२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

तराईमा मनाइँदै ‘भरद्वितीया’ पर्व, श्रद्धा र प्रेमको प्रतीक

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ६ गते बिहीबार

श्रद्धा, आत्मीय प्रेमसहित तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानका रूपमा मनाइने भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ । विशेषगरी मैथिल र भोजपुरी समाजमा दाजुभाइ, दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको यो पर्व तराईवासीको महान् चाड हो ।

दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी यो पर्व मनाउने गर्दछन् । हिन्दूहरूको महान् चाड तिहारको दुई दिनपछि अर्थात् कात्तिक शुक्ल पक्ष द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर (भाइ) द्वितीया भनिएको हो, जसलाई भातृद्वितीया पनि भनिन्छ । विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् भने अविवाहितले स्वनिवासमै पर्व मनाउँछन् ।

यो पर्वको आधार सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले स्वर्गका राजा इन्द्रसँग युद्ध गर्न हिँड्नुअघि दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथा रहँदै आएको छ । पर्वका दिन बिहानै नुहाइधुवाइ गरी दिदीबहिनीले घरको आँगनमा चामलको पीठो (पिठार) को अर्पणा बनाई सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा दाजुभाइलाई काठको पीर्कामाथि बसाएर निधारमा टीका लगाई पूजा गर्दछन् ।

पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जली बनाएर बस्दछन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर धार्मिक विधिअनुरुप मन्त्रोच्चारणसहित तीनचोटी पूजा गर्दछन् । पूजाका बेला दिदीबहिनीले ‘यमुना नेओतैत छथी यम के, हम नेओतैत छी भाइके… बजरी खाय बज्र भके जीवे…’ भन्दै दाजुभाइको आयु गङ्गा यमुनाको धारजस्तै निरन्तर बढिरहोस् भन्ने कामना गर्छन् । पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियत अनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना वा नगद दक्षिणास्वरुप दिने गर्छन् ।

त्यसपछि दिदीबहिनीले पकाएको मीठामीठा परिकार दाजुभाइले ग्रहण गर्छन् र दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छिन् । पौराणिक कथा अनुसार, बहिनी यमुनाले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन वरदान प्राप्त गरेकीले यस पर्वलाई यमद्वितीया पनि भनिने गरिन्छ । यो पर्व घरबाट टाढिएका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्नका लागि महत्त्वपूर्ण उत्सवको दिन हो ।

प्रकाशित मिति : २०८२ कात्तिक ६ गते बिहीबार