श्रद्धा र निष्ठाको महापर्व छठको दोस्रो दिन आज (कात्तिक शुक्ल पञ्चमी) बर्तालुहरू पानी पनि नखाई (निर्जल) उपवास मा बसेका छन् । कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ (स्नान गरी चोखो खाने) विधिबाट पर्व सुरु गरेका बर्तालुहरूले आज बेलुकी ‘खरना’ विधि पूरा गर्नेछन् ।
‘खरना’ अन्तर्गत बर्तालुहरूले दिनभरिको निर्जल उपवासपछि बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक प्रसाद ग्रहण गर्ने परम्परा छ । नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व शनिबारदेखि सुरु भएको हो । छठ पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठी (भोलि सोमबार) बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
यसका लागि पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर साँझपख बत्ती बालेर नदी वा तलाउका किनारमा पुगिन्छ । त्यसैगरी, सप्तमीका दिन बिहान (कात्तिक ११ गते मङ्गलबार) उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइन्छ, जसलाई ’भिन्सरघाट’ भनिन्छ । छठ बर्तालुहरू षष्ठीको रातभर नदी किनारमै जाग्राम बस्ने चलन छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक विकास समितिका सदस्य प्रा.डा.देवमणि भट्टराईका अनुसार, कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने शास्त्रमा उल्लेख छ । विशेषगरी तराईमा मनाइने यो पर्व वि.सं. २०४६ पछि काठमाडौँ लगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो । राजधानीमा बाग्मती र विष्णुमती नदी किनारसँगै नागपोखरी र गहनापोखरीमा पनि छठ मनाउने चलन छ ।
गुह्येश्वरी छठ पूजा समितिले गुह्येश्वरीबाट गौरीघाटको बाग्मती किनारमा छठ घाट निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । कमलपोखरीमा पनि तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको समितिले जनाएको छ ।
