यो वर्षको विजयादशमीमा कतिखेर लगाउने मान्यजनको हातबाट टीका ? पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्ष विजयादशमीको टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा छ । त्यसअघि ९ः२३ मा देवी विसर्जन गर्नुपर्ने समितिको निर्देशन छ । के विजयादशमीममा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका–प्रसाद लगाउन साइत (निश्चित समय) कै आवश्यक पर्छ ?
समितिका अध्यक्ष शम्भुप्रसाद ढकाल भन्छन्, ‘साइत नहेरे पनि हुन्छ । नियमित पूजा सकेर देवी विसर्जन गरी आफ्नो अनुकुलतामा लगाए हुन्छ ।’ त्यसो भए उनी नै अध्यक्ष रहेको समितिले दशैँका लागि किन दियो त विजयादशमी लगायतका लागि विभिन्न साइत ? ‘परम्परालाई निरन्तरता दिँदै साइतको सूची प्रकाशन गरिएको हो,’ ढकाल भन्छन् । समितिले भदौ ३१ गते नै घटस्थापनादेखि विजयादशमीसम्मका विभिन्न कर्मका लागि साइतको सूची प्रकाशन गरेको थियो ।
राजतन्त्र कालमा नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिले राजाका लागि विशेष साइत निकाल्ने गरेको थियो । त्यसैलाई आधार मानेर सर्वसाधारणले पनि राजाकै साइतमा टिका लगाउँथे । यो परम्पराकै रूपमा विकास भयो राजतन्त्रको अन्त्यपछि नाम फेरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि दशैँमा साइत निकाल्ने क्रमलाई निरन्तरता दियो । अहिलेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि पछ्याइरहेको छ ।
कसरी चल्यो त साइत हेर्ने चलन ?
स्वाद्ध्यायशालाका सदस्य तथा वैदिक तिथिपत्रम् (वैदिक पात्रो) का सम्पादक डा. प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार नवरात्रको दुर्गापूजा पौराणिक हो । पुराणमै पनि साइत हेर्ने विषय उल्लेख छैन । प्राचीनकालमा राजाहरू युद्धमा निस्कँदा नवरात्रको विधान गरी दशमीका दिन देवीको पूजा विसर्जन गर्थे र यात्राका लागि निस्कथे । यसैका लागि साइत हेर्ने परम्परा चलेको कौण्डिन्न्यायन बताउँछन् ।
‘खतरापूर्ण यात्रामा निस्कनुपर्ने भएकाले राजाका लागि साइत हेर्ने चलन थियो,’ उनी भन्छन्, ‘यसैलाई पछिका शासकले पछ्याउँदै गए । सर्वसाधारणले शासकको अनुकरण गर्दै यसलाई अँगाले ।’ अचेल त नेपालमा मात्र नभई विश्वभर रहेका नेपालीका लागि छुट्टाछुट्टै साइत निकाल्ने गरिएको छ । सिद्धान्त ज्योतिष प्राध्यापन गर्ने समितिका अध्यक्ष ढकालका अनुसार उनी सानो छँदा टीकाको साइत हेर्ने चलन थिएन । त्यसो त घटस्थापनादेखि दशमीसम्म गर्ने नवदुर्गा पूजा बिहान १० घडी अर्थात् सूर्योदयदेखि ४ घण्टाभित्र सक्नुपर्ने ज्योषिय मान्यता छ ।
‘प्रतिपदामा घटस्थापना गरी त्यहाँ शैलपुत्री, ब्रह्मचारिणी, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको स्थापना गरी प्रत्येक दिन पूजा गर्ने विधि छ,’ उनी थप्छन्, ‘यो पूजा बिहान सूर्योदयदेखि १० बजेसम्ममा गरिसक्नुपर्छ ।’ विजयादशमीको दिनमा पनि १० बजेभित्र पूजा विसर्जन गरी आफ्नो अनुकुलतामा लगाउन सकिने उनले बताए । तर यात्रामा निस्किनेका लागि ज्योतिषशास्त्रमा साइतको व्यवस्था भएको उनले बताए । ‘यात्राका लागि निस्किनेका लागि मोटामोटी १२ बजेको अगाडिको २४ र पछिको २४ गरी ४८ मिनेटमा विजयादशमीको साइत हुने उनले बताए ।

