२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

नेपाल प्रहरी आजदेखि नवनियुक्त आइजीपी कार्कीको कमाण्डमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २७ गते बिहीबार

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले आजदेखि कमाण्ड सम्हाल्दैछन् । ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएसँगै कार्की नेतृत्वमा आएका हुन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो ।

उनलाई आज बिहान ११ बजे गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले दज्र्यानी चिन्ह प्रदान गर्नेछन् । त्यसलगत्तै दिउँसो प्रहरी हेडक्र्वाटर नक्साल पुुगेर पदभार गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । ३३ औँ महानिरीक्षकमा कार्कीले २०८४ चैत १७ सम्म अर्थात् प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

खापुङको भने हिजो नै बिदाइ भइसकेको छ । भदौ १९ गतेपछि ६९ दिन नेतृत्वमा बसेका खापुङमाथि जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरेको कलंकको टीका लागेको छ । उनी स्वयंले राजनीतिक नेतृत्वले गोली चलाउन आदेश नदिने भन्दै भदौ २३ गते संसद भवन कब्जा गर्न प्रदर्शनकारी गएपछि गोली चलाएको बताइरहेका छन् ।

त्यसक्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीमाथि कारबाहीको तयारीपछि उनले प्रहरी संगठन र कर्मचारीको बचाउ गर्नुलाई संगठनप्रतिको निष्ठाका रुपमा हेर्नेहरु पनि छन् । यता जेनजी आन्दोलनपछि सरकारमाथि परेको दबाब र शान्ति सुरक्षा व्यवस्थापन गरी प्रहरी संगठनलाई उच्च मनोवलका साथ निर्वाचन सुरक्षा केन्द्रित बनाउनुपर्ने दायित्व नवनियुक्त महानिरीक्षक कार्कीमा छ ।

कार्की २०८० मा एआइजी डाक्टर मनोज केसीले सुरु गरेको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेर काम गरेको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार