नेपालमा माटोको गुणस्तर वर्षैपिच्छे खस्किँदै गएको तथ्य डिजिटल माटो नक्सा (डिएसएम)ले पुनः पुष्टि गरेको छ । १२ औं विश्व माटो दिवसको सन्दर्भमा सार्वजनिक भएकाले विवरणले देशभरका खेतीयोग्य जमिनमा अम्लीयता बढ्दै गएको, प्राङ्गारिक पदार्थ घट्दै गएको र आवश्यक पोषक तत्वहरूको असन्तुलन झन् गहिरिँदै गएको देखाएको छ ।
यस वर्ष ‘हेल्दी सोइल्स फर हेल्दी सिटिज्’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘स्वस्थ माटो, स्वस्थ गाउँसहर’ भन्ने नेपाली नारा तय गरिएको छ । तर माटोको वास्तविक स्थितिले नाराको महत्व झन् बढाइदिएको छ । डिएसएमका अनुसार परीक्षण गरिएका कुल माटोमध्ये ५४ प्रतिशत माटो अम्लीय प्रकृतिको पाइयो, जुन गत वर्षको ५३ प्रतिशतभन्दा अझ बढेको हो ।
पूर्वी नेपाल अम्लीय माटोका दृष्टिले सबैभन्दा प्रभावित देखिएको छ । त्यस्तै, देशभरका अधिकांश जमिनमा प्राङ्गारिक पदार्थको कमी गम्भीर रूपमै रहेको छ । यस वर्ष नेपालका माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा २.५९ प्रतिशत मात्र पाइएको छ, जुन गत वर्षको २.७७ प्रतिशतभन्दा झरेको हो । तराई क्षेत्र यो कमीका दृष्टिले अझै संवेदनशील मानिएको छ ।
नाइट्रोजन, फस्फोरस र पोटासजस्ता प्रमुख तत्वहरूमा पनि ठूलो असन्तुलन देखिएको छ । सूक्ष्म पोषक तत्वहरूको अवस्था त झन् कमजोर रहेको छ, विशेषगरी बोरोन, जिङ्क र मोलिब्डेनम अत्यन्त न्यून स्तरमा पाइएको रिपोर्टले बताउँछ । बोरोनको कमी पूर्वी नेपालमा सर्वाधिक छ भने सल्फरको अभाव मुख्यतः तराईमा देखिन्छ ।
माटोको स्वास्थ्य खस्कनुका कारणहरूलाई हेर्दा आधुनिक कृषि पद्धतिमा अपनाइएका गलत अभ्यासहरू प्रमुख कारकका रूपमा पहिचान भएको देखिन्छ । गोबर, कम्पोष्ट वा हरियो मलको न्यून प्रयोग, रासायनिक मलको असन्तुलित प्रयोग, विषादीको अत्यधिक प्रयोग, बालीचक्रको उपेक्षा तथा अवशेष जलाउने वा हटाइदिने प्रवृत्तिले माटोको संरचनामै हानि पुर्याइरहेको छ ।
सहरी क्षेत्रमा कंक्रीट र सडकले खुला माटो ढाकिँदै जाँदा माटोको पानी सोस्ने क्षमता कमजोर हुँदै गएको र प्रदूषणले गुणस्तर झन् बिगारिरहेको विज्ञहरूको भनाइ छ । कृषि यन्त्रको अत्यधिक प्रयोगले माटो कडा हुने समस्या पनि गम्भीर बन्दै गएको छ । त्यसमाथि, बाढी र भूक्षयले हरेक वर्ष करिब १.७ मिलिमिटर माथिल्लो सतह बगाएर लैजाँदा उर्वराशक्ति स्वाभाविक रूपमा घटिरहेको छ ।
माटोको बिग्रँदो अवस्थाकै बीच यस वर्ष डिसेम्बर ५ अर्थात भोलि कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, आडिइ नेपाल र नेपाल माटो विज्ञान समाजको सहकार्यमा माटो दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ । काभ्रेको मण्डनदेउपुरमा विद्यार्थी र कृषकलाई माटो नमूना संकलन तालिम, माटो परीक्षण शिविर, माटो विज्ञहरूको सहभागितामा टेलिभिजन कार्यक्रम तथा १९ गते खुमलटारमा विशेष समारोह आयोजना गरिनेछ ।
समारोहमा कार्यपत्र प्रस्तुति, ‘वेस्ट टू म्यानूर’ विषयमा छलफल तथा डिजिटल माटो नक्साका आधारमा उत्कृष्ट कृषक र माटो विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका एक पत्रकारलाई सम्मान गरिने कार्यक्रम छ । नेपाल सरकारले माटो सुधारका लागि नीति, संरचना र कार्यक्रममार्फत काम गरिरहेको भए पनि परिणाम भने अपेक्षित रूपमै देखिन सकेको छैन । राष्ट्रिय मल नीति २०५८, कृषि नीति २०६१ र २०७७ मा सुरू गरिएको डिजिटल स्वायल म्याप अभियानले माटो व्यवस्थापनमा केही संरचनागत आधार तयार गरेको छ ।
तर रासायनिक मल र विषादीको अत्यधिक प्रयोग तथा शहरी र औद्योगिक फोहोरको दवावलाई रोक्न प्रभावकारी हस्तक्षेप अझै आवश्यक रहेको विशेषज्ञहरूको निष्कर्ष छ । कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलका अनुसार माटो जीवित र संवेदनशील विषय भएकाले यसको संरक्षण आजको अत्यावश्यक छ । उनका अनुसार ग्रामीण क्षेत्रमा असन्तुलित कृषि अभ्यास र शहरी क्षेत्रमा फोहोर तथा कंक्रीटिकरणले गर्दा माटोको गुणस्तर तीव्र रूपमा बिग्रिँदै गइरहेको छ । ‘गाउँको माटोजस्तै शहरको माटो पनि मूल्यवान छ,’ उनले भने, ‘माटो संरक्षणबिना भविष्यका पुस्तालाई सुरक्षित खाद्य व्यवस्था सुनिश्चित गर्न सकिँदैन ।’
सत्यपाटी