चिकित्सकहरूका अनुसार नेपालमा अझै १७ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको बहिरोपन (कान नसुन्ने) समस्या छ । बहिरोपन जन्मजात वा पछि कानको संक्रमण भएर, विभिन्न चोटपटकका कारण हुन्छ । बढ्दो ध्वनि प्रदूषण, एयर फोनको अत्यधिक प्रयोग, जनचेतनाको कमी र सहज उपचार सेवा नहुँदा बहिरोपन सम्बन्धी समस्या बढ्दै गएको छ ।
समयमै उपचार गर्नसके बहिरोपन सम्बन्धी ६० प्रतिशत समस्या हल गर्न सकिन्छ । तर, बहिरोपनको रोकथाम र नियन्त्रणमा सरकारको लगानी, जनशक्ति विस्तार र उपचार सेवा अझै प्राथमिकतामा पर्न सकेको छैन । तर, एक बेलायती चिकित्सक ३५ वर्षदेखि नेपालीकै कान उपचारमा समर्पित छन् ।
सन् १९८७ मा ३८ वर्षको उमेरमा बेलायतबाट पहिलोपटक नेपाल आएका थिए, निल वेयर । एक सातासम्म पोखरामा रमाइलो गरेका उनी फर्कने क्रममा नेपालमा कान रोग र यसको उपचारको अवस्थाबारे बुझ्न काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नाक, कान, घाँटी (ईएनटी) विभाग पुगे । निल स्वयं ईएनटीका शल्यचिकित्सक थिए ।
शिक्षण अस्पतालमा निलको भेट आफूजस्तै ईएनटी सर्जन डा. राकेश प्रसादसँग भयो । राकेशले उनका बुवा वरिष्ठ ईएनटी सर्जन एलएन प्रसादसँग भेट गराए । डा. एलएन राजा वीरेन्द्रका कानका चिकित्सक थिए । सन् १९९१ लाई संसारभर अपांगता वर्षका रूपमा मनाउने तयारी भइरहेको थियो । त्यसैका लागि समेत भनेर डा.राकेशसहितको चिकित्सक टोलीले नेपालमा अपांगतासम्बन्धी सर्वेक्षण गरेको थियो ।

डा.निल
सर्वेक्षणले नेपालमा सबैभन्दा बढी अपांगतासम्बन्धी समस्या श्रवण क्षति रहेको देखाएको थियो । राकेशले यही तथ्य सुनाउँदै कान रोगको प्रभावकारी उपचारका लागि आवश्यक जनशक्ति र उपकरण जुटाउन सहयोग गर्न आग्रह गरे । अर्को वर्ष नेपाल आएका निलसँग गोसाइँकुण्ड पदयात्रासँगै परोपकारी संस्थामार्फत हरेक वर्ष नेपालमा कम्तीमा दुईपटक कान रोग शिविर सञ्चालन गर्ने र स्वास्थ्यकर्मीलाई उपचार सम्बन्धी तालिम दिने योजना पनि थियो ।
सन् १९८८ मा निलले आफैँ संस्थापक निर्देशक बनेर ब्रिटिस नेपाल अन्टोलोजी सर्भिस (ब्रिनोस)संस्था स्थापना गरे । त्यसको दुई वर्षपछि सन् १९९० देखि उनको नेतृत्वको टोलीले ब्रिनोस कान स्वास्थ्य स्याहार केन्द्रमार्फत नेपालमा स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ । सन् १९९० को दशकमा निलले देशका धेरै ठाउँमा शिविर चलाए ।
तर, देशका अन्य क्षेत्रको तुलनामा पश्चिममा यो समस्या बढी देखिएकाले उनी नेपालगन्जलाई केन्द्र बनाएर शिविर सञ्चालन गरिरहेका छन् । शिविरहरूबाट मात्रै नेपालमा कान रोगको सहज र गुणस्तरीय उपचार सम्भव नभएपछि निलले नेपालगन्जमा ब्रिनोस कान स्वास्थ्य स्याहार केन्द्र स्थापनाको सोच बनाए ।
त्यसका लागि निलले पहिले त आफ्नै साथीसँग रकम संकलन गरे । रकम अपुग भएपछि बेलायतस्थित आफ्नो एउटा घरसमेत बेचे । अनि थप रकम जुटाएर ६ करोडको लागतमा नेपालगन्जको फुलटेक्रामा ब्रिनोस कान स्वास्थ्य स्याहार केन्द्र स्थापना गरेका छन् । सन् २०१६ देखि सञ्चालनमा आएको ब्रिनोस केन्द्रमा दैनिक करिब १०० बिरामीले उपचार सेवा पाइरहेका छन् ।

कालिकोट जिल्ला अस्पतालमा निःशुल्क कान शल्यक्रिया शिविरपछि टोलीसँग डा.निल ।
शिविरका लागि हरेक वर्ष डा.निल आफैँ ईएनटी सर्जनसहित आठदश जनाको टोली लिएर नेपाल आउँछन् । यी चिकित्सक आफ्नै खर्चमा शिविरमा आउने गरेका छन् । निलसँगै उनकी चिकित्सक श्रीमती सु वेयर पनि ४५ पटकभन्दा बढी नेपाल आइसकेकी छन् । निलकै सहयोगमा यसै वर्षदेखि नेपालगन्जको गणेशमान चोकमा १० बेड क्षमताको अत्याधुनिक बीएन अस्पताल पनि सञ्चालनमा छ ।
अस्पतालमा १०० रुपैयाँ शुल्क तिरेर बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउँछन् । निलको चाहना कान उपचार सेवा हेल्थ पोस्ट तहमै पुगोस् भन्ने छ । त्यसका लागि बाँके, बर्दिया, सुर्खेत लगायत पश्चिम नेपालका हेल्थ पोस्ट तहका स्वास्थ्यकर्मीलाई तालिम दिइरहेका छन् । अस्पतालमा पश्चिम नेपालका अतिरिक्त २०–२२ जिल्लासहित छिमेकी भारतका बिरामी पनि आउने गरेका छन् ।
२२ कात्तिकमा नेपालगन्जको गणेशमान चोकस्थित बीएन अस्पतालमा जारी शिविर ब्रिनोसको ७०औँ शिविर हो । योसँगै शिविरमा अहिलेसम्म नौ हजारभन्दा बढीको कानको शल्यक्रिया भइसकेको निलका सहयोगी वरिष्ठ कान स्वास्थ्य प्राविधिक रामबहादुर बोहराले बताए । ८२ वर्षको वृद्ध उमेरमा पनि उनी नेपालीको कान रोगको उपचारमा समर्पित छन् । निल आफैँ शल्यक्रिया कक्षमा बसेर अन्य चिकित्सकलाई सल्लाह र हौसला दिन्छन् ।

शल्यक्रिया गरिरहेका डा.निल
निल र उनको टोलीसँग काम गर्न पाउँदा नेपाली ईएनटी सर्जनहरूले पनि धेरै कुरा सिक्ने अवसर पाएका छन् । एक वर्षअघि वैशाख २०८१ मा ८१ वर्षका निल स्वास्थ्यशिविरकै लागि कठिन सडक मार्ग हुँदै कर्णाली प्रदेशको दुर्गम पहाडी जिल्ला कालीकोट पुगेका थिए । त्यहाँ निलसँग भेरी अस्पताल नेपालगन्जका ईएनटी सर्जन डा.कपिल शाहीको भेट भयो । ‘त्यहाँ बिरामीहरूप्रति उनको समर्पण देखेर म त चकितै भएँ,’ शाही भन्छन् ।
तीन दशकभन्दा लामो समय नेपाली कानको सेवामा रहेका डा.निल कान नसुन्ने समस्याका कारण अनेकौँ सास्ती खेप्न विवश नेपाली अहिले पनि स्वास्थ्य समस्या भन्न लाज मान्ने बताउँछन् । ‘कान रोग सम्बन्धी समस्या भएका करिब १० प्रतिशत बिरामीको मात्रै शल्यक्रिया आवश्यक पर्छ । वृद्ध व्यक्तिहरूलाई श्रवण सहायता आवश्यक पर्छ । बीएन अस्पतालमा उच्च गुणस्तरका श्रवण उपकरण उपलब्ध छन्,’ उनी भन्छन् ।
अहिले पनि बेलायतको रोयल सरे काउन्टी हस्पिटल कन्सल्ट्यान्ट सर्जन निलको उबेलै राजा वीरेन्द्रले प्रशंसा गरेका थिए । नेपालमा गरेको सेवाकै कारण बेलायत सरकारले तीन वर्षअघि उनलाई अफिसर अफ दी अर्डर अफ दी ब्रिटिस एम्पायर (ओबीई) सम्मान दिएको थियो ।
सत्यपाटी