२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday
खोज रिपोर्ट

जहाँ घर छन् तर, जीवन निख्रिंदैछ

रामेछापका गाउँमा स्कूल, स्वास्थ्य केन्द्र र पसल सुनसान हुँदैछन्, खेतबारी बाँझा छन् । यहाँको रित्तिंदो समाजले स्थानीय सरकारलाई चुनौती दिएको छ, कसरी रोक्ने बसाइँसराइ, कसरी गाउँमा जीवन फर्काउने ?
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २१ गते आइतबार

मन्थली नगरपालिका–८ का दिलबहादुर रम्तेल पिंढीमा बसेर ताप्के मस्काउँदैछन् । दैलो छेउमा लौरो ठडिएको छ । दिलबहादुरको अवस्था हेर्दा त्यो लौरो उनको हिंड्ने सहारा हो भन्ने अनुमान लगाउन गाह्रो छैन । उनका तीन जना छोरा र चार जना छोरी छन् । काठमाडौंमा व्यवसाय गर्ने छोराहरू दशैं–तिहारमा मात्रै आउँछन् । घरमा अक्सर दिलबहादुर एक्लै हुन्छन् ।

दिलबहादुरकी श्रीमती उहिल्यै बितिन् । दुई वर्षअघि उनी छोरा–बुहारीसँग बस्न काठमाडौं गए । तर ६ महीनाभन्दा धेरै टिकेनन् । ‘उनीहरूले जति माया गरे पनि काठमाडौं बस्दा उकुसमुकुस भयो,’ उनले भने । दिलबहादुरको आडैको घरमा ताला लागेको छ । माथ्लो घरमा पनि कोही छैनन् । भूकम्पपछि बनेका यो गाउँका धेरै घर दुरुस्त छन्, तर मान्छे छैनन् ।

६३ वर्षका रम्तेल भन्छन्, ‘उ बेला घर थोरै भए पनि मान्छे घरभरी थिए । मेलापात निस्कँदा रमाइलो थियो । भूकम्पपछि गाउँको अवस्था फेरियो । भूकम्पले घर भत्काएका वा बस्न नमिल्ने भएकाहरूलाई सरकारले तीन लाख रुपैयाँ अनुदान दियो । त्यो अनुदानबाट धेरैले घर बनाए तर, आफू बसेनन् । नयाँ घरमा ६ महिना नबसी धेरै मान्छे काठमाडौंतिर गए ।’

रम्तेलका गाउँबाट जवान मान्छे विदेश, मधेश र काठमाडौं गएका छन् । चाडपर्वमा आक्कलझुक्कल आउँछन् । ‘कोही हिंडेर, कोही मरेर सकिए,’ रम्तेल भन्छन्, ‘दुई–चार सालपछि को रहला र गाउँमा !’ २०७२ को भूकम्पपछि रामेछापको गोकुलगंगाका मकरबहादुर कार्कीका छोरा–बुहारी पनि काठमाडौं गए । केही समयपछि आमाबाबुलाई पनि छोरा–बुहारीले भक्तपुरको सूर्यविनायकस्थित डेरामा बोलाए ।

डेरामा पुगेको केही दिनमै यो वृद्ध जोडीलाई गाउँको माया, ब्याँसी खेत, तारे गोरु र कैली भैंसीको सम्झनाले तान्यो । त्यसैले उनीहरू ६ महिनामै घर फर्किए । घर सफा गरे । ब्याँसी स्याहारे । भैंसी र गोरुलाई स्याहार–चाकर गरेर खेतीपाती गर्न थाले । उनीहरू आफैं मात्र पालिएनन् छोराछोरीलाई पनि चामल, सब्जी, घिउ बसमा हालेर पठाए । तीन वर्षअघि यी वृद्धवृद्धालाई हातपाउ चलाउन धौ–धौ हुन थाल्यो ।

मन्थली नगरपालिका–८ का दिलबहादुर रम्तेल ।

खेती गर्न छोडे । गोरु र भैंसी बेचे । त्यसपछि उनीहरू काठमाडौंमा रहेका छोराबुहारीमै आश्रित छन् । ‘छोराबुहारीले कहिले पैसा त कहिले चामल तरकारी, घिउ पठाइदिन्छन् । बसले घरै छेउमा सामान झारिदिन्छ,’ ७३ वर्षका कार्की भन्छन्, ‘कहिलेकाहीं त बुहारीले पकाएको मासु पनि काठमाडौंबाटै पठाइदिन्छे ।’ अहिले उनीहरूसँग छोराछोरी विनाको पुरानो घर र चौपाया विनाको रित्तो गोठ मात्र छ । निर्जन बनेपछि गाउँमा धेरै कुरा फेरिएका छन्, धेरै अप्ठ्यारा आइलागेका छन् ।

पसलमा बिक्री छैन

रामेछापको सुनापती गाउँपालिका–३ को जोशी जनरल खाद्य स्टोरमा एकदशक अघिसम्म ग्राहकको घुइँचो लाग्थ्यो— चामल, ग्याँस, तेल र चाउचाउ–बिस्कुट किन्नेको । २०७२ सालमा भूकम्प आएको करीब ६ महीना त झन् धेरै घुइँचो लाग्यो । त्यसपछि पसल सुनसान हुँदैगयो । दाल, चामल, तेलको बिक्री घट्दै गयो ।

‘यही पसलबाट महीनामा ५० बोरा भन्दा बढी चामल बिक्थ्यो । दाल २० बोरा जति । हिजोआज महीनामा मुश्किलले पाँच–सात बोरा चामल बिक्छ । दाल एक बोराजति,’ राजु जोशी भन्छन् । पसलबाट सामानको बिक्री यसरी घट्नुको कारण अरू केही होइन, गाउँमा मान्छे घटेपछि व्यापार सुकेको हो । ‘१० वर्षअघिसम्म ग्राहकको भीडले गर्दा खाना खाने फुर्सद हुँदैनथ्यो, चार जना सहयोगी राखेको थिएँ,’ जोशी भन्छन्, ‘अहिले एक जना मात्र छ ।’

काठमाडौंबाट गाडीमा करीब १३९ किलोमिटर यात्रा गरेपछि पुगिने रामेछापका धेरै मानिस काठमाडौं, भक्तपुर वा ललितपुरमा बसोबास गर्छन् । यीमध्ये युवा धेरै छन् । कोही रोजगारी र अध्ययनका लागि विदेश पुगेका पनि छन् । काठमाडौं बस्नेले गाउँमा रहेका बाबुआमालाई खाद्यान्न र लत्ताकपडा किनेर पठाइदिन्छन् । गोकुलगंगाका उद्धव कार्की काठमाडौंबाट छोराछोरीले बाबुआमालाई लत्ताकपडा र दैनिक उपभोगका वस्तु पठाइदिन थालेपछि यहाँको बजार झन् सुनसान भएको सुनाउँछन् ।

‘यहाँ थोरै मान्छे छन्, भएकाहरूले पनि कमै खरीद गर्छन्,’ कार्की भन्छन्, ‘काठमाडौंबाटै छोराछोरीले लत्ताकपडा र खाद्यान्न समेत पठाइदिएपछि यहाँ कसले किन्ने ? बजारे सामान काठमाडौंबाट गाउँ पठाउँदासम्म त कार्कीलाई ठिकै लागेको थियो । तर, सागसब्जी र दाल–चामल पनि काठमाडौंबाट आएको देख्दा चैं समय उल्टो पो आयो कि जस्तो लाग्न थालेको छ । उनी भन्छन्, ‘बसाइँसराइले त्यसै निस्ताएका हाम्रा गाउँघरले खाद्यान्न उब्जाएर शहर पठाउनुपर्नेमा उल्टै शहरबाट गाउँमा आइरहेको छ ।’

रामेछापका पत्रकार नवराज पथिक वैदेशिक रोजगारीका कारण पनि किसानसँग कृषि उत्पादनको सम्बन्ध टुट्दै गएको देख्छन् । ‘अधिकांशका घरमा खाडी मुलुक र मलेशियाबाट रेमिट्यान्स भित्रिन्छ,’ पथिक भन्छन्, ‘गाउँका खेतबारी बाँझा छन् । गाई गोठ र कुखुराका खोर भत्किएका छन् । गाउँका मानिस मन्थलीबाट साग र ब्रोइलर कुखुरा किनेर लैजान्छन् । खासमा गाउँबाट साग र लोकल भाले मन्थली ल्याउनुपर्ने हो ।’

मन्थलीका दिलबहादुर रम्तेल गाउँमा मान्छे थोरै भएपछि बाँदरले पनि मान्छेलाई हेप्न थालेको सुनाउँछन् । कोठेबारीमा लगाएको सिमीको झाल जोगाउन पनि उनलाई हम्मे छ । काम गर्ने मान्छे नहुँदा र बाँदरले बाली खाइदिंदा उनको ६२ रोपनी जग्गा पाँच वर्षदेखि बाँझो छ । रम्तेल भन्छन्, ‘अन्न किन्ने पैसा छोराबुहारीले पठाउँछन् । लुगा उतैबाट ल्याइदिन्छन् ।’

बसमा मान्छे छैनन्

अरनिको यातायातले काठमाडौंबाट रामेछाप र रामेछापबाट काठमाडौं मान्छे ओसार्न थालेको ३० वर्षजति भयो । ऊ बेला बसमा खचाखच मान्छे हुन्थे । छतमा पनि मान्छे हुन्थे । बिस्तारै छतका यात्रु सिटमा अट्न थाले । त्यसपछि गाडीका सिट खाली हुन थालेको पनि एकदशक पुग्न थाल्यो ।

काठमाडौं र बनेपाबाट रामेछाप हुँदै ओखलढुंगाको पश्चिमी भाग र दोलखाको पूर्वी भागमा मान्छे ओसार्न अरनिको यातायातका ४० वटा बस दिनैपिच्छे ओहोरदोहोर गर्छन् । एउटा बसमा ३१ वटा सिट छन् । तर यतिबेला १५–२० वटा सिट मात्र भरिन्छन् । अरनिको यातायातका रामेछाप इन्चार्ज सुवास फुँयाल भन्छन्, ‘हाम्रा गाडी भरिनका लागि दशैं–तिहार, कसैको दिवाली, कुलपूजा वा वृद्धभत्ता झिक्ने बेला हुनुपर्छ ।’

अरनिको यातायातको चाबहिल काउन्टरका कर्मचारी केदार पन्त यात्रु घटेपछि दुई–तीन वटा गाडीका मान्छे एउटैमा हालेर लैजाने गरेको सुनाउँछन् । १० वर्षदेखि अरनिको यातायातका विभिन्न स्टेशनमा टिकट काट्ने काम गर्दै आएका पन्तका अनुसार यस अवधिमा सार्वजनिक यातायातमा करीब ३० देखि ३५ प्रतिशत यात्रु घटे । ‘गाउँमा पहिलाकै अनुपातमा मान्छे हुन्थे भने अहिले गाउँगाउँ बाटो पुग्दा हामीले अरू २० वटा गाडी थप्नुपथ्र्यो ।’

रित्ता घर, उराठ गाउँ

मन्थली वडा नं. ८ द्वारे टोलका रित्ता घरहरु ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार रामेछापमा ८२ हजार ८३ वटा घर थिए । तीमध्ये १४ हजार ४२ वटा अर्थात् १७.५ प्रतिशत घर रित्ता थिए । अहिले गोकुलगंगा र खाँडादेवीका पाँचवटा मध्ये एउटा घर खाली छन् । मन्थली नगरपालिकाले बालमैत्री नगर घोषणा गर्ने पूर्वाधारको अवस्था बुझ्न गत वर्ष घरधुरी सर्वेक्षण गर्यो ।

उक्त सर्वेक्षणले नौं हजार ५९० घरमा मात्र मानिसको बसोबास रहेको देखायो । नगर प्रमुख लव श्रेष्ठ भन्छन्, ‘हामी त अचम्म परेका छौं । यति धेरै घरमा मान्छे नहोलान् भन्ने लागेकोे थिएन । सदरमुकामको नगरपालिका पनि रित्तै भइसक्यो । गाउँतिरको हालत कल्पना गर्नै सकिन्न ।’ राष्ट्रिय जनगणना २०७८ ले यस नगरपालिकामा बस्नयोग्य घरहरू १८ हजार ७७२ देखाएको थियो । तीमध्ये दुई हजार ७२७ वटा घरमा मान्छे थिएनन् ।

तीन वर्षअघिको जनगणना र नगरपालिकाले गत वर्ष गरेको सर्वेक्षण गरेको तथ्याङ्कलाई उस्तै मानेर तुलना गर्ने हो भने मन्थली नगरपालिकामा तीन वर्षको अवधिमा मात्रै आधाभन्दा बढी घर खाली भएका छन् । रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शम्भु श्रेष्ठका अनुसार नगरपालिकाभित्रै ७५ प्रतिशत घरमा बुढाबुढी मात्र छन् । २५ प्रतिशत जति घर रित्तै छन् ।

करीब ३० वर्षदेखि रामेछाप डाँडामा पसल गरेर बसेका श्रेष्ठका अनुसार शुरुमा माओवादी द्वन्द्वले गर्दा गाउँबाट मानिसहरूको बास उठ्यो । ज्यान जोगाउन सदरमुकाम आएका मान्छेहरूले यतै रोजीरोटीको मेलो समाए । रामेछाप र मन्थली पसेका द्वन्द्वपीडितहरू विस्तारै काठमाडौंतिर पस्न थाले । २०६३ मा द्वन्द्व त समाप्त भयो तर त्रास भने कायमै रह्यो ।

मन्थली वडा नं. ८ द्वारे टोलका रित्ता घरहरु ।

‘२०६५–०६६ सालदेखि आफ्नो घर फर्कन सक्ने स्थिति बनुन्जेल उनीहरूले आफ्नो भविष्य गाउँमा भन्दा शहरमा देख्न थालिसकेका थिए,’ श्रेष्ठ भन्छन्, ‘उनीहरू गाउँ फर्केनन् । बरु गाउँमा भएका आफन्त र छिमेकीलाई शहरतिरै बोलाउन थाले ।’ मन्थलीको वडा नं. ८ द्वारे टोल बसाइँसराइले आक्रान्त गाउँ हो । २५ घरको यो गाउँमा अहिले १५ वटाजति घरमा ताला लागेको छ ।

‘पहिला गाउँमा जीवन छ भन्थे मान्छेहरू । अहिले गाउँ नीरस छ,’ यही टोलकी किशोरी श्रेष्ठ भन्छिन्, ‘मान्छे झर्ने पहिरो कहाँबाट खस्यो कहाँ पुग्छ हामीलाई थाहा छैन ।’ पहिला पहिला चौपाया चराउन जाने, खेतीमा अर्मपर्म गर्ने, बिहान–बेलुका धारा–पँधेरो गर्दा मनका कुरा खोल्ने चलन पनि हराएको छ ।

४० वटा विद्यालय बन्द भए

रामेछापमा बसाइँसराइले विद्यालय पनि रित्याउँदैछ । जिल्लाभर २०७८ सालमा पूर्व प्राथमिक कक्षादेखि १० कक्षासम्म ४२ हजार ३७८ विद्यार्थी पढ्थे । चार वर्षपछि २०८२ सालमा २९.२७ प्रतिशत विद्यार्थी घटे । गोकुलगंगाको सेतीदेवी माविमा दुई वर्षअघि ३०० जना विद्यार्थी थिए । यसपालि ११६ जना मात्र छन् । वडा नं १ का भालेपोखरी, कुश्मावती र महादेवश्वरी आधारभूत विद्यालयमा कक्षा ४ र ५ मा पढ्ने विद्यार्थी नभएपछि एउटामा कक्षा ३ सम्म पढाइ हुन्छ ।

अरू दुइटामा त कक्षा १ मा मात्र पढाइ हुन्छ । लिखु तामाकोशी गाउँपालिकामा वार्षिक कम्तीमा २०० भन्दा बढी विद्यार्थी घटिरहेका छन् । २०७६ सालमा ४ हजार ८०० विद्यार्थी भएको यो गाउँपालिकामा २०८१ सालमा ३ हजार ७४० मात्र विद्यार्थी छन् । ‘पाँच वर्षमा ११०० भन्दा बढी विद्यार्थी घटेका छन्,’ गाउँपालिकाको शिक्षा शाखा प्रमुख जयकृष्ण चौलागाईं भन्छन्, ‘हामीले जतिसुकै गुणस्तरीय शिक्षा दिन खोजे पनि विद्यार्थी बढ्ने स्थिति छैन ।’

उनका अनुसार बसाइँसराइ मानिसको बाध्यता, मनोविज्ञान र शानको विषय भइसक्यो । अर्कोतिर जन्मदर ओरालो लागेको छ । बच्चा कहाँबाट ल्याउनु र ! विद्यार्थी घटेपछि विद्यालय बन्द गर्ने क्रम निरन्तर चलेको जिल्ला शिक्षा समन्वय इकाइ रामेछापले जनाएको छ । इकाइले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष विद्यार्थी नभएर ४० वटा विद्यालय बन्द गरिएको छ । इकाइका प्राविधिक सहायक दिनेश नेपालीका अनुसार १०० वटा भन्दा धेरै विद्यालयमा २० जनाभन्दा कम मात्र विद्यार्थी छन् ।

‘हिजो धेरै बालबालिका हुँदा खोलिएका विद्यालयहरू अहिले रित्ता भए,’ नेपाली भन्छन्, ‘यसको पहिलो कारण अत्यधिक बसाइँसराइ हो । दोस्रो कारण जन्मदर घट्नु हो ।’ केही स्वास्थ्य केन्द्रहरूको तथ्याङ्कले पनि यहाँ बच्चा जन्मने क्रम ह्वात्तै घटेको देखाएको छ । खाँडादेवी गाउँपालिकाको पकरवास स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७९–०८० मा ४९ बच्चा जन्मिएकोमा २०८०–०८१ मा ३६ र २०८१–०८२ मा २६ जना मात्र जन्मिए ।

स्वास्थ्य सेवा विभागले यो गाउँपालिकाको वडा नं ५ मा गत वर्ष २२ जना बच्चा जन्मिने अनुमान गरेर सोही अनुसारको औषधि र शल्यक्रिया सामग्री पठाएको थियो तर यहाँ पाँच जना बच्चा जन्मिए । ‘बच्चा जन्मने दर एकदम घटेर गयो । युवाहरू गाउँमा छैनन् । भएका पनि एउटा दुइटा भन्दा बढी बच्चा जन्माउन चाहँदैनन्,’ हेल्थ असिस्टेन्ट नवराज श्रेष्ठ भन्छन्, ‘वैदेशिक रोजगारीले युवाजति विदेशमा छन् । अलि हुनेखानेहरू काठमाडौं गएर डेलिभरी गराउँछन् ।’ जिल्ला अस्पताल रामेछापमा तीन वर्षअघि १६१ जना बच्चा जन्मिएकोमा पछिल्ला दुई वर्षमा क्रमशः १२७ र १२८ जना जन्मिए ।

पहिले यहाँका स्कूलमा यहींकै शिक्षकले पढाउँथे । अहिले गाउँमा युवा नहुँदा गणित, विज्ञान, अंग्रेजी जस्ता महत्वपूर्ण विषयका शिक्षक पाइन छाडेका छन् । विज्ञान र गणितका शिक्षक नपाएर यहाँका विद्यालयले कति हण्डर खाँदा रहेछन् भन्ने एउटा उदाहरण गोकुलगंगा–९ चुचुरेको सेतीदेवी माध्यमिक विद्यालय हो । उक्त विद्यालयले माध्यमिक तहमा गणित विषय पढाउने शिक्षकको खोजीमा सातौं पटकसम्म विज्ञापन गर्नुपर्यो । लिखु तामाकोशी ३ को वृखेश्वर आधारभूत विद्यालय खोलमा गाउँले तीन पटक विज्ञापन गर्नुपर्यो ।

पालिकालाई थरीथरी समस्या

जनसंख्या घट्दै जाँदा गाउँमा उपभोक्ता समिति गठन गर्न र सामूहिक कार्यक्रम चलाउन गाह्रो हुन थालेको छ । रामेछाप नगरपालिकाले गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट प्रदेश गृहिणी महिला सशक्तीकरण कार्यक्रम ल्यायो । युवा महिलाहरूलाई सीपमूलक तालिम दिइने यो कार्यक्रममा एउटा समूहमा २० देखि ५५ वर्षका १५ देखि ३० जना महिला हुनुपथ्र्यो । उनीहरूले १५ वटा समूह बनाउने लक्ष्य राखेका थिए । महिला कम भएपछि ९ वटा मात्र समूह गठन गरिएको कार्यक्रमकी सहजकर्ता सरिता बुढाथोकी बताउँछिन् ।

नगरपालिकाले सानातिना विकास निर्माणका काम उपभोक्ता समिति मार्फत गराउँछ । समितिको सदस्य हुनका लागि ६० वर्षभन्दा कम उमेरको व्यक्ति चाहिन्छ । तर ६० वर्ष नपुगेका मानिस गाउँमा थोरै छन् । उपभोक्ताले श्रमदान पनि गर्नुपर्ने हुनाले युवा नहुँदा झनै समस्या परेको उपमेयर बालकुमारी कार्की थापा बताउँछिन् । मन्थलीका नगर प्रमुख श्रेष्ठ लक्षित समूहका उपभोक्ताको जनसंख्या नपुग्दा समस्या झेल्नुपरेकोे बताउँछन् ।

उनी भन्छन्, ‘जिल्लाभरकै बासिन्दामध्ये धेरैको एउटा खुट्टा रामेछापमा अर्को खुट्टा काठमाडौंमा छ । यहाँको उपभोक्ता समितिमा बस्ने, काममा खट्ने र कहिलेकाहीं झन्झट समेत व्यहोर्न उनीहरू रुचाउँदैनन् ।’ यसै नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखामा कार्यरत रमेश सुवेदी वर्ष दिनअघि वडा नं ९ को वडा सचिव थिए । एउटा योजनाको उपभोक्ता समिति बनाउन टोल भेला गर्दा ७० जना उपभोक्ता भेला हुने अपेक्षा थियो । तर आए १४ जना ।

‘तीमध्ये पनि कतिपय अर्को समितिमा बसेका थिए । पहिलो योजना फरफारक नगरी नयाँ समितिमा बस्न मिल्दैन । एकै घरका दुई जना सदस्यलाई एउटै समितिमा राख्न मिल्दैन,’ सुवेदी भन्छन्, ’बसाइँसराइले धेरैतिर असर गर्ने रहेछ ।’ कतिसम्म भने गाउँका मान्छे काठमाडौंतिर हिंडेपछि पालिकाहरूलाई सामाजिक सुरक्षा भत्ता दिन पनि शहरतिरै पुग्नुपरेको छ । रामेछाप नगरपालिकाको वडा नं ७ ले भदौ ६ र ७ गते काठमाडौं र भक्तपुरमा घुम्ती शिविर राख्यो ।

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग नहोस् भनेर यस वर्षदेखि प्रत्येक लाभग्राहीको ‘बायोमेट्रिक’ अनिवार्य गरिएकोले सेवाग्राही खोज्दै शहरतिर पस्नुपरेको नगरप्रमुख न्यौपाने बताउँछन् । ‘वडाको रेकर्डमा मान्छे छन् । उनीहरू औपचारिक रूपले बसाइँ सरेका छैनन्,’ न्यौपाने भन्छन्, ‘तर उनीहरू वर्षौं अघिदेखि यहाँ छैनन् । उनीहरू यहींका मतदाता हुन् । त्यसैले धेरै नगरवासी जहाँ–जहाँ बसेका छन् त्यहीं गएर सेवा दिने बाध्यता हामीलाई आइलाग्यो ।’

जनसंख्याभन्दा मतदाता धेरै

बसाइँसराइले रामेछापमा अचम्मको तथ्याङ्क सृजना गरेको छ । २०७८ साल कात्तिक ९ गते सकिएको जनगणना अनुसार त्यस जिल्लामा १ लाख ७० हजार ६२० मानिस बस्थे । त्यसको एक वर्षपछि २०७९ मंसिरमा भएको संघीय र प्रदेश सभाको निर्वाचनमा मतदाता भने १ लाख ७८ हजार ८६७ जना थिए । अर्थात् त्यहाँ जति मानिस बस्थे त्योभन्दा धेरै मतदाता थिए । दुई वटा नगरपालिका बाहेक ६ वटै गाउँपालिकामा यस्तो अनौठो तथ्याङ्क देखियो ।

तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार जनगणनामा ६ महीनाभन्दा बढी समय मानिसको बसोबास जहाँ छ उसको गणना त्यहीं हुन्छ । त्यसै अनुसार तथ्याङ्क अद्यावधिक गरिन्छ । तर मतदाता नामावलीमा स्थायी बसोबासका आधारमा नाम संकलन गरिएको हुन्छ । त्यसमा पनि कतिपय बसाइँ सरेर गएका, विदेश गएका वा मरेका मानिसहरूको नाम पनि मतदाता नामावलीबाट नहटाइएको हुन सक्छ ।

नेपालभर अनुपस्थित (विदेश गएको) जनसंख्या ७.५ प्रतिशत छ । तर रामेछापको करीब ११ प्रतिशत जनसंख्या विदेशमा रहेको लामिछाने बताउँछन् । जुन जिल्लाको कुल जनसंख्यामा जोडिएको छैन । जनसंख्या भन्दा मतदाता बढी भएको अर्काे जिल्ला मनाङ हो । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेका अनुसार जिल्लामा अनुपस्थित जनसंख्यामध्ये धेरै औपचारिक रूपमा बसाइँ सरेका छैनन् ।

‘धेरैजसो बसाइँ सरेर जानेहरूले पनि गएको दुई–चार वर्षपछि मात्र कागज लिन आउँछन्,’ न्यौपाने भन्छन्, ‘यस अवधिमा उनीहरूको मतदाता नामावली रामेछापमै हुन्छ ।’ अस्थायी बसाइँ सरेर गएका तर निर्वाचनको समयमा फर्किने मतदाताका कारण पनि चुनावी परिणाम अप्रत्याशित हुने गरेको राजनीतिक नेताहरू बताउँछन् ।

यसकारण रित्तिए गाउँबस्ती

बालकुमारी कार्की थापा, उपप्रमुख, रामेछाप नगरपालिका

जिल्लामा रोजगार नपाउँदा, चाहेको जस्तो शिक्षा र स्वास्थ्य सुविधा नहुँदा मान्छे लगालग रामेछाप छोड्दै विदेश, काठमाडौं र मधेशतिर झरे । यसै पनि रामेछाप पानी निकै कम पर्ने जिल्ला हो । यहाँका ६१ वटा वडा मध्ये २४ वटालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । मन्थली ८ का मदन अछामी भन्छन्, ‘यो ठाउँमा धान फल्दैन । मकै, कोदो र मस्याङ मात्र हो यहाँ फल्ने । तल कोशीमा पानी बगेको छ । यता हाम्रा बारी बाँझै छन् ।’

अछामीका अनुसार खान र सिंचाइका लागि पानी नहुँदा पनि मानिस बसाइँ सरेका हुन् । यद्यपि, मदनका छिमेकी ७५ वर्षीय कालु भुजेलका अनुसार सात–आठ वर्षयता खानेपानीको अप्ठ्यारो उतिसाह्रो छैन । खोलाबाट तानेको पानी घरघरमा पुर्याइएको छ । तर सिंचाइको सुविधा चाहिं छैन । ‘हाम्रो खान्की भनेकै च्याँख्ला र गहत थियो,’ अछामी भन्छन्, ‘उहिलेदेखि यस्तै दुःख भोगेर आएका मान्छे बाटोघाटो आएपछि देश र परदेशतिर लागेका हुन् ।’

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेका अनुसार रामेछापको फेदैफेद बगेको सुनकोशी नदीबाट ठाउँठाउँमा पानी लिफ्टिङ गरेर खाने पानीको गर्जो टार्ने प्रयास भएकोे छ । यहाँको खडेरी कति घातक छ भन्ने कुराको एउटा उदाहरण करीब २८ वर्षअघि खुलेर बन्द भएको यहाँको बेल उद्योग हो । यहाँका जंगलमा प्रशस्त पाइने बेललाई उपयोग गर्ने उद्देश्यले २०५४–०५५ सालतिर सामुदायिक वन उपभोक्ता महासंघले तामाकोशी फरेस्ट प्रोडक्ट, प्रोसेसिङ प्रा.लि. सञ्चालन गर्यो ।

तर तीन वर्षपछि जिल्लामा अचाक्ली खडेरी परेपछि पाखाबारीका बेलका रूख नै मरे । उद्योग बन्द भयो । महासंघका अध्यक्ष ज्ञानबहादुर खड्का भन्छन्, ‘घातक खडेरीले मान्छेलाई यहाँ बस्न दिंदैन । एक–दुई वर्षयता पानी पर्ने क्रम केही बढेको भए पनि त्यसअघि मान्छे बसाइँ हिंड्ने एउटा मुख्य कारण खडेरी हो ।’ आफ्नो खेतबारीको उत्पादनले खान नपुग्ने र अरू रोजगार पनि नपाएपछि मानिसहरू बसाइँ सरेको लिखु तामाकोशी गाउँपालिकास्थित भृङ्गेश्वर मावि कोटगाउँका हरिचन्द्र महत बताउँछन् ।

‘छाक टार्न धौ–धौ भएपछि युवाहरू विदेश लागे । गाउँको बिके बेचे, नबिके बाँझै छोडेर शहरतिरै बसे,’ महत भन्छन् । गाउँमा बाख्रा फार्म, कुखुरा फार्म खोलेकाहरू पनि वैदेशिक रोजगारीको हावाले हल्लाउन थालेपछि यहाँ बस्दैनन् । अर्कातिर सरकारी कामको परम्परागत झन्झट पनि आजकलका युवा मन पराउँदैनन् । ’अस्ति असार २४ गते बाख्रापालन गरिरहेको छिमेकी भाइ ज्ञानबहादुर विकलाई बैंकको लाइनमा भेटें,’ महत भन्छन् ।

उनले थपे, ‘ऊ ऋण थप्न गएको होला भनेको त बैंकको खाता बन्द गर्न पो गएको रहेछ । फार्म बन्द गरेर विदेश जाने तयारीमा रहेछ ।’ मन्थली बजारमा चार वर्षदेखि विजय साइनो टेलर्स सञ्चालन गरेर बसेका टले नेपाली पनि विदेश जाने सुरमा छन् । १० लाख रुपैयाँ लगानी गरेर शुरु गरेको व्यवसाय चलाउन नसकिने भएपछि उनले अर्काे बाटो रोजेका हुन् । नेपाली भन्छन्, ‘व्यापार चौपट भयो । मान्छे नै नभएपछि व्यापारको के आश रह्यो र !’

रोकिएला त बसाइँसराइ ?

शिवप्रसाद न्यौपाने, वडाध्यक्ष, लिखु तामाकोशी गाउँपालिका–७

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का बसाइँसराइलाई स्वाभाविक ठान्छन् । मानिसले आफ्नो उन्नति जता देख्छ त्यतै जान्छ भन्ने उनको मान्यता छ । ’हो घरहरू रित्ता भए । मान्छे काठमाडौं गए । विदेश गए । यो मानवीय प्रवृत्तिलाई कसरी रोक्नु र !’ उनी भन्छन्, ’यहाँबाट मान्छे गए पनि अन्यत्रका मान्छे यहाँ आएर बस्ने वातावरण बनाउन सके हुने हो । तर यसो गर्ने हैसियत स्थानीय सरकारको छैन ।’

१० वर्षअघि रामेछाप छोडेर काठमाडौं पुगेका भरत तामाङ भन्छन्, ‘गाउँमा पैसा कमाउने मेसो नभएसम्म त्यहाँबाट काठमाडौं आउने र विदेश जाने क्रम रोकिंदैन ।’ जिल्ला र गाउँ रित्तिन थालेपछि गएको ११ जेठमा लिखु तामाकोशी गाउँपालिका– ७ का वडाध्यक्ष शिवशक्ति न्यौपानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बसाइँसराइ रोकिदिनुपर्यो भनेर ज्ञापनपत्र बुझाए ।

‘गाउँका धेरै युवा बाहिर छन् । उनीहरूलाई कसरी गाउँ फर्काउने होला ? गाउँ नै रित्तिसक्यो । यसको उपाय सुझाइदिनुहोला । बैंकको ऋण सस्तो बनाएर युवालाई कृषि उद्यमका लागि प्रोत्साहित गरिदिनुहोला,’ ज्ञापनपत्रमा लेखिएको छ । मन्थली नगरपालिकाले यस वर्ष तेस्रो बच्चा जन्माउन प्रोत्साहन गर्ने नीति ल्यायो । घट्दोे जनसंख्यालाई सन्तुलनमा ल्याउन सकिन्छ कि भनेर यसो गरेको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।

यो नगरपालिकाले तीन वर्षअघिदेखि कक्षा ११ र १२ मा विज्ञान र गणित विषय लिएर पढ्ने १४ जना विद्यार्थीको शुल्क तिरिदिने गरेको छ । यसबापत १२ कक्षा पढिसकेर कम्तीमा ६ महीना नगरपालिकाले तोकेको विद्यालयमा पढाउनुपर्ने नियम लगाइएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । ‘यसो गर्दा आधारभूत तहमा भए पनि गणित विज्ञानका शिक्षक पाइएन भनेर विद्यार्थी गाउँ छाडेर जानु नपर्ला भन्ने हाम्रो अपेक्षा हो,’ नगर प्रमुख श्रेष्ठ भन्छन् ।

मन्थली नगरपालिका वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले २०७९ मा निर्वाचित भएपछि पहिलो निर्णय गरे ‘बसाइँसराइको प्रमाणपत्र नदिने ।’ वडाले जति उपाय लगाउँदा पनि मान्छे रोक्न नसकेपछि यस्तो जटिल निर्णय गर्नुपरेको उनी बताउँछन् । ‘बसाइँसराइ लिन आउने मान्छेलाई आफ्नो गाउँठाउँ छोडेर विरानो ठाउँमा नजान धेरै सम्झाउँछु,’ उनी भन्छन्, ‘अति धेरै बाध्यतामा पर्नेहरूलाई दिन्छु नत्र सम्झाएर फिर्ता पठाउने गरेको छु ।’

लिखु तामाकोशी गाउँपालिका–७ का वडाअध्यक्ष शिवप्रसाद न्यौपानेले पनि बसाइँसराइको प्रमाणपत्र हत्तपत्त दिंदैनन् । ‘जान्छु भन्नेजति सबैलाई बसाइँसराइ दियो भने वडामा कोही पनि हुँदैनन्,’ न्यौपाने भन्छन्, ‘अभरमा परेकालाई त दिनै पर्यो !’ रामेछाप नगरपालिकाले भैंसी पाल्ने कृषकलाई एउटा भैंसी किन्दा ५० प्रतिशत अनुदान दिन थालेको छ । अघिल्लो आर्थिक वर्षमा शुरु गरिएको यो कार्यक्रमका लागि नगरपालिकाले ३७ लाख रुपैयाँ छुट्याएको थियो ।

‘भैंसी अनुदान कार्यक्रमबाट कम्तीमा ३७ जना युवाहरूलाई त विदेश जानबाट रोक्यौं भन्ने हामीलाई लागेको छ,’ उपमेयर बालकुमारी कार्की थापा भन्छिन्, ‘सबै स्थानीय तहले युवालाई यतै इङ्गेज गर्ने केही न केही कार्यक्रम ल्याए बसाइँसराइ अलि रोकिन्थ्यो कि !’ तर, यतिले मात्रै बसाइँसराइ रोकिएला भन्ने ठान्दैनन् नगर प्रमुख श्रेष्ठ । उनका अनुसार काठमाडौंबाट नजिकै भएकोले यहाँ हुने कृषि तथा अन्य उत्पादनलाई बजारको समस्या छैन । तर, वैश्वीकरणको यो युगमा युवा आकांक्षालाई छेक्न सानोतिनो प्रयासले सम्भव नहुने उनी बताउँछन् ।


मान्छे नै नरहे हामीले कसका लागि राजनीति गर्ने ?

लव श्रेष्ठ, नगरप्रमुख, मन्थली नगरपालिका

रामेछापबाट बसाइँ सरेर जानेहरूको संख्या ठूलो छ । किन यस्तो भएको ?

रामेछाप जिल्ला देशभरमै सबैभन्दा धेरै बसाइँसराइ हुने जिल्लाका रूपमा चिनिएको छ । यसको ठ्याक्कै कारण हामीले पनि पहिल्याउन सकेका छैनौं । शिक्षा, स्वास्थ्य र रोजगारका कारण पनि बसाइँसराइ भयो होला । गाउँबाटै सदरमुकाम मन्थलीमा आउनेहरूलाई हेर्दा पनि छोराछोरी पढाउनुपर्ने, बिरामी पर्दा उपचार गर्न सजिलो हुने, गाउँघरमा वन्यजन्तुले दुःख दिने आदि कारण देखिन्छ । अर्कोतर्फ देखासिकीले युवाहरू विदेशिने क्रम बढेको छ । अलिक कमाउन सकेकाहरू बालबालिकालाई राम्रो शिक्षा दिनका लागि काठमाडौंतिर पुगेका छन् ।

हामीले पढ्दाखेरि तीन दिन लगाएर सिन्धुलीबाट मट्टीतेल ल्याएर पढ्दा पनि उपलब्धि नै लाग्थ्यो । अहिले घरघरमा बिजुली छ । तर पनि त्यसले सन्तोष दिन सकेको छैन । अहिले त हाम्रो शिक्षा गाउँमा पनि राम्रो छ । तर शिक्षक, कर्मचारी र जनप्रतिनिधिको आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने प्रवृत्तिले पनि सामुदायिक शिक्षाप्रति अविश्वास सिर्जना गरेको छ । आम मान्छेमा गाउँमा पाइने शिक्षाले भोलि गरिखाने बाटो दिंदैन भन्ने मनोविज्ञान विकास भएर शहरतिर पलायन भएका छन् ।

बसाइँसराइ त संसारभर नै हुन्छ तर नयाँ मानिस आउने सम्भावना पनि हुन्छ नि !

तपाईंले भनेको कुरा ठिक हो । अष्ट्रेलियाको मान्छे अमेरिका बसाइँ सर्छ । क्यानडाको मान्छे नयाँ कुराको खोजी गर्दै युरोपतिर लाग्छ । युरोपको मान्छे अष्ट्रेलिया जान्छ । यस्तो चक्र चलिरहन्छ । एउटाले नदेखेको सम्भाावना अर्कोले देखेर मानिसहरू एक ठाउँ र अर्को ठाउँ, एक देश र अर्को देश गरेका हुन् । केही समयअघि म कोरिया गएको थिएँ । त्यहाँका मानिसहरू ठूलो संख्यामा विदेश जाँदा रहेछन् । अनि नेपाल जस्ता देशका मानिसहरू त्यहाँ गएर रोजगारी गरिरहेका छन् ।

तर, हामीकहाँ त्यस्तो वातावरण छैन । रामेछापका बासिन्दा काठमाडौं वा बर्दिबास गए तर, सिन्धुली वा खोटाङको मान्छे यहाँ आएर बस्ने अवस्था बनाउन सकिएन । अझ महोत्तरी वा धनुषाको मान्छेलाई रामेछापमा नयाँ सम्भावना देखाउन सकिएन । जबसम्म बसाइँसराइ दुईतर्फी हुँदैन तबसम्म एउटा ठाउँ रित्तिने अर्को ठाउँमा जनसंख्याको चाप धेरै हुने स्थिति हुन्छ ।

कसरी रोकिएला त बसाइँसराइ ?

रामेछाप सुख्खाग्रस्त क्षेत्र हो । यहाँ पानी एकदम कम पर्छ । तल सुनकोशीबाट पानी तान्न नसकेको भए गाउँमा अहिलेजति पनि मानिस हुँदैनथे । तर, लिफ्टिङबाट ल्याएको यो पानी पनि महँगो छ । बिजुलीको पैसा तिर्नुपर्यो । छोराछोरीको फी तिर्नुपर्यो । खानेपानीको बिल तिर्नुपर्यो । अभावै अभावले गर्दा पनि मान्छे बसाइँ सरेका छन् । गाउँठाउँमै पनि कृषि धेरै दुःखको पेशा भयो ।

बरु अलि बाहिर गएर जस्तो काम भेटिन्छ त्यस्तै गर्न रुचि राख्न थाले । अर्कोतिर जनसंख्या घट्दै गएको छ । भएको जनसंख्या पनि अलि शहरकेन्द्रित भयो । यसलाई गाउँमा रोक्न स्थानीय सरकारले सक्दैन । कम्तीमा पनि एक वडा एक उत्पादनको अवधारणा लिएर ५०–६० जनलाई रोजगार दिने खालको उद्योग, व्यवसाय गर्न सकियो भने बसाइँसराइ रोकिन्छ । एकपटक भारतले नाकाबन्दी गर्दाखेरि सबै मान्छे घर फर्किए ।

कसैले मकै रोप्न, कसैले तरकारी उत्पादन गर्न थाले । त्यो भएको उत्पादन बोकेर बजारमा आउन पनि शुरु भयो । कोरोनाका बेला पनि शहरबाट रातारात मानिसहरू गाउँ आए । कृषि कर्म गर्न थाले । तर जब साम्य हुँदैगयो, फेरि गाउँ छाड्नेको लर्को लाग्यो । मान्छेका आवश्यकता असीमित भए । त्यही असीमित आवश्यकता पूरा गर्ने महत्वाकांक्षामा मान्छेहरू भौतारिंदै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहेका छन् ।

अहिलेको अवस्था एकैचोटि आएको हो ?

होइन । २०–२२ वर्षअघि नै बसाइँसराइको प्रवृत्तिले घण्टी बजाइसकेको थियो । सशस्त्र द्वन्द्वले यो प्रवृत्तिलाई ह्वात्तै बढायो । २०५८ सालमा भएको जनगणनामा यो जिल्लाको जनसंख्या वृद्धिदर एक्कासी घट्यो । २०६८ को जनगणनामा जनसंख्या पहिलाको भन्दा धेरै घट्यो । २०७८ मा आउँदा त देशकै सबैभन्दा धेरै जनसंख्या घटेको जिल्ला भयो ।

मैले भन्न खोजेको के हो भने २०–२२ वर्षअघि नै खतराको घण्टी बज्दा नै यसलाई सम्बोधन गर्ने नीति ल्याउनुपथ्र्यो । संघीय सरकारले हिमाल र पहाडमा जनसंख्या रोक्ने साथै तराई र शहरमा जनसंख्या व्यवस्थापन गर्ने नीति ल्याउनुपर्दछ । बसाइँसराइ नरोकिने हो भने यहाँ भूगोल त रहला तर मान्छे नरहलान् कि भन्ने चिन्ता छ । मान्छे नै नभए हामीले कसका लागि राजनीति गर्ने ?

स्रोत : चेतन अधिकारी । खोज पत्रकारिता केन्द्र
प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार