२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

सत्यपाटीसत्यपाटी । गण्डकी । २०८२ कात्तिक २४ गते सोमबार

आँखै अगाडि चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनजंगल एवं ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ्रेको काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा पर्दछ ।

प्रकृतिकसँगै ऐतिहासिक महत्वको यो गाउँ नेपालका वाइसे चौवीसे राजका पालादेखि अस्तित्वमा रहेको बताइन्छ । गाउँ माथिको कोत (कोट) मा तत्कालीन समयमा राजाहरूको दरबार रहेको र यही कोटको नामबाट गाउँको नाम हेम्जाकोट रहेको हुनसक्ने सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार गाउँकै अर्कोतर्फ टाकुरामा जङ्गलको बीचमा अर्को जयकोट नाम गरेको कोट छ । यस कोटमा पनि बलिपूजा गर्ने प्रचलन छ । जय कोटमा दिइएको बलीको प्रसाद महिलाले खान नहुने तथा घरमा पनि लैजान नहुने विश्वास गरिन्छ । धार्मिक एवं ऐतिहासिक रुपमा चर्चा कर्माएको यो क्षेत्र प्राकृतिकरूपमा उत्तिकै मोहक छ ।

यहाँको प्राकृतिक सौन्दर्य एवं ऐतिहासिकतालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ २०६२ सालदेखि घरवास सञ्चालन गरिएको छ । सुरुमा आफूले एउटा घरबाट घरवास कार्यक्रम शुरु गरेको अनुभव सुनाउँदै गुरुङले त्यसयता यहाँका १६ वटासम्म घरमा घरवास सञ्चालन भएको जानकारी दिए ।

‘यहाँ कोभिड अघिसम्म १६ वटा घरमा घरवास सञ्चालन भएकोमा त्यस पछि भने १२ वटा घरमा मात्रै घरवास सञ्चालनमा छ,’ उनले भने, ‘पहिला पर्यटन बोर्डमा घरवास दर्ता भएकामा अहिले माछापुच्छ्रे गाउँपालिकामा दर्ता गरिएको छ ।’ आउने पर्यटकलाई राम्रो आतिथ्यता प्रदान गर्दै आएका यहाँका स्थानीयले पर्यटकका लागि खाजा, बेलुकाको खाना, बास र बिहनाको नास्तासहित एक हजार २०० रुपैयाँको प्याकेज निर्धारण गगरेका छन् ।

पोखरा महानगरपालिका–१ को सिमपानीदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे गाउँपालिकाको धितालबाट तीन किलोमिटर अगाडि हेम्जाकोट गाउँ छ । पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ । ५० घर रहेको बस्तीका एक हजार २८० जनासम्म पाहुना अटाउने गरी व्यवस्था गरिएको छ ।

यो सामुदायिक होमस्टे विसं २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो । यहाँबाट माछापुच्छ्रेसहित अन्नपूर्ण, लमजुङ लगायत हिमालका साथै छिमेकी गाउँ ल्वाङको चियाबारी आदि एकसाथ अवलोकन गर्न सकिन्छ । यो गाउँ ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्ने भएकाले पर्यटकीय मौसममा स्वदेशी एवम् विदेशी पर्यटकको भीड लाग्ने गर्दछ ।

रमणीय गाउँ भए पनि यहाँ अझै अपेक्षित पर्यटकको आगमन बढाउन नसकिएको अर्का घरवास सञ्चालक पूर्ण गुरुङले बताए । ‘हेम्जा मेलबोटबाट सुरु हुने माछापुच्छ्रे मोडेल ट्रेक त्यहाँबाट अस्ताम, धिताल, हेम्जाकोट, धम्पुस, अष्ट्रेलिया क्याम्प, पोथना, पितम देउराली, लान्द्रुक, छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुग्छ,’ उनले भने ।

शान्त र मनोरम गाउँले परिवेश, गुरुङ मौलिक संस्कृतिसँगै हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता रहेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ बताउँछन् । पछिल्लो समयमा हेम्जाकोटमा विभिन्न म्युजिक भिडियो तथा चलचित्र छायाङ्कन गर्ने स्थलका रूपमा पनि रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार