सल्यानमा कुकुरले मानिस तथा अन्य जनावरलाई टोकेर घाइते बनाएसँगै समुदायमा त्रास फैलिएको छ । तर पशुमा रेबिज रोग रोकथामका लागि दिइने खोपको अभाव देखिएको छ । जिल्लाको शारदा नगरपालिका, १० पैयाखर्कमा बुधबार र केही दिनअघि छत्रेश्वरी गाउँपालिका,१ दमाचौरमा कुकुरले मानिस तथा अरु कुकुर र बाख्रालाई टोकेर घाइते बनाएको स्थानीयले जनाएका छन् ।
शारदा नगरपालिकाको पैयाखर्कमा एक बौलाहा कुकुरको आक्रमणबाट ६ जना घाइते भएका छन् भने छत्रेश्वरीको दमाचौरमा पनि कुकुरको टोकाइबाट पाँच जना घाइते भएका थिए । शारदा, १० का वडाध्यक्ष कृष्णबहादुर बोहराका अनुसार कुकुरले गाउँका अन्य १२ वटा कुकुर र ८ वटा बाख्रालाई पनि टोकेको छ । घाइतेहरुको उपचार सल्यान जिल्ला अस्पतालमा भइरहेको छ । सबैले रेबिजविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् भने कात्तिक १५ र १८ गते दोस्रो र तेस्रो मात्रा लगाउने तयारीमा छन् ।
स्थानीयले आक्रमक कुकुरलाई नियन्त्रणमा लिएर बाँधेपछि पशु प्राविधिक टोलीले निरीक्षण गरेको थियो । टोलीले त्यसलाई बौलाहा कुकुर भएको पुष्टि गर्दै व्यवस्थापन गरेको वडाध्यक्ष बोहराले बताए । पशुलाई रेबिज रोग नलागोस् र भविष्यमा अरूलाई पनि सङ्क्रमण नगरोस् भन्ने उद्देश्यसहित कुकुर, बिरालो लगायतका जनावरलाई लगाइने खोपको पशु अस्पताल सल्यान एवम् स्थानीय तहहरुमा अभाव देखिएको हो ।
पशु अस्पताल, शारदा नगरपालिका तथा छत्रेश्वरी गाउँपालिकाको पशु सेवा शाखामा अहिले रेबिजविरुद्धको भ्याक्सिन उपलब्ध छैन । शारदा, १० का वडाध्यक्ष बोहराका अनुसार स्थानीयको सुरक्षाका लागि निजी एग्रोभेटबाट १६ वटा कुकुरमा खोप लगाइएको थियो । अझै बाँकी कुकुरलाई थप खोप ल्याएर लगाउने तयारी भएको उनको भनाइ छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका सूचना अधिकारी वीरेन्द्र केसीका अनुसार कार्यालयमा बजेट भए पनि चाडपर्व बिदा र प्रशासनिक कारणले खोप खरिद प्रक्रिया ढिलाइ भएको हो ।
‘अब केही दिनमै नयाँ भ्याक्सिन खरिद गरेर वितरण सुरु गर्नेछौँ,’ उनले भने । यता छत्रेश्वरी गाउँपालिकाको पशु सेवा शाखाका पशु सेवा अधिकृत रामबहादुर केसीले गत आर्थिक वर्षमा करिब २०० भन्दा बढि कुकुर तथा बिरालोमा रेबिजविरुद्ध खोप लगाइएको भन्दै यसपटक पालिकाको दमाचौरमा बहुला कुकुरले टोकेकोबारे जानकारी नआएको बताए । उनले भने, ‘खोप लगाएपछि एक वर्षसम्म काम गर्छ । सायद खोप लगाउन छुटेको जनावरमा समस्या देखियो होला । गत वर्ष पालिकाले ४, ३, ६ र ५ नम्बर लगायतका वडामा नै पुगेर खोप लगाएको थियो ।’
छत्रेश्वरी गाउँपालिकाले एक महिना अघि विद्यालयस्तरमा रेबिज रोग, यसको रोकथाम र पशु स्वास्थ्यबारे विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । रेबिज खोप अभियान पनि सञ्चालन गर्ने तयारी गरिरहेको भन्दै पालिकाले जिम्मेवार बनेर आफुँले पालेका घरपालुवा जनावरलाई खोप लगाउन, पशु स्वास्थ्यकर्मीहरुबाट सल्लाह लिन र पशुले टोकेपछि छिटो छरितो उपचारमा लैजान अनुरोध गरेको छ ।
सत्यपाटी