खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत मंगलबारदेखि विभिन्न ठाउँबाट धान खरिद गरिरहेको छ । कम्पनीले सरकारले चालु आर्थिक वर्षको लागि तोकेको न्यूनतम समर्थन मूल्यमा देशभरका १३ वटा स्थानबाट धान खरिद गर्दैछ । यो वर्ष एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लाहान, जनकपुर, विराटनगर, बिर्तामोडबाट खरिद केन्द्रहरू सञ्चालन गरी धान खरिद गरिँदैछ । खाद्य कम्पनीको खरिद विभागका प्रमुख अनन्त राज पौडेलका अनुसार महेन्द्रनगर, धनगढी, राजापुरबाट धान खरिद सुरु गरिएको छ ।
यसअघि कम्पनीले लक्ष्य अनुसारको धान खरिद गर्न नसकेको अवस्थामा योपटक भने लक्ष्य पूरा हुने विश्वास लिएको छ । उनका अनुसार हिजो (बिहीवार) सम्म १२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरिएको छ । धनगढीमा एक हजार २०० क्विन्टल, महेन्द्रनगरमा एक हजार २०० क्विन्टल र राजापुरबाट एक हजार ६०० क्विन्टल धान खरिद भइसकेको उनले बताए ।
यसअघि व्यापारी एवं उद्योगीहरूले सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी दिने हुँदा किसानले सरकारलाई धान बेच्न नचाहेको देखिएको थियो । तथापि कम्पनीले किन्न ढिलाइ गर्दा केही ठाउँका किसानले भने कम मूल्यमै पनि बजार लगेर धान बेच्नु परेको गुनासो गरेका छन् ।
‘बजार मूल्यले निर्धारण गर्ने कुरा भयो, समर्थन मूल्य अघिल्लो वर्ष पनि राम्रै थियो तर गतवर्ष भारतबाट चामल आयातमा कोटा प्रणाली (आंशिक प्रतिबन्ध जस्तो) थियो, त्यसले गर्दा यहाँ धानको मूल्य उच्च भयो, जसले गर्दा बजारमै राम्रो रेट पाउनुभयो र हाम्रोमा बिक्री गर्न आउनुभएन,’ खरिद विभाग प्रमुख पौडेलले भने ।
यो वर्ष भने भारतबाट चामल आयातमा कुनै बन्देज नभएको र सरकारले तोकेको समर्थन मूल्य पनि बजारको भन्दा झण्डै ८०० देखि १००० रुपैयाँ बढी रहेकाले खरिद लक्ष्य नाघ्न सक्ने अनुमान गरिएको उनको भनाइ छ । विभाग प्रमुख पौडेलका अनुसार नेपालगन्जमा निर्धारण गरिएको (२०–२५ हजार) कोटा राखिएको छ ।
‘तर त्यहाँ टोकन बाँडेर धान खरिद सुरु हुनुअघि नै सकिने अवस्थामा पुगिसकेको छ । अहिले लक्ष्यले पनि नपुग्ने अवस्था हुनसक्छ,’ पौडेलले भने, ‘हामीले अहिले ८०–९० प्रतिशत कोटा फिल्डमा पठाइसकेका छौं, आवश्यकताअनुसार अलि अलि थप्ने ठाउँ छ ।’
त्योभन्दा पनि बढी थप्नुपर्ने आवश्यकता देखिए बजेटका लागि सरकारसँग माग गर्नुपर्ने उनले बताए । खरिद गर्नुपर्ने धान धेरै हुनसक्ने अनुमानका सन्दर्भमा मन्त्रालयमा जानकारी गराइएको भन्दै पौडेलले आवश्यक गृहकार्य भइरहेको जानकारी गराए ।
सरकारले यस बर्ष तोकेको वर्षे धानको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धान तीन हजार ६८८.३३ रुपैयाँ प्रतिक्विन्टल रहेको छ । गत वर्ष मोटा धान प्रतिक्विन्टल तीन हजार ४१०.५१ रुपैयाँ र मध्यम धान तीन हजार ५८०.६२ रुपैयाँ थियो ।
सत्यपाटी