२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

साइत बिते पनि दिनभर लगाउन सकिन्छ दशैंको टीका

नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादका रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा छ ।

दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले साइत कुर्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो । तर समितिका सदस्य प्रा.डा.देवमणी भट्टराईका अनुसार अब त्यो साइत बितिसक्दा पनि सर्वसाधारणले दिनभर नै टीका थाप्न सक्नेछन् ।

‘दशैंको बिहानदेखि अपराह्नसम्म सम्पूर्ण समय शुभ हुन्छ । सर्वसाधारणलाई टीका थाप्न साइत कुर्न आवश्यक छैन,’ भट्टराईले भने, ‘अब पनि टीका लगाउन सकिन्छ, यसलाई असाइत मानिँदैन ।’ पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउँदा परम्परागत अभ्यास अनुसार टीका दिने व्यक्ति पश्चिम र टीका लिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।

आजको दिनलाई परिवारभित्र मिलन र आशीर्वादको दिनका रुपमा लिने गरिएको छ । परम्परा अनुसार गुरुपुरोहित भए उनीमार्फत, नभए परिवारका ज्येष्ठ सदस्य वा अन्य मान्यजनको हातबाट टीका–जमरा लगाइन्छ । त्यसपछि मात्रै अन्य मान्यजन कहाँ गई टीका–आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यसरी, बिहान तोकिएको साइत बितिसक्दा पनि आज दिनभर नै टीका लगाउन सकिने भएकाले घर–घरमा अहिले पनि बडादशैंको रमाइलो माहोल चलिरहेको छ ।

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार