हाल देशभर मनसुनी वायु र स्थानीय वायु को प्रभाव कायमै रहेको छ । देशका केही स्थानमा आज (असोज १५) वर्षाको पूर्वानुमान छ । सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो ।
‘कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
कोसीसहित वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ‘कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ ।
आज राति सबै प्रदेशमा साधारणतया बदली रहने पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सत्यपाटी