बाँकेका तीन वटा गाउँपालिकाका स्थानीयबासी वर्षौदेखि ज्यान जोखिममा हालेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य छन् । राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी पार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो हुने भएकाले पनि तीन पािलकाका स्थानीयले डुङ्गाको प्रयोग गर्ने गरेका हुन् ।
राप्तीसोनारी–७ का ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि वर्षौदेखि माग गर्दै आएकोमा आश्वासन बाहेक हालसम्म केही पनि नपाएको दुखेसो गरे । उनले वर्षाको बेला बाढीका कारण पटक–पटक डुङ्गा दुर्घटना भई धेरै स्थानीयले ज्यान गुमाए पनि हालसम्म सरकारको ध्यान नगएकोमा चिन्ता प्रकट गरे । पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरैजनाको ज्यान जाने गरी डुङ्गा दुर्घटना भएको थियो ।
करिब १०० जना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरैजनाको निधन तथा बेपत्ता भएको उनले स्मरण गरे । राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा तत्कालै पुल निर्माणको प्रक्रिया अगाडि बढाउन स्थानीय बासिन्दाले सरकारलाई फेरि गुहारेका छन् । नरैनापुर ५ का सन्जय दिक्षितले विगतमा नेता र मन्त्रीहरुले आश्वासन मात्रै दिए तर अहिले देशमा भएको परिवर्तनका कारण स्थानीयमा पुल बन्ने आशा पलाएकाले फेरि मागलाई उठाइएको बताए ।
उनले भने, ‘पारि खेतबारी, वारि घर, बीचमा विशाल राप्ती नदी छ । वर्षामा उर्लेर आउने राप्ती पार गर्न सानो डुङ्गाबाहेक कुनै विकल्प छैन, त्यसैले ज्यान जोखिममा हालेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छौं ।’ राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका धेरै बासिन्दाको खेत नदीपारि रहेको छ । खेत नदी पारि भएकाले पनि नदी पार गर्नैपर्ने बाध्यता रहेको खल्ला झगडियाका अरुण यादवले बताए । उनले तटीय बस्तीका बासिन्दाको सुरक्षित यात्राप्रति सरकारले चासो नदिएको गुनासो गर्दै यस क्षेत्रका जनताले कहिलेसम्म यो दुःख पाइरहने हुन् केही भन्न नसकिने बताए ।
नदीमा पिप्रहवा, सतीघाट, बालपूर्वासहित तीन वटा घाट छन् । जहाँ वारपार गर्न सानो डुङ्गा राखिएका छन् । १० वर्षदेखि डुङ्गा चलाउँदै आउनु भएका माझी गुड्डु मल्लाहले नदी तर्दातर्दै तीव्र गतिमा उर्लेर आउने बाढीले डुङ्गा बगाउँदा धेरै पटक जीवन जोखिममा परेको स्मरण गरे । उनले नदी वारपारको यो यात्रा अत्यधिक जोखिमपूर्ण रहेकोले छिटोभन्दा छिटो पुल निर्माण अपरिहार्य भएको बताए ।
