्नेको यहाँ भीड लाग्ने गर्दछ ।

पाटनको पश्चिमी केही भूभागमा सिमसार छ । पछिल्लो समय यही सिमसार जमिनलाई प्राकृतिक रूपमै संरक्षण गरेर दुईवटा पुनर्भरण (रिचार्ज) पोखरी बनाइएको छ । यसबाट चौपायाका लागि पानी उपयोग गर्न सजिलो भएको छ । सिमसार क्षेत्रलाई उपयोग गरेर पोखरी बनाइएपछि स्थानीयवासीलाई चौपायालाई पानी खुवाउन परेको समस्या केही हदसम्म अन्त्य भएको छ ।

चिरे–घिमे रिचार्ज पोखरी निर्माण समितिका अध्यक्षसमेत रहेका ५१ वर्षीय किसान खत्रीले खुसी हुँदै भने, ‘रिचार्ज पोखरीमा जम्मा भएका पानीखान पाटन र जङ्गलमा चरनका लागि ल्याइएका चौपायासहित जङ्गली जनावरहरू आउन थालेका छन् ।’ उनका अनुसार एक घण्टा टाढादेखि पोखरीमा पानी पिउन बस्तुभाउसहित जनावर आउँदछन् । अहिले अत्यधिक चिसोका कारण पोखरीको केही भाग बरफ भएको छ ।

स्विस रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ले रिचार्ज पोखरी निर्माण गर्न सहयोग गरेको हो । परियोजनाकी जिल्ला संयोजक ईश्वरा सुवेदीले भनिन्, ‘पाटन र जङ्गलमा आएका चौपायासहित जङ्गली जनावरलाई पानीको चरम सङ्कट छ भन्ने कुरा समुदायबाट जानकारी आयो । यसलाई केही हदसम्म अन्त्य गर्न समुदायका माग अनुसार नै रिचार्ज पोखरी निर्माणमा सहयोग गरेका हौँ ।’

उनका अनुसार यसले समुदायलाई कसरी जलवायु परिवर्तन अनुकूलन हुने भन्ने कुरा पनि सिकाएको छ । किसान खत्रीले पालेका २०० भेडामध्ये गत असार २३ गतेको अकल्पनीय चट्याङबाट ५२ वटा अकालमै मरे । उनले आँसु झार्दै भने, ‘भेडा त मरेर केही छैन, पाल्न सकिन्छ । हेरचाहका लागि राखिएको भाइ चट्याङ लागेर गम्भीर घाइते भयो । जुम्लामा उपचार हुन नसकेपछि काठमाडौँको टिचिङ अस्पतालमा लगियो । त्यहाँ उपचारबाट अझै फर्किएको छैन । सम्पत्ति सकिन लागिसक्यो कसैले सहयोग नगर्दा दिक्क लाग्छ । सहयोग गर्छु भन्दछन् कसैले गर्दैनन् ।’

उत्कृष्ट भेडापालक किसानका रूपमा उनले धेरै मानसम्मान पनि प्राप्त गरिसकेका छन् । भेडा मरे पनि किसान खत्रीको मुहारमा निराशा पटक्कै झल्किँदैन । दसैँमा बिक्री गरेर बाँकी रहेका माउ भेडा चराउन पाटन क्षेत्रतिर लाग्दै गरेको अवस्थामा उनले भने, ‘चेहेरेमा प्राकृतिक रूपमा रिचार्ज पोखरी बनाइयो । यसबाट चौपायालाई पानी र नुन खुवाउन सजिलो भएको छ । यसका लागि नेफाल रेडक्रसलाई धन्यवाद । शक्ति र सास रहेसम्म भेडा पाल्न छाड्दिनँ । जे गर्छु यही माटोमा गर्छु ।’

भेडापालन व्यवसायमा पैसा पनि छ जोखिम पनि छ । पाँच छ लाख कमाउन विदेश जानु नपर्ने खत्रीले बताए । मासु र ऊनका लागि भेडाको उपयोग गरिन्छ । चन्दननाथ नगरपालिकी उपप्रमुख रामदेवी खड्काले जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने भावना अनुसार चेहेरे पाटन क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरिएको र यसबाट समुदाय लाभान्वित भएको बताइन । उनले भनिन्, ‘यसबाट बस्तुभाउले निर्धक्क पानी खान पाएका छन् ।’

चन्दननाथ–३ का वडाध्यक्ष राजन खत्रीले जलवायु उत्थानशील बनाउन समुदायलाई सक्रिय बनाइएको र यसै अन्तरगत चेहेरेको पाटन क्षेत्रमा प्राकृतिक पोखरी निर्माण गरिएको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीकी निर्देशक मोना अर्यालले जलवायु परिवर्तनका सङ्कट टार्न समुदायलाई जलवायु उत्थानशील बनाउन नेपाल रेडक्रसले ध्यान दिइरहेको बताइन् ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार