सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ । मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु छ । शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा लुम्बिनी नेत्रालयका डा दीपेन्द्र यादवले उनलाई तत्काल शल्यक्रियाको सुझाव दिए ।
मोतियाबिन्दुको उपचार गाउँका विपन्नका लागि रु १० हजारदेखि रु १५ हजारको ठूलो खर्च हो, तर रोटरी क्लबले उपचार निःशुल्क गर्ने व्यवस्था गरेको थियो । तर, साथियाले शल्यक्रिया गर्न मानिनन् । ‘श्रीमान् भए यस्तो समस्या भोग्नु पर्दैन्थ्यो, तर अहिले घरमा कसैले टेर्दैनन्,’ साथियाले गुनासो गर्नुभयो । साथिया समस्या मोतियाबिन्दुको मात्र थिएन, न त पैसाको अभाव नै ।
उनको वास्तविक समस्या थियो शल्यक्रियापछिको हेरचाह र स्याहार दिने कोही नहुनुको एक्लोपन । यो मर्मस्पर्शी घटनाले देखाउँछ कि स्वास्थ्य सेवामा पहुँच पुर्याउनुमात्र पर्याप्त छैन, विशेषगरी एकल र वृद्धवृद्धाका लागि उपचारपछिको सामाजिक तथा भावनात्मक साथ पनि उत्तिकै महत्त्वपूर्ण छ । साथियाको समस्या त एउटा प्रतिनिधिमूलक घटनामात्र हो । आँखाकै भयावह समस्या लिएर बाँचिरहेका यस्ता धेरै बिरामी मर्चवारमा रहेका भेटिए ।
डा.यादवका अनुसार मर्चवार क्षेत्रमा स्वास्थ्य समस्या विकराल छ । शिविरमा आएकामध्ये ९० प्रतिशतभन्दा बढी बिरामीमा मोतियाबिन्दु र केहीमा टेरिजियम (मासु पलाउने) समस्या पाइएको छ । शिविरमा ६०० जनाभन्दा बढीले आँखा जाँच गराएका छन् । जसमा अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको छ । सदरमुकाम भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल, लुम्बिनी नेत्रालय लगायत आधा दर्जन बढी सुविधा सम्पन्न आँखा अस्पताल छन् ।
जहाँ बर्सेनि हजाराँै बिरामीले उपचार पाइरहेका छन् । तर सदरमुकाम नजिकै रहेको मर्चवारमा यत्रो मोतियाबिन्दुको समस्या हुँदा पनि सरोकारवालाको ध्यान पुग्न सकेको छैन । यसमा डा यादव मोतियाबिन्दुको उपचार खर्च रु १०–१५ हजार पर्ने र गाउँलेका लागि ठूलो रकम हुने हुँदा उनीहरू निःशुल्क शिविरको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । यससँगै दुर्गम क्षेत्र र खराब सडकका कारण गाउँका मानिस मुख्य स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्नु पनि एउटा कारण हो ।
डा.यादवले मोतियाबिन्दु ५० देखि ६० वर्ष उमेर समूहमा बढी देखिएको र ५५ वर्षभन्दा माथिका बिरामीलाई शल्यक्रिया अनिवार्य रहेको बताए । महिलामा भने यो समस्या अलि बढी देखिएको छ । यस क्षेत्रमा मोतियाबिन्दुका बिरामी धेरै हुनुको मुख्य कारण उचित स्क्रिनिङको कमी रहेको डा.यादवको भनाइ छ । उनले भने, ‘यो समस्या कम गर्न माथिल्लो तहबाट उचित स्क्रिनिङ हुनुपर्छ । सुरुमा चश्माले काम गर्न सक्ने भए पनि यसको स्थायी उपचार भनेको लेन्स प्रत्यारोपण गरी मोतियाबिन्दुलाई निको पार्नु नै हो ।’
लुम्बिनी नेत्रालयकै अर्का डा.हीरा शाहका अनुसार लुम्बिनी प्रदेशमै मात्र ३० हजार बढी बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । अझ प्रदेशमा पनि रुपन्देही जिल्लाको लुम्बिनी र मर्चवार आसपासका क्षेत्रमा यो समस्या अझै भयावह देखिएका उनको भनाइ छ । उमेर बढ्दै जाँदा यो समस्या देखिने भएकाले मोतियाबिन्दुलाई निर्मूल पार्न गाह्रो भए पनि सचेतना र परीक्षणमार्फत यसको न्यूनीकरण गर्न सकिने शाहको दाबी छ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले आफ्नो क्लबले १०औँ स्थापना दिवस पारेर यो कार्यक्रम गरेको बताए । उनले आफू अध्यक्ष भएपछि नै यस क्षेत्रमा २५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको बताउँदै मर्चवार क्षेत्रलाई बजार नजिकै भएर पनि सुविधा नपुगेको विकट ठाउँ भएकाले छनोट गरिएको बताए । तर अहिलेको कार्यक्रम हेर्दा एउटै क्षेत्रबाटै २५० भन्दा बढी व्यक्ति मोतियाबिन्दुको समस्याबाट पीडित देखिएका बताउँदै उनले यस समस्याको अन्त्य गर्न सरकारको पनि तत्काल ध्यान जान आवश्यक रहेको बताए ।
रोटरी क्लबले पहिले पोलियो उन्मूलनलाई प्राथमिकता दिएकामा अब मोतियाबिन्दु निवारणलाई लक्षित गरेको उनले बताए । ‘शिविरमा धेरै व्यक्तिको उपचार गर्नु भनेको उनीहरूलाई नयाँ जीवन दिनु हो । मोतियाबिन्दुले पीडित र आर्थिक रूपमा कमजोर व्यक्तिका लागि यहाँ निःशुल्क सेवा उपलब्ध भएकाले धेरैले उपचार गराउने अवसर पाएका छन् । पहिले अज्ञानता वा टाढाका कारण उपचारबाट वञ्चित भएकालाई यो शिविरले ठूलो सहयोग पुर्याएको छ,’ समाजसेवी रामगणेश पालले भने ।
सत्यपाटी