यो वर्ष (२०८२) को माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्य तालिका छ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसका लागि गत कात्तिक १७ गते नै परीक्षा आवेदन फारम खुला गरेको थियो । परीक्षा आवेदन दिने अन्तिम समय यही मंसिर १६ गतेसम्म छ । २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ । जसका कारण निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने देखिएको छ । ‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
भदौ २७ मा अन्तरिम सरकार गठन भएपछि ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको थियो । सोहीअनुसार फागुन २१ गते निर्वाचन तोकिएको छ । यही निर्वाचनका लागि सरकार यतिखेर लागिरहेको छ । प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै आवश्यक तयारी भइरहेको बताउँदै आएकी छिन् । त्यसो त तोकिएको समयमा निर्वाचन भएमा यो वर्षको एसइई परीक्षा भने के होला भन्ने जिज्ञासा परीक्षार्थी र अभिभावकमा बढेको छ ।
के भन्छ परीक्षा बोर्ड ?
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने जनाएको छ । परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक तारानाथ निरौलाले तोकिएको समयमा निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने अहिले नै आशंका गरिएको जानकारी दिए । उनका अनुसार तोकिएकै समयमा प्रतिनिधिसभा निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने देखिएको छ, किनभने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नै मतपत्र र एसइई प्रश्नपत्र छाप्ने हो, यो छपाइमा सुरक्षा हिसाबले पनि समस्या हुने आशंका छ ।
उनले भने, ‘यदि जनक शिक्षाले प्रश्नपत्र र मतपत्र छाप्न सक्छौँ भनेर प्रश्नपत्र अगाडि छापे पनि सुरक्षित ढंगले राख्ने स्टोर परीक्षा बोर्डसँग छैन ।’ त्यसैगरी निर्वाचन भएमा समयमा एसइई प्रश्नपत्र जिल्ला जिल्लामा पुर्याएर सुरक्षित राख्न पनि समस्या देखिने उनले बताए । ‘अब प्रश्नपत्र छापेर जिल्लामा पठाउनुपर्छ, जिल्लालाई पनि प्रश्नपत्रसँगै मतपत्र पनि सुरक्षित राख्ने जिम्मेवारी हुन्छ, कसरी सुरक्षित राख्ने भन्ने चुनौती छ,’ उनले भने ।
उनका अनुसार अब जनशक्तिको हिसाबले पनि मिलाउन समस्या देखिन्छ, स्कुल नै परीक्षाकेन्द्र तोकिएको हुन्छ, शिक्षकहरू चुनावमा खटिन्छन् । उनी भन्छन्, ‘कुनै ठाउँमा फेरि मतगणना दोहोर्याउनुपर्ने इत्यादि समस्या आउला, यी सबै दृष्टिकोणले हेर्दा समस्या हुने आशंका गरेका छौँ ।’ यद्यपि हालसम्म भने परीक्षा सार्ने लगायतमा केही निर्णय नगरिएको उनले जानकारी दिए । फागुन पहिलो हप्तामै परीक्षा सञ्चालन गर्ने तयारीका साथ बोर्ड लागिरहेको उनको भनाइ छ ।
‘एसइई परीक्षा चैत पहिलो हप्ता सञ्चालन गर्ने कार्यतालिका छ तर फागुन २१ मा निर्वाचन हुन्छ भन्ने अझै निश्चित देखिएको छैन । त्यसैले हालसम्मको अवस्थामा तोकिएकै समयमा एसइई परीक्षा हुन्छ, त्यही अनुसार तयारी गरिरहेका छौँ । यदि फेरि तोकिएकै समयमा निर्वाचन हुने भयो भने चाहिँ गृह सचिव, प्रमुख जिल्ला अधिकारीसहितको समिति छ, उक्त समितिले बैठक बसी एसइई परीक्षाबारे निर्णय गर्नेछ,’ उनले भने ।
गत वर्ष ६१ भन्दा बढी प्रतिशत विद्यार्थी पास
गत वर्ष (२०८१) सालको एसइई परीक्षा भने गत चैत ७ गतेबाट शुरु भएर १४ गते सकिएको थियो । उक्त परीक्षा नतिजा गत असारमा प्रकाशित भयो । ६१.८१ प्रतिशत विद्यार्थी पास भए । ०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका थिए ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जिपिए ल्याउने आठजना परीक्षार्थी रहेका थिए । एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भएका थिए । परीक्षाका लागि देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो ।
सत्यपाटी