कुनै बेला ‘म त मर्छु कि क्या हो’ भन्दै हास्य टेलीसिरिय ‘मेरी बास्सै’बाट दर्शकस्रोता हँसाइरहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अहिले ‘मलाई यहि मार्दिनुस्’ भन्ने अवस्थामा पुगेका छन् । २०७५ सालमा धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान त्यो बेला राष्ट्रिय उत्साहको विषय बनेको थियो ।
देशभरका नागरिकले खुलेर आर्थिक सहयोग गरेपछि रङ्गशाला छिट्टै बन्ने अपेक्षा गरिएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसन, भरतपुर महानगरपालिका र सरकारको साझेदारीमा रंगशालाको काम अघि बढेको थियो । तर, परियोजना अघि बढ्दै जाँदा आर्थिक समस्या, सरकारी नीतिगत ढिलासुस्तीले काम रोकिन पुग्यो । २०७८ साल साउनमा रङ्गशाला निर्माण अधुरै अवस्थामा रोकियो ।
कोभिड र आर्थिक अभावले रंगशालाको काम रोकिएको दाबी गर्दै आफू पछि सरेको धुर्मुसले सार्वजनिक रूपमै बताउँदै आएका छन् । अधुरो रङ्गशाला निर्माण सक्काउने जिम्मा सरकारले लिएको दुई वर्ष बितिसक्दा पनि परियोजना भने अहिले अगाडि बढ्न सकेको छैन । ऋण र कागजी प्रक्रियाको जटिलता तथा राजनीतिक अस्थिरताले रंगशालाले पुनर्जीवन पाउन नसकेको धुर्मुसको गुनासो छ ।
फाउन्डेसनले आपूर्तिकर्तालाई तिर्न बाँकी करिब १८ करोड रुपैयाँ नतिरिँदा धुर्मुस लगातार सरकारी कार्यालय धाउन बाध्य भएका हुन् । धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशालामा करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्याङ्कन रिपोर्ट तयार भएको छ । यतिबेला धुर्मुसको स्वास्थ्य अवस्था कमजोर भएको खबर बाहिर आएपछि मुद्दा झन् संवेदनशील बनेको छ ।
लामो समयदेखिको मानसिक तनाव, आर्थिक बोझ र सार्वजनिक आलोचनाले थिचिएको भन्दै उनी उपचारमा रहेको समाचार सार्वजनिक भएको थियो । कलाकार मनोज गजुरेल, हिमेश पन्त लगायतले सामाजिक सञ्जालमार्फत धुर्मुसप्रति सहानुभूति व्यक्त गर्दै राज्य र समाजले समयमै साथ नदिँदा समर्पित व्यक्तिहरू निराश हुन बाध्य भएको टिप्पणी गरेका छन् ।
यसैबीच, रंगशालासँग सम्बन्धित आर्थिक पारदर्शिता र फाउन्डेशनको निर्णय–क्षमताबारे प्रश्न उठ्ने क्रम पनि रोकिएको छैन । नेपाल क्रिकेट संघ (क्यान)मा आबद्ध अनिल अधिकारीले एक पोडकास्टमार्फत धुर्मुस–सुन्तलीले रङ्गशाला निर्माणकै क्रममा अस्वाभाविक सम्पत्ति जोडेको दाबी गरेका छन् ।

धुर्मुस–सुन्तलीको घर–जग्गादेखि विदेश भ्रमणसम्मका गतिविधि उनले विवादित रूपमा व्याख्या गरे पनि यी दाबीहरूको स्वतन्त्र प्रमाण भने उपलब्ध छैन । यद्यपि, यसले परियोजनाको वित्तीय व्यवस्थापनबारे उठेको शङ्का थप गहिरिएको सङ्केत गर्छ । जनताको भावनालाई आधार बनाएर सुरु गरिएको अभियान र निजी व्यवहारबीच देखिएको फरकले परियोजनाको विश्वसनीयता कमजोर बताउनेहरू पनि छन् ।
यो परियोजनाबारे सरकारी पक्ष पनि विवादबाट जोगिन सकेको छैन । केन्द्र र स्थानीय तहबीचको समन्वयहीनता, सुस्त निर्णय प्रक्रिया र कागजी अपूर्णताका कारण करिब १२ करोड रकम फिर्ता हुनुपरेको घटनाले सरकारी कमजोरी स्पष्ट देखिएको छ । जस कारण, नत सरकार परियोजनालाई गति दिन सक्षम भयो, न धुर्मुस आफ्ना मानसिक तथा आर्थिक समस्याबाट मुक्त हुन सके ।
रङ्गशाला निर्माण गर्दा व्यहोर्नुपरेको १८ करोड ४३ लाख रुपैयाँको आर्थिक दायित्व आफ्नो थाप्लोबाट हटाउन नसक्दा धुर्मुस थकितमात्रै छैनन्, लगभग विक्षिप्त अवस्थामै पुगिसकेका छन् । महायज्ञमा बोलकबोल रकम उठ्ने र सरकारबाट पनि सहयोग हुने विश्वासमा काम थप्दा उधारो रहन गएको उनी बताउँछन् ।
सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनले गरेको कामको ऋण र उधारो तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्याङ्कनको काम अगाडि बढाउने घोषणा बजेटमार्फत गरेको थियो । यस घटनाले नेपालमा नागरिक पहल, सेलिब्रिटी–सञ्चालित फाउन्डेसन, सरकारी अनुमति प्रक्रिया र आर्थिक पारदर्शिताबारे महत्वपूर्ण प्रश्न उठाएको छ ।
ठूलो संरचना निजी पहलमा बनाउन खोज्दा कस्ता चुनौती आउँछन्, जिम्मेवारी कसरी बाँडिन्छ, नियमन र सहयोगको सन्तुलन कसरी मिलाइन्छ भन्ने बहस झन् तीब्र बन्दै गएको छ। धुर्मुसको उत्थान–पतन, उनको संघर्ष र उनीमाथि लागेका आरोपले नेपाली समाजमा ‘सेलिब्रिटी नेतृत्वका राष्ट्रिय अभियान’ कति सम्भावनायुक्त र कति जोखिमपूर्ण हुन सक्छन् भन्ने विषय फेरि एक पटक चर्चामा ल्याइदिएको छ ।
विगतमा धुर्मुस सुन्तलीले गरेको समाज सेवा सम्मान योग्य नै थियो र छ । तर राज्यको काम गर्छौँ भन्ने महत्त्वाकाङ्क्षा, वित्तीय व्यवस्थापन बिनाको योजना भने घाटीभन्दा ठुलो हाड निल्नु जस्तै हुन पुगेको छ । धुर्मुसले यसअघि पनि दाताहरूको सहयोगमा कयौँ समाज सेवाका काम गरेका छन् । रंगशालाको यो कन्तविजोग हेर्दा चन्दाको भरोसामा ‘देश बनाउन’ खोज्दा धुर्मुस डुबेका हुन् ।
