२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

मासिँदै हात्तीको परम्परागत बसाइँसराइ बाटो (तस्वीर कथा)

सत्यपाटी
सत्यपाटी । बर्दिया । २०८२ कात्तिक ३० गते आइतबार

नेपाल र भारतबीच रहेको खुला सीमा दुई देशका जनताले मात्रै होइन वन्यजन्तुले पनि उपयोग गर्छन् । नेपालको तराई भूभागका जंगल क्षेत्र भारतका जंगल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरूको आवगमन पनि हुने गरेको छ । पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जंगली हात्तीको परम्परागत बसाइँ सर्ने बाटो रहेको छ । जहाँ हरेक वर्ष कयौँ जंगली हात्ती बसाइँसराई गरी नेपाल र भारत आवतजावत गर्छन् ।

मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जंगली हात्तीको परम्परागत बाटो मासिएको छ । यसले मानिससँग उनीहरूको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र वर्षाको पानीबाट बच्न यी हात्तीहरू बसाइँ सर्ने गर्छन् । प्रत्येक वर्ष बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरू थपिँदै छन् । यसले हात्ती र मानिसहरूबीच द्वन्द्व बढ्दो देखिन्छ । हात्तीको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरैजसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले ‘बढीगार्ड’को काम गर्छ ।

हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ । उनीहरूलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ । हात्तीलाई उनीहरूको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तु विचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । तर, हाम्रो बाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरूको बाटोमा परेको छ । हाम्रा पूर्वाधारहरू पनि वन्यजन्तु मैत्री छैनन् । जसले गर्दा द्वन्द्व न्यूनीकरणमा समस्या देखिन्छ ।

तस्वीरहरू : दृष्टान्त विडारी । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार