२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

एकीकृत समाजवादी पुनःगठन अभियानले के गर्‍यो निर्णय ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ३० गते आइतबार

नेकपा एकीकृत समाजवादी पुनःगठन अभियान केन्द्रीय कमिटी बैठकले संगठन विस्तार र राजनीतिक घोषणापत्रका बारेमा छलफल गरेको छ । संयोजक घनश्याम भुसालको अध्यक्षतामा शनिबार बसेको बैठकले संगठन विस्तारदेखि राजनीतिक घोषणापत्र सम्बन्धी तयारी लगायतका विषयमा छलफल गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार बैठकमा प्रस्तुत राजनीतिक घोषणापत्र र विधानका प्रारम्भिक खाकाबारे विस्तृत छलफल भएको थियो । छलफलमा उठेका बुँदाहरू समेटेर संयोजकले आगामी बैठकमा राजनीतिक घोषणा पत्र तथा विधानको मस्यौदा पुनः प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ । पुनःगठन अभियानमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला तथा स्थानीय कमिटीहरूलाई सकेसम्म चाँडो व्यवस्थित तथा विस्तार गर्ने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख अर्यालका अनुसार मंसिर पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने तयारीमा रहेको अभियानले कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि छलफल गर्न नेकपा एकीकृत समाजवादी पुनःगठन अभियान संयोजक भुसाललाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

यस्ता छन् निर्णयहरु :

१) पार्टीको राजनीतिक घोषणापत्र र विधानका सन्दर्भमा ब्यापक छलफल गरियो । छलफलमा उठेका बुँदाहरुलाई समेटेर क.संयोजकले अर्को बैठकमा राजनैतिक घोषणा पत्र र विधानको मस्यौदा छलफलका लागि प्रस्तुत गर्ने निर्णय भयो ।

२) पुनःगठन अभियानमा सामेल हुने नेकपा एकीकृत समाजवादीका जिल्ला तथा स्थानीय कमिटीहरुलाई सकेसम्म छिटो व्यवस्थित र विस्तार गर्ने निर्णय गरियो ।

३) यही मंसिरमा राष्ट्रिय भेलाको आयोजना गर्ने र त्यसको मिति तय अर्को बैठकमा गर्ने निर्णय भयो ।

४) भ्रष्टाचार तथा अन्य फौजदारी अभियोग लागेका, सामाजिकरूपले बदनाम तथा अराजनीतिक व्यक्तिहरूबाट पार्टीलाई सुरक्षित राख्न अहिलेदेखि नै विशेष ध्यान दिने निर्णय गरियो ।

५) कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरुसंग सहकार्यका लागि छलफल गर्न क. संयोजकलाई जिम्मा दिने निर्णय गरियो ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार