२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

मानव, प्रकृति र देवताबिचको सम्बन्ध प्रगाढ बनाउने उज्यालोको पर्व तिहार

तिहार वा यमपञ्चक केवल धार्मिक चाड मात्र होइन, बरु नेपाली संस्कृतिको एक जीवन्त प्रतीक पनि हो । यसले मानव, प्रकृति र देवताबिचको गहिरो सम्बन्ध, पारिवारिक मूल्यहरू र सामाजिक सद्भावनालाई प्रकट गर्दछ । यो चाड आफूभित्र र आफ्नो वरिपरि रहेको सबै कुराप्रतिको कृतज्ञता र सम्मानको भावनालाई जगाउँछ ।

दिदीबहिनी र दाजुभाइबिचको अटूट सम्बन्धलाई भाइतिहारले अझै नजीक तुल्याउँछ । परम्परा र सांस्कृतिक हिसाबले ‘यमपञ्चक’ भन्नाले ‘यमको पाँच दिन’ भन्ने बुझिन्छ । तिहारलाई यसरी पनि हामीले बुझ्ने गरेका छौँ किन भने यो पाँच दिन लामो चाड पनि हो र यसको मूल कथाचाहिँ मृत्युको देवता ‘यमराज’ र उनकी बहिनी ‘यमुना’को सम्बन्धमा आधारित छ ।

विशेष गरेर तिहारलाई प्रकाशको चाड अर्थात दियो, दियालो, उज्यालो र सुकृतिसँग जोडिएको पर्व भनेर पनि चिन्छौँ । यसलाई दिदीबहिनीको र समृद्धिको चाड पनि भनिन्छ । यसको सांस्कृतिक महत्व अझै व्यापक छ । तिहारलाई अन्धकारमाथि प्रकाशको, असत्यमाथि सत्यको र खराबमाथि सद्भावको विजयको रूपमा मनाइन्छ ।

घरघरमा दियो बाल्ने, बिजुली पुगेका स्थानमा बिजुलीका बत्तीहरूले घर आँगन सजाउने र आतिशबाजी गर्ने चलन छ । तिहारको मुख्य विशेषता भनेको हामीले आफ्नो जीवनमा उपयोग गर्ने र हामीलाई जीवन बाँच्न सहयोग गर्ने विभिन्न जीवहरू र वनस्पतिलाई समेत पूजा गर्छौँ । तिहार प्रकृति पूजासँग पनि त्यतिकै जोडिएको छ ।

तिहारको पहिलो दिन काग तिहार हो । कागलाई यमराजको सन्देशवाहक भनेर धर्मशास्त्रले मानेको छ । काग तिहारको दिन कागको पूजा गर्ने प्रचलन छ । उसलाई खानेकुरा दिएर, आँगनमा बोलाएर प्रसन्न तुल्याउने काम गरिन्छ । दोस्रो दिन कुकुर तिहार, यो दिनमा घरमा पालेको कुकुरलाई मानवसेवक, रक्षक, निष्ठावान र वफादारको रूपमा पूजा गरिन्छ ।

तेस्रो दिन गाई, गौ पूजा गर्ने दिन हो । गाईलाई लक्ष्मी माताको रूपमा बर्षभरि नै पुज्ने गरिन्छ । तर, यो दिनमा विशेष रूपमा पूजा गर्ने प्रचलन छ । हिन्दू धर्ममा गाईको पवित्र स्थान छ । र तिहारमा गौ पूजाले महत्वपूर्ण सांस्कृतिक महत्त्व राख्दछ । चौथो दिन लक्ष्मी पूजा नै तिहारको सबैभन्दा विशेष दिन हो, धनधान्य समृद्धिको देवी लक्ष्मीको साँझमा पूजा गरिन्छ ।

मानिन्छ कि यस दिन लक्ष्मी देवीले पृथ्वीमा भ्रमण गर्छिन् र सफा–सुग्घर र दियोले जगमगाएको घरमा बास बस्छिन् भनेर । यमपञ्चकको अन्तिम दिन भाइटीका (भ्रातृद्वितीया), तिहारको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण दिन हो । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको लामो उमेर, स्वास्थ्य र समृद्धिको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिएर आशिर्वाद दिन्छन् र मिठाइ ख्वाउँछन् ।

बदलामा दाजुभाइले पनि दिदीबहिनीहरूलाई उपहार र आशीर्वाद दिन्छन् । यसले दाजुभाइ–दिदीबहिनीबिचको प्रगाढ स्नेह र मायाको बन्धनलाई अझै मजबूत बनाउँछ । यो परम्परा यमराज र यमुनाको कथासँग जोडिएको हुनाले पनि दिदीभाइ दाजुबहिनीको सम्बन्धलाई दीर्घ जीवन्त बनाउन मद्दत गर्छ । तिहारले त्यतिमात्र होइन सम्पूर्ण समाजलाई एकताको सूत्रमा बाँध्छ । मानिसले आफन्त, साथीभाइहरूलाई भेट्न जान्छन्, उपहार र मिठाई आदान–प्रदान गर्छन् र सामूहिक रूपमा पूजाअर्चना गर्छन् ।

समूहमा भेला भएर देउसी भैलो खेल्ने गरिन्छ, जसले समाजमा एकता र सद्भाव कायममात्रै राख्दै सहयोगी भावनालाई पनि जागृत गराउँछ । पछिल्लो दशक देउसी भैलो खेलेर सामाजिक कार्य गर्ने चलन पनि आएको छ । यही यमपञ्चककै बेला नेवा समुदायमा म्ह पूजा गरिन्छ । आफूले आफ्नै आत्मा, आफूभित्रको ईश्वरलाई मान्ने र पुज्ने संस्कृतिले अझै तिहारको सांस्कृतिक महत्व झल्किन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार