२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

हमासले बन्धक बनाएका नेपाली विपीन जोशीको भिडियो सार्वजनिक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २३ गते बिहीबार

इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको नियन्त्रणमा रहेको भिडियो सार्वजनिक भएको छ । अक्टोबर ७, २०२३ मा विपिन जोशीलाई इजरायलको किबुट्ज अलुमिमबाट हमासले अपहरण गरेको थियो । यो अपहरण भएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेपछि सार्वजनिक भएको पहिलो भिडियो क्लिप हो ।

हमासले बन्धक बनाएका विपीन जोशीको बुधबार साँझ सार्वजनिक भएको भिडियो इजरायली गुप्तचर एकाइहरूले प्राप्त गरेपछि सार्वजनिक गरिएको जेरुसेलम पोस्टले जनाएको छ । ३३ सेकेन्डको भिडियोमा जोशीले आफ्नो परिचय दिएका र आफू अपहरणअघि इजरायल आएको र कृषि फर्ममा काम गरेको बताएका छन् ।

२०२३ को अन्त्यतिर खिचिएको उक्त भिडियो इजरायली सेनाले फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्याइएको जनाइएको छ । केही महिनासम्म सेनाको गोप्य निगरानी अन्तर्गत राखिएको भिडियो हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको परिवारले बताएको छ ।

परिवारले यो भिडियो हमास हमलाको दोस्रो वार्षिकीमा सार्वजनिक गरेका हुन्, जसले गाजा संकट र बन्धक अवस्थामा रहेका नेपाली विद्यार्थीप्रति विश्वव्यापी ध्यानाकर्षण गराउँछ । इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई आतंकवादीहरूले अपहरण गरी गाजामा लगेको केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्वीर सार्वजनिक गरिएको हो ।

३३ सेकेन्ड लामो भिडियो क्लिपमा भनेका छन्, ‘मेरो नाम बिपिन जोशी हो । म नेपालबाट आएको हुँ । म २३ वर्षको हुँ । म २५ दिनअघि इजरायल आएको थिएँ । ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ। म विद्यार्थी हुँ । म सुन्तला र कागतीको कृषि फार्ममा काम गर्छु ।’ भिडियोको अन्त्यतिर उनी स्क्रिन बाहिर केही हेर्दैछन् ।

जोशीको परिवारले एक विज्ञप्ती जारी गर्दै भिडियोलाई ‘बिपिन अझै जीवित हुनुको दृढ विश्वास’ भनेका छन् । जोशीको परिवारले एक विज्ञप्तीमा भनेको छ, ‘गाजामा भेटिएको यो जीवनको प्रमाण जुन हामी आज तपाईंसमक्ष बाँड्दैछौँ, यसले उहाँ जीवित हुनुहुन्छ भन्ने हाम्रो अटल विश्वासलाई बल दिएको छ ।’

जोशी अक्टोबर ७ को हमला हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि शिक्षा कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनलाई किबुत्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य धेरै नेपाली नागरिकहरू बस्दै आएका थिए । नोभेम्बर २०२३ को वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, जोशीले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उक्त रिपोर्टमा उल्लेख भए अनुसार, झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड प्रवेश गर्दा उनले ती ग्रेनेड समातेर एउटालाई बाहिर फ्याँकिदिएका थिए । दोस्रो ग्रेनेड भने सफल भएन, जसको विस्फोटबाट उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भएका थिए । जोशीलाई हमासले गाजामा अपहरण गरेर लगेको थियो र एक समय शिफा अस्पतालमा राखिएको थियो । उनी अस्पतालमा राखिएको भिडियोबाहेक जोशीको जीवित रहेको धेरै कम संकेत प्राप्त भएका थिए ।

यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोशीको अवस्था र भाग्यबारे आफूलाई चिन्ता रहेको बताएका थिए । नेपालको तेल अभिभस्थित दूतावासले द जेरुसेलम पोस्टलाई ट्रम्पको भाषणभन्दा पहिले यसबारे उनीहरूसँग कुनै जानकारी आदानप्रदान नगरिएको बताएको थियो । विपीन दुई वर्षअघि लर्न फर अर्न कार्यक्रमका क्रममा इजरायल पुगेका थिए । उनी अपहरण हुनुभन्दा २५ दिनअघि इजरायल पुगेका थिए ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार