नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले अवकाश पाउने दिन नजिकिदै जाँदा नयाँ आइजीपीको खोजी शुरु भएको छ । ३० वर्षे सेवा अवधि पूरा गर्दै खापुङ अवकाशमा जान लागेका हुन् । उनी नेतृत्वमा रहँदा भदौ २३ को जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भयो ।
त्यसको भोलिपल्ट सरकारी हत्याको विरोधमा आन्दोलन भएपछि कारागारबाट कैदी फरार भएका छन् । हतियार लुटिएका छन् । यसले सुरक्षा चुनौती बढेको छ । अबको नयाँ आइजीपीको काँधमा सुरक्षा व्यवस्थालाई लयमा फर्काउनुपर्ने महत्त्वपूर्ण चुनौती छ । प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीबीच प्रतिस्पर्धा तीव्र बनेको छ ।
आइजीपी बन्ने दौडमा एआइजी दानबहादुर कार्की, डा.मनोजकुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह रहेका छन् । कार्की, केसी र अधिकारी २०८२ वैशाखमा आइजीपी खापुङसँगै एआईजीमा बढुवा भएका थिए शाह भने २०८२ जेठ १५ गते बढुवा भए । वरीयता सूची अनुसार कार्की पहिलो, अधिकारी दोस्रो, डा.केसी तेस्रो र शाह चौथो नम्बरमा छन् ।
डा.केसी उपत्यका प्रहरी प्रमुख रहँदा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएको थियो । ज्येष्ठता, कार्य क्षमता, नेतृत्व गर्ने क्षमता लगायतका आधार विद्यमान ऐन कानूनमा निर्दिष्ट गरेको छ । ज्येष्ठतालाई अवमूल्यन गर्न नहुने प्रहरी अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीलाई शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण अनुसन्धानको प्रचलित कानुन अनुसारको जिम्मा दिइएको छ ।
विभिन्न प्रहरी युनिट तथा जनशक्तिमार्फत जिम्मेवारी कार्यान्वयन गराउने जिम्मेवारी आइजीपीको हुने गर्छ । यी सबै जिम्मेवारीलाई वहन गर्न सक्ने खालको महानिरीक्षक आउनुपर्ने पूर्व एआइजी उत्तम सुवेदी बताउँछन् । पछिल्लो समय जेनजी आन्दोलनपछि सुरक्षा चुनौती थप बढेको छ । एकातिर प्रहरीको मनोबल खस्किएको छ भने प्रहरीको स्रोत साधनदेखि दिएर भौतिक संरचनामा क्षति पुगेको छ ।
अर्का पूर्व आइजीपी वसन्तबहादुर कुँवर अहिले दाबेदारमा देखिएका सबै बराबर क्षमतावान् रहेको बताउँछन् । व्यावसायिकता, डिप्लोमेसी, सबैसँग समन्वय गर्ने खालको क्षमता सबै कुरा चाहियो, जुन प्रहरी नियमावलीमा मापदण्ड निर्धारण गरिएको छ । त्यसैअनुसार नयाँ आइजीपी नियुक्ति हुनुपर्ने उनले बताए । अर्का पूर्व आइजीपी अच्युतकृष्ण खरेल पनि अबको नयाँ प्रहरी महानिरीक्षक इमान्दार र व्यावसायिक आउनुपर्ने बताउँछन् ।
