२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

बाइकबाट खसेर दैलेखमा १८ वर्षीय किशोरको मृत्यु, चालक नियन्त्रणमा

सत्यपाटीसत्यपाटी । दैलेख । २०८२ असोज १० गते शुक्रबार

कर्णाली राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा कालिकोटका १८ वर्षीय किशोर एडमन शाहीको ज्यान गएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकल र कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकबीच दैलेखमा ठोक्किएर यो हृदयविदारक घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भई ट्रकमा ठोक्किएको थियो । दुर्घटनापश्चात् मोटरसाइकलको पछाडि सवार खाडाचक्र नगरपालिका–११, कालिकोटका एडमन शाही सडकमा बजारिन पुगे । उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो ।

तत्काल उद्धार गरी उपचारका लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै शाहीको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का २३ वर्षीय मोटरसाइकल चालक विपीन भारती रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । यो घटनाले परिवार र आफन्तजनमा गहिरो शोक छाएको छ । कर्णाली राजमार्गमा बढ्दो सवारी चाप र तीव्र गतिका कारण दुर्घटनाहरू बढिरहेका छन् । यस घटनाले सडक सुरक्षा र ट्राफिक नियमको पालनाको महत्त्व पुनः एकपटक उजागर गरेको छ । सडक प्रयोगकर्ताहरूलाई सावधानी अपनाउन र ट्राफिक नियमको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार