२०८३ असार २७ , शनिबार 11, July 2026, Saturday

पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा १० घण्टा हराउँदा…

सत्यपाटीसत्यपाटी । सोलुखुम्बु । २०८२ कात्तिक ९ गते आइतबार

‘पानी र हिमालको छायासँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरो मात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो,’ ओखलढुंगाका डेनिस मगरले यसरी यथार्थ सुनाए । सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा हराएको थियो ।

गएको सोमबार (कात्तिक ३) सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदूधकुण्ड नगरपालिका–१ को कामोडाँडा क्षेत्र पार गर्दै दूधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भीरको टुप्पोमा हरायो । मोबाइल सिग्नल समेत नहुँदा टोली कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा हरायो ।

स्थानीय होटेल व्यवसायी मिलन कार्की भन्छन्, ‘सांकेतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाको सहयोगमा मगर र उनका साथीलाई करिब १० घण्टापछि उद्धार गरिएको थियो ।

दूधकुण्ड क्षेत्रमा पर्यटक हराउने गरेका घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षमा दूधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् । दूधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रविन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दूधकुण्ड पुग्ने मुख्य मार्ग हो ।

तर, कतिपय स्वदेशी तथा विदेशी पर्यटक उक्त मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् । त्यसपछि उनीहरू घण्टौँसम्म जंगल र भिरालो भूभागमा भौँतारिन्छन् । ’पदमार्गमा स्पष्ट देखिने कुनै संकेत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्,’ स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने ।

कमजोर नेटवर्क

दूधकुण्ड क्षेत्र हिमालको फेदमा भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ । स्थानीय मिङ्मार शेर्पा भन्छन्, ‘कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।’

भौगोलिक कारणले सञ्चार सम्पर्क कमजोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकार बताउँछन् । ‘दूधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ, हिमाल बोल्दै छ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन,’ सुनसरीको धरानबाट दूधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने ।

नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङले भने, ‘दूधकुण्ड धार्मिक मात्र होइन, अन्तर्राष्ट्रियस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर, सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।’ धनकुटाका अमृत पौडेलले भन्छन्, ‘हामी दूधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब ६ घण्टा जंगलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?’

दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र

समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा अवस्थित दूधकुण्ड सोलुदूधकुण्ड नगरपालिका–१ मा पर्छ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर)को फेदमा छ, जसलाई स्थानीय ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई दूधकुण्ड नाम दिइएको हो ।

प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासानुसार यो तालमा स्नान गर्दा पाप नाश, मनोकामना पूरा र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बी सबैका निम्ति यो स्थान पवित्र मानिन्छ । दूधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो ।

नुम्बुर हाल खुला आरोहणका निम्ति अनुमति दिइएका मध्ये एक प्रसिद्ध हिमाल हो । यही कात्तिक ५ गते तीन विदेशी आरोहीले यो हिमालको पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्यान्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार, यो आरोहणले दूधकुण्ड क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ । स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘नुम्बुर हिमाल, दूधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्न सके सोलुखुम्बु अर्को पवित्र ट्रेकिङ सर्किट बन्न सक्छ ।’

सोलुदूधकुण्ड नगरपालिकाले केही वर्षअघि दूधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर, त्यसपछि सूचना–सांकेतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छिन्, ‘नगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर, विस्तृत पर्यटन नक्सा र संकेत प्रणाली बनाउनतर्फ भने ध्यान जान सकेको छैन ।’

उनका अनुसार, यसै आर्थिक वर्षभित्र दूधकुण्ड पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत संकेत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर, स्थानीय पर्यटन उद्यमीका अनुसार, योजनालई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार