२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

जमुनाहामा कडाई, सीमा वारपार गर्दा परिचय खुल्ने कागजात अनिवार्य

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर २० गते शनिबार

रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोकिने उद्देश्यले नेपाल–भारत सीमा नाकामा सुरक्षा निकायले कडाइ बढाएका छन् । गृह मन्त्रालयले जिल्लास्तरका प्रशासनिक निकाय र सुरक्षा अधिकारीलाई अवैध आवतजावत पूर्णरूपमा रोक्न कडा निर्देशन दिएपछि सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको हो ।

हाल भारतमा मतदाता शुद्धीकरणका लागि सञ्चालन भइरहेको ‘स्पेसल इन्टेन्सिभ रिभिसन (एसआइआर)’ कार्यक्रमका कारण रोहिंग्यासहित भारतमा अवैधरूपमा बस्दै आएका समूह सीमा पार गर्न सक्रिय भएको सूचनापछि नेपालतर्फ निगरानी झनै कडाइ गरिएको हो । सुरक्षा निकायका अनुसार हाल नेपालमा करिब ६०० रोहिंग्या अवैधरूपमा बसोबास गरिरहेका छन् ।

यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले नाकामा कागजात जाँचलाई नियमित र व्यवस्थित बनाएका छन् । विशेषगरी नेपालगन्ज–जमुनाह नाकामा नेपालीबाहेक अन्य प्रत्येक यात्रुको पहिचान खुल्ने कागजात अनिवार्यरूपमा हेर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गृह मन्त्रालयको निर्देशनसँगै शंकास्पद व्यक्ति र अवैध प्रवेश रोक्न दैनिक निगरानी बढाइएको छ ।

पहिचान खुल्ने कागजात भएकालाई मात्र आवतजावतको अनुमति दिइएको छ । शंका लागेमा तत्कालै केरकार र हुलिया दर्ता गरिन्छ । हालसम्म जोखिमपूर्ण वा शंकास्पद व्यक्तिको पहिचान नभेटिएको बताए पनि सम्भावित खतरा रोक्न प्रहरीले सतत् गस्ती र निगरानी बढाएको छ । जमुनाहा नाकामा प्रहरी निरीक्षक किरण मल्लको जिम्मेवारी आएपछि सीमा व्यवस्थापनमा देखिएका अव्यवस्थित गतिविधि कम हुँदै गएको स्थानीयको धारणा छ ।

उनले अव्यवस्थित सवारी साधन, अस्वच्छ लाइन, अनियन्त्रित आवतजावत जस्ता समस्या समाधान गर्दै नाकालाई व्यवस्थित बनाउनेतर्फ प्राथमिकता दिइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले पनि खुला सीमामा सुरक्षा चुनौती उच्च हुने भएकाले चेकजाँच अनिवार्यरूपमा कडाइ गर्नुपर्ने बताए । ‘जमुनाहा दुई देशको प्रमुख नाका हो । यहाँ बोर्डर हो भन्ने अनुभूति नागरिकलाई गराउनुपर्छ । नियम अनुसारको चेकिङ नहुने हो भने लागुऔषध, हतियारजस्ता जोखिमपूर्ण वस्तु सजिलै भित्रिन सक्छन्,’ उनले भने ।

उनका अनुसार किनमेल वा अन्य सामान्य कामका लागि भारत गएका नेपाली नागरिकलाई कागजात नखोजिए पनि अन्य विदेशी नागरिकका लागि पहिचान खुल्ने कागजात अनिवार्य गरिएको छ । ‘बंगलादेश, पाकिस्तान जस्ता देशका नागरिकलाई भिसा आवश्यक पर्छ । नाकामा कडाइ नभए भिसाबिना नै भित्रिन सक्ने अवस्था बन्छ, जुन स्वीकार्य हुँदैन,’ उनले भने । दुवै देशका सुरक्षा निकाय सीमा क्षेत्रमा सक्रिय भएको अवस्थामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोकिने अपेक्षा गरिएको छ ।

सुरक्षा निगरानी कडाइ भएपछि नाका व्यवस्थित हुनुका साथै नागरिकलाई सुरक्षित र सहज आवागमन हुने विश्वास अधिकारीहरूको छ । यसभन्दा अघिदेखि नै नेपालबाट भारत प्रवेश गर्दा भारतीय प्रहरीले अनिवार्य परिचयपत्र खुल्ने कागजात हेर्दै आएको छ । यसपटक भने नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने नेपालीबाहेकका व्यक्तिको परिचयपत्र खुल्ने कागजात हेर्न थालेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार