२०८३ असार ९ , मंगलबार 23, June 2026, Tuesday

नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १६ गते बिहीबार

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा पराजित भएको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाललाई मलेसियाले ३ रनले हराएको हो । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा कविता जोशी र राजमती ऐरी क्रिजमा रहेपनि ३ रन मात्र जोड्न सके । नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन् । मलेसियाकी नुर दानिया स्यादाले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् ।

कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् । अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाइन् । नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिए । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार