२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

परिवारको खुसी त्याग्दै ‘ड्युटी’मै बित्छ प्रहरीको दशैं

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १५ गते बुधबार

नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गर्दा बजारहरूमा भीड बढेको छ, यात्रुहरूले टिकटको खोजीमा लाइन थामिरहेका छन्, र सहरदेखि गाउँसम्म चाडपर्वको रौनक फैलिएको छ । अधिकांश नेपाली घर कहिले जाने, के–के किन्ने र कसरी रमाइलो गर्ने भन्ने ध्याउन्नमा छन् । तर यसैबीच, जनताको सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीले भने दशैंलाई सामान्य भन्दा फरक दृष्टिले हेर्छ ।

यो उनीहरूका लागि विश्रामको समय होइन, बरु झनै बढी सतर्कता र जिम्मेवारीको समय हो । अपराध नियन्त्रण, जनसुरक्षा र शान्ति–व्यवस्था कायम गर्न प्रहरीहरू दशैंमा पनि दिनरात खटिएका हुन्छन् । यात्रु चाप बढ्दा दुर्घटनाको जोखिम नियन्त्रणदेखि चोरी, ठगीजस्ता अपराध रोक्नेसम्म, प्रहरी सेवामा कार्यरतहरूलाई यो समय झन् चुनौतीपूर्ण हुन्छ । तर, ड्युटीमा व्यस्त रहे पनि उनीहरू चाडलाई पूर्णरुपमा छुटाउँदैनन् ।

प्रहरी कार्यालय वा चौकीमै आलोपालो गरेर टीका थाप्ने, मिठो मसिनो खाने र जमरा साटासाट गर्ने दृश्य सहजै देख्न सकिन्छ । त्यो पनि ड्युटी तालमेल मिलाउँदै दशैं मनाउनुपर्ने हुन्छ । कसैले बिहान काम गर्छन्, कसैले बेलुकी, तर पर्वको आत्मीयता भने त्यहीँ बाँडिन्छ । यद्यपि, उनीहरूको मन भने प्रायः घरमै हुन्छ । आमा–बुबाले छोराछोरीको मुख हेर्ने चाहना गरेका हुन्छन्, पत्नीले पतिसँगै टीका लगाउने सपना देखेकी हुन्छिन्, छोराछोरीले बाबु के ल्याइदेलान् भनेर बाटो हेरिरहेका हुन्छन् ।

ड्युटीमा खटिएका प्रहरी मात्र होइन, उनीहरूको परिवारजनले पनि पर्वमा आफ्नो खुसी त्याग गरिरहेका छन् । यसरी, जहाँ एकातिर लाखौँ नेपालीहरू परिवारसँग चाड मनाउँदै रमाइरहेका हुन्छन्, अर्कोतिर प्रहरी परिवारहरूले ड्युटी र जिम्मेवारीलाई प्राथमिकता दिँदै भित्रभित्रै चाडपर्वको बलिदान गरेका हुन्छन् । यही समर्पणका कारण नै, दशैंको रमाइलो सुरक्षित र शान्त वातावरणमा सम्भव हुने गर्दछ ।

नेपाल प्रहरीमा करिब ८० हजार जनशक्ति छन् । तर, दशैंजस्तो पर्वमा पनि उनीहरूलाई आराम होइन, कर्तव्यमै खटिनुपर्छ । जनताको उत्सव सुरक्षित बनाउन प्रहरी आफैँले उत्सवको खुसी त्याग्नुपर्ने बाध्यता हुन्छ । जेनजी आन्दोलनकै क्रममा देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट भागे । तीमध्ये करिब ७ हजार फेरि पक्राउ परे पनि अझै ६ हजारभन्दा बढी कैदी फरार छन् ।

यसले दशैंको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको प्रहरी प्रवक्ता विनोद घिमिरे बताउँछन् । उनका अनुसार, यसपालि विगतको तुलनामा झनै व्यापक सुरक्षा व्यवस्था गर्नुपर्ने भएको छ । ‘हरेक चाडपर्वमा चोरी–डकैती बढ्छन्, तर यस पटक अवस्था अझ गम्भीर छ,’ उनले भने । सामान्यतया दशैं भनेको परिवारसँग खुसी साट्ने पर्व हो । तर प्रहरी संगठनका लागि भने यो पर्व जिम्मेवारीको अर्को नाम हो ।

फरार कैदीहरूको खोजी, आन्दोलनबाट हुन सक्ने अप्रिय घटनाको नियन्त्रण र आमनागरिकलाई सुरक्षित वातावरण दिन प्रहरी २४ सैं घण्टा खटिनेछ । यसपालि विशेषगरी धार्मिक स्थल, भिडभाड हुने बजार र प्रमुख राजमार्गमा प्रहरीको बाक्लो उपस्थिति देखिनेछ । यसकारण धेरै प्रहरीलाई दशैंमा घर फर्कने अवसर नै प्राप्त हुँदैन । एक प्रहरी अधिकृत भन्छन्, ‘हामीलाई पनि परिवारसँगै पर्व मनाउन मन लाग्छ, तर परिस्थितिले अनुमति दिँदैन । जनताको सुरक्षा पहिलो प्राथमिकता हो ।’

प्रहरीका लागि दशैं बिदाको पर्व नभई, सुरक्षाको पर्व बन्न पुगेको छ । देशभरका नागरिक परिवारसँग रमाइलो गरिरहेका बेला प्रहरी भने २४ सै घण्टा मुलुकको सुरक्षा सुनिश्चित गर्न खटिएका हुन्छन् । गत वर्ष काठमाडौं जिल्ला प्रहरी परिसरले मात्रै तीन हजार ७६५ जना प्रहरी परिचालन गरेको थियो । यसपालि आर्थिक तथा वित्तीय अपराध बढ्ने आशंकाले अझ बढी प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएको छ ।

यद्यपि प्रहरीलाई चाडको अनुभूति पूर्णरूपमा हराउँदैन । घरभन्दा टाढा खटिएका प्रहरी सहकर्मीबीच नै टीका–जमरा लगाएर उत्सव बाँड्छन् । जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी बिटसम्म सामूहिक टिका कार्यक्रम हुन्छ, जहाँ प्रमुखकै हातबाट टिका ग्रहण गरेर उनीहरूले कर्तव्यमै दशैं मनाउँछन् । परिवार नजिकै खटिएकाहरूले भने केही घण्टाका लागि मात्रै घर पुग्ने मौका पाउँछन् ।

यसरी, जब देश दशैंको रौनकमा डुबिरहेको हुन्छ, प्रहरी संगठन भने सुरक्षाको चौकी सीमा तल्लीन हुन्छ । यो नै प्रहरीको दशैं हो, कर्तव्यसँगै बाँधिएको, जिम्मेवारीमै डुबेको र जनताको विश्वासमा अडिएको छ । काठमाडौंमा काम वा पढाइका लागि बस्ने प्रायः मानिसहरू दशैंमा घर फर्कन्छन् । सर्वसाधारण घर गएका बेला राजधानीका कोठा बासहरू प्रायः खाली हुने भएकाले विगतमा त्यस्ता कोठामा चोरी–लुटपाट हुने घटना बारम्बार दोहोरिएको छ ।

यस वर्ष यस्ता घटनाको सम्भावना झन् बढ्न सक्ने सरोकारवालाहरूको अनुमान छ । त्यसैले, उपत्यकामा पनि प्रहरीलाई गत वर्षको भन्दा बढी संख्यामा खटाइने तयारी गरिएको छ । दशैंका बेला राजधानीमै परिवारसहित बस्ने प्रहरीहरूलाई टिका थाप्न केही समय परिवारमा पुग्ने मौका मिल्छ । तर, उपत्यकाबाहिर परिवार भएका अधिकांश प्रहरीको दशैं भने ड्युटीमै बित्ने गर्छ ।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधबार