२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

दशैंमा थारु गाउँबस्तीमा सखिया नाचको उल्लास

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज १६ गते बिहीबार

दशैं सुरु हुनुभन्दा पहिले नै सुरु भएर दशैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सखिया नाचको रौनक अहिले बाँके र बर्दियाका थारु गाउँबस्तीमा छाएको छ । थारु समुदायको बसोबास रहेको दुबै जिल्लाका सबैजसो गाउँबस्तीमा साँझ हुने बित्तिकै सखिया नाच नाचिने गरेकाले अहिले राति अबेरसम्म गाउँबस्तीमा रौनक बढेको हो ।

बाँके बैजापुरका हेमन्त थारुले एक साता अघिदेखि दिनभरि काम भ्याइसकेपछि साँझपख गाउँमा नाच्दैआएको सखिया नाच दसैंको दिन विहीबार दिनभरि नाच्ने बताए । टीकाको दिनसम्म युवायुवती मिलेर नाचिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एकजना गुरुवाको व्यवस्था गरिएको तथा गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुने गरेको उनको भनाइ छ ।

‘यो नाचका लागि कम्तिमा चार–पाँचजना मादल बजाउने युवा हुन्छन् । १५–२० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया, रातो रङको रिबन लगाउने गर्छन्,’ बाँके नौबस्ताका युवा नरेन्द्र चौधरीले भने । उनका अनुसार सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहि आएको छ ।

बर्दिया राजापुरका सोम डेमनडौराले सखिया नाच विशेषतः युवायुवतीले नाच्ने गरे पनि विवाहित सबै उमेर समूहका महिला र पुरुषले समेत नाच्ने गरेको जनाउँदै नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइने बताए । उनले दशैंको बेलामा थारु गाउँबस्तीमा सो नाचका कारण बेग्लै प्रकारको रौनक र उमङ्ग छाएको बताए । गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखिया रहेको थारु अगुवाहरुको भनाइ छ । यो नाच सकिएपछि जम्मा भएको पैसा सबै मिलेर माछा, मासु र अन्य परिकार तयार पारी खाने प्रचलन रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार