२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

इजरायल र हमासबीच शान्ति योजनामा हस्ताक्षर, विपिन जोशी छुट्ने सम्भावना

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज २३ गते बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति ढाँचाको पहिलो चरणमा सहमति भएको जनाएका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौता अन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ । इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन् ।

उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन् । अब सबै बन्धकहरूको द्रुत रिहाई प्रक्रिया अघि बढ्नेछ । इजरायली स्रोतले जनाए अनुसार बन्धकहरूलाई शनिबार वा आइतबार रिहा हुने अपेक्षा गरिएको छ ।

भगवानको सहयोगले हामी बन्धकहरू सबैलाई घर ल्याउनेछौं भनेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका छन् । यसले नेपाली बन्धक विपिन जोशीको रिहाइको बाटो खुलेर परिवारलगायत सर्वत्र खुसियाली छाएको छ ।

हमासको निशस्त्रीकरण र गाजापट्टीको भविष्यको शासन सम्झौताको विस्तृत विवरण दिएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँगको सम्झौता अनुमोदन गर्न र गाजाबाट बन्धकहरूलाई फिर्ता गर्न बिहीबार सरकारको बैठक बोलाउने बताएका छन् ।

उनले यसलाई इजरायलको लागि एक महान दिन भन्दै देशले आफ्नो लक्ष्यहरू प्राप्त गर्न र छिमेकीहरूसँग शान्ति विस्तार जारी राख्ने कुरा बताए । इजरायली कानून अनुसार, बन्धक सम्झौताको भागको रूपमा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने कुनै पनि निर्णयलाई पहिले सरकारले अनुमोदन गर्नुपर्छ ।

त्यो अवरोध पार गरेपछि मात्र सरकारले रिहाइको साथ अगाडि बढ्न सक्छ । राष्ट्रपति डोनाल्ड ट्रम्प मिडलिस्ट शान्ति सम्झौतालाई पूर्णता दिनको लागि शनिबार अथवा आइतबार अमेरिकाबाट जाने तयारी गरेको समाचारमा उल्लेख छ ।

हिजै मात्र बन्धकका परिवार जसरीदेखि नै शान्तिको लागि लड्दै आएका थिए । त्यो समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबल शान्ति पुरस्कारको लागि समर्थन गरेको थियो, यो वर्षका नोबेल पुरस्कारहरू धमाधम घोषणा भइरहेका छन् ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार