२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

कहिलेदेखि सुरु भयो आस्थाको पर्व छठ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ९ गते आइतबार

आस्थाको पर्व छठको दोस्रो दिन आज ‘खरना’ विधि देश–विदेशभरका श्रद्धालुहरूले अत्यन्त श्रद्धा र भक्ति भावले मनाइरहेका छन् । आजको दिन व्रतालु महिलाहरू दिनभर निराहार बस्छन् र साँझ विधिपूर्वक पूजा गरेपछि साठी धानको चामलबाट गुँड राखेर पकाइएको खीर, रोटी र फलफूल प्रसादको रूपमा छठी मातालाई अर्पण गरेपछि व्रतालुहरूले ग्रहण गर्छन् ।

मधेस प्रदेशको प्रायः सबै घरमा मनाइने छठ पर्व कुनै छिमेकीको घरमा भएको छैन भने छिमेकीका परिवारजनलाई खिर रोटी प्रसादको रूपमा दिइने चलन रही आएको छ । चार दिनसम्म अत्यन्तै निष्ठाका साथ मनाइने छठ पर्व शनिवार देखि विधिवत् रूपमा सुरु भएको हो । पहिलो दिन व्रतालुहरू नहाय खाए अरवा अरवाईनबाट सुरु भएको थियो ।

त्यसैगरी छठ पर्वको तेस्रो दिन भोलि सोमवार व्रतालुहरू बाँसको दौरा टोकरी जस्ता परम्परागत हातले बनाइएको भाँडोमा प्रसाद लिएर नदी, पोखरी जलाशय किनारमा गएर भक्तिपूर्वक गीत गाउँदै व्रतालुहरूले प्रार्थना गर्दछन् । साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिएर घर फर्किन्छन् । छठ पर्वको चौथो अर्थात अन्तिम दिन पर्सी मंगलवार पुनः एका बिहानै नदी पोखरी जलाशय किनारमा गई विधिपूर्वक पूजा अर्चना गरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि बर्त समापन हुन्छ ।

समापन सँगै प्रसाद वितरण गरिन्छ । छठ पर्वको मुख्य प्रसादको रूपमा गहुँको पिठो, घिउ, गुडरचिनी मिसाएर तेल वा घिउमा पकाइने मिष्ठान्न ठेकुवा केसार,यो छठको सबैभन्दा पवित्र प्रसाद मानिने खाजामिठाई, केरा, नरिवल, स्याउ, कागती, उखु चढाइन्छ ।

वैदिक कालदेखि सुरु भएको परम्परा

छठ पर्वको इतिहास परापूर्वकाल वेदकालीन युगसम्म पुर्याउन सकिन्छ । वैदिक ऋषि–मुनीहरूले सूर्यदेवको आराधना गरी ऊर्जा, आरोग्य र समृद्धिको कामना गर्ने गर्थे । यही आराधनाको लोक–रूप आजको छठ पर्वका रूपमा विकसित भएको विश्वास गरिन्छ । वेदमा उल्लेख भएअनुसार सूर्यदेवलाई जीवन र प्रकृतिको आधार मानिन्छ । छठमा जल, सूर्य र माटोको पूजा गरी प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गरिन्छ ।

रामायणकालमा, भगवान श्रीराम र माता सीताले वनवास समाप्त गरी अयोध्या फर्किएपछि कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको आराधना गरेका थिए र सोही समय देखी छठ पर्व सुरु भएको भन्ने जनविश्वास छ । त्यस्तै महाभारतकालमा, द्रौपदीले सूर्यदेवको उपासना गरी आफ्नो परिवारको कल्याण र पाण्डवहरूको राजपाट पुनः प्राप्तिको कामना गरेकी थिइन् । र सोही समय देखी छठ पर्वको सुरुवात भएको पनि विश्वास गरिन्छ ।

छठी माताको आस्था

छठ पर्वको देवी छठी मइया वा षष्ठी देवी हुन्, जसलाई सन्तान र परिवारको रक्षकका रूपमा पूजा गरिन्छ । ‘षष्ठी’ शब्द संस्कृतको ‘छैटौँ’ दिनलाई जनाउँछ । यस दिन महिलाहरूले मातृशक्ति र प्रकृतिको प्रतीक देवी छठी मइयाको आराधना गर्छन् । त्यतिमात्र नभई असाध्य रोग, चर्म रोग, कुष्ठ रोगसमेत छठी माताको आशीर्वादले निको हुने जनविश्वास रहिआएको छ ।

लोकपर्वबाट प्रदेशभर रौनक

रौतहट, सिराहा, धनुषा, सप्तरी, पर्सा, बारा लगायत मधेसका जिल्लादेखि राजधानी काठमाडौँ र देशका अन्य भागसम्म आज खरनाको तयारीले विशेष रौनक छाएको छ । पवित्र नदी, पोखरी र घाटहरूमा व्रतालुहरूले सफाइ गरी पूजा सामाग्री तयारी गरेका छन् ।

गाउँ–सहरमा आज भक्तिपूर्ण गीत र छठको धुन गुन्जिरहेका छन् । छठ पर्वले शुद्धता, संयम र कृतज्ञताको सन्देश दिन्छ । यो पर्वमा व्रतालुले शरीर, मन र घर–परिवारलाई पूर्ण रूपमा पवित्र राखी सूर्य र प्रकृतिप्रति धन्यवाद व्यक्त गर्छन् । यो पर्वलाई पर्यावरण र स्वास्थ्यसँग जोडिएको संस्कारका रूपमा पनि लिइन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार