सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे । गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दशैंभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ ।
यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ रद्द गरेपछि व्यवसायी निरास भएका थिए । क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष समेत रहेका थपलियाले मङ्गलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताए । उनले भने, ‘दशैंको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ ।’
आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उनको भनाइ छ । गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे । क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्क सहित होटलहरुमा पर्यटक आउन थालेको बताए । जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उनी बताउछन्। नेपालीहरु न्यून भए पनि विदेशीको सङ्ख्या बढ्दो छ ।

उनले भने, ‘बुकिङ राम्रो नभए पनि सोझै आउनेहरु वढ्न थालेका छन् ।’ साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरुमा आशा जगाएको पाण्डेको भनाई छ । यस्तै होटल आनन्द का सञ्चालक नरबहादुर भण्डारीका अनुसार सौराहामा अहिले पर्यटकहरुको सङ्ख्या बढ्दो छ । दशैँ विदामा घुम्न आउनेहरु धेरै भएको उनले बताए । आफ्नो होटलमा आउने पर्यटकहरु लाई विशेष अफर सहित सेवा सञ्चालन गरेको समेत उनको भनाई छ ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउँछन् । तिहारसँगै स्वदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको अनुमान छ । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ ।’ निकुञ्जभित्रको जङ्गल सफारीसमेत खुलेकाले यहाँ आउने पर्यटक बढेको बताउँदै उनले चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताए ।
होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउँछन् । विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफु विश्वस्त रहेको उनको भनाइ छ । सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरुमा पर्यटकको आगमन बढेको बताउँछन् । हात्ती सफारी गर्नेहरु पनि क्रमशः बढ्दै गएको सञ्चालक सिलवालको भनाइ छ ।
विगत वर्षहरुमा दशैंको समयमा हात्ती चढ्नेहरुका लागि पुर्याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दशैंभर सुनसान अवस्थामा रहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन् । उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन् । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ लगायतका जनावार हेर्न उनीहरु रुचाउँछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ ।
अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार ७०० दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो ।
सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । ‘मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पनि असर गर्यो, कतिपय विदेशी पर्यटकले यात्रा रद्द गरे,’ उनले भने, ‘मुक्तिनाथ लगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्या पनि घटेको छ ।’
अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेकाले ढुक्क भएर घुम्न आउन उनले आग्रह गरे । नेपालीका ठूला चाडपर्वहरू भएकाले आन्तरिक पर्यटक पनि घुमफिरमा निस्कने उपयुक्त समय यही हो । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वमाझ दिएर पर्यटक आगमनलाई नियमित लयमा फर्काउन सरकार र सम्बद्ध सबै पक्ष लाग्नुपर्ने आयोजना प्रमुख डा कडरियाले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्यस्थल पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार बुधबार झन्डै २०० विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । दुई–तीन दिनदेखि पर्यटक आगमन केही बढे पनि अघिल्ला वर्षको तुलनामा घटेको उनले बताए । ‘यो याममा दिनमा ४०० सम्म विदेशी पर्यटक आउँथे, अहिले घटे,’ पुनले भने, ‘विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक पनि घटेका छन् ।’
घोरपानीका होटल व्यवसायी डमबहादुर पुनले आफ्नो होटलमा आउन लागेका पर्यटकका २७ वटा समूहले ‘बुकिङ’ रद्द गरेको बताए । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।