बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आइसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो ।
न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त मुद्दामा फैसला सुनाएको हो । उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको थियो ।
अदालतले तीनै जनालाई कसुरदार मानेको छ । प्रदर्शन दबाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएकोसमेत इजलासले ठहर गरेको छ ।
न्यायाधिकरण अदालतले मानवताविरुद्धको अपराधको मुद्दामा प्रस्तुत सबै प्रमाण ‘वास्तविक देखिने’ भनेको छ । समाचार संस्था रोयटर्सका अनुसार, सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । बंगलादेशमा गतवर्ष विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा हिंसात्मक दमन गराएको उनीमाथि आरोप थियो ।
उनीमाथि विद्यार्थी आन्दोलनका क्रममा ढाकामा ठूलो संख्यामा प्रदर्शनकारीको सामूहिक हत्या गराएको, भीडमाथि गोली चलाउन हेलिकोप्टर र ड्रोनको प्रयोग गर्न आदेश दिएको, एक विद्यार्थी कार्यकर्ताको हत्या गरेको, प्रमाण नष्ट गर्ने उद्देश्यले शवहरू जलाएको वा नष्ट गरेको जस्ता मानवताविरुद्धको अपराधको आरोप लगाइएको थियो ।
उक्त आन्दोलनमा करिब एक हजार ४०० मानिस मारिएका थिए । अदालतले प्रमाणका रूपमा प्रस्तुत भिडियो, तस्वीर र अडियोहरूलाई परिवर्तन नगरिएको वा एआईद्वारा नबनाइएको स्पष्ट पारेको छ । अदालतले यस क्रममा ५४ जनाको बयानलाई आधार मानिएको पनि प्रष्ट पारेको छ । हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता (हाई अलर्ट) घोषणा गरेको छ ।
ढाकामा १५ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । ७८ वर्षीया हसिनामाथि पाँच आरोप लगाइएको थियो । हसिना अदालतको यो सुनुवाइ प्रक्रियामा सामेल भइनन् । उनी हाल भारतमा छिन् ।
