२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

जमुनाहा नाका र बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज ११ गते शनिबार
नेपाल-भारत जमुनाहा नाकामा स्थापना गरिएको यात्रु सहायता कक्ष ।

दशैं तिहारजस्ता ठुला चाडपर्वमा भारतबाट आउने लगायतका यात्रुहरुको अत्याधीक चाप बढ्ने भएकाले त्यसलाई लक्षित गरेर जिल्लाका तीन ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले भारतबाट आउने नेपालीको सुरक्षा र सहजतालाई ध्यानमा राखेर जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जनाउँदै उनीहरु लगायत अन्य यात्रुका लागि नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको बताए ।

उनले भारतबाट फर्किने नेपालीलाई रिक्सा चालकदेखि होटल व्यवसायी समेतले दुःख दिने गरेको गुनासो आएकले फर्किने नेपालीलाई सहजिकरण गर्न यात्रु सहायता कक्षले सहयोग गर्ने बताए । चाडपर्वको बेला यात्रुहरुको बसपार्कमा अत्यधिक भीडभाड हुने गरेकोले ठगिने र लुटिने सम्भावना समेत रहेकोले त्यस्ता कार्य रोक्न पनि सहायता कक्षले मद्दत गर्ने प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका विभिन्न नाका तथा मुख्य सडक र राजमार्ग क्षेत्रमा समेत थप जनशक्ति परिचालन गरिएको जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरेर सर्वसाधारणलाई सेवा प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दशैं र तिहारको बेला यात्रुहरुलाई गाडीमा आवागमन गर्न निकै समस्या हुने, ठगीमा पर्ने र लुटपाटमा समेत पर्ने घटनाहरु हुँदै आएकोले राजमार्गहरुमा समेत आपातकालीन चेकजाँचसँगै थप जनशक्ति परिचालन गरेर गस्ती शुरु गराईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार