काठमाडौँ उपत्यकाबाट दशैँका लागि थातथलो फर्किनेको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार यात्रु बाहिरिएका छन् । राजमार्गमा रहेको अवरोध हटेपछि यात्रा केही सहज बनेको छ ।
उपत्यका ट्राफिक प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार असोज १ गतेयता चार लाख १० हजार ९९४ जनाले उपत्यका छाडेका छन् । यो अवधिमा ६५ हजार ३९९ सवारी बाहिरिएका छन् ।
यो बिचमै तीन ६ हजार ९३७ सवारी र तीन लाख ६०२ जना उपत्यका भित्रिएका छन् । अहिले काठमाडौं उपत्यकासँग जोडिएका सबै सडकमा सवारीसाधनको चाप बढेको छ । उपत्यकाको कलंकी, बल्खु, जडीबुटी, जगाती, चाबहिल, नयाँ बसपार्क, बालाजु, माछापोखरी लगायत स्थानमा घर फर्किने यात्रुको बाक्लो उपस्थिति हुने गरेको छ ।
दशैँको वेला १५ लाखभन्दा बढी मानिसले उपत्यका छाड्ने गर्छन् । ट्राफिक प्रहरीले बसपार्कसहितका क्षेत्रमा सहायता कक्ष पनि राखेको छ । विमानस्थलमा पनि आन्तरिक र अन्र्तराष्ट्रिय दुबै टर्मिनलमा घर फर्कनेहरुको घुइँचो देखिन्छ ।
सत्यपाटी