२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

दशैंको मुखमा महङ्गिदै भान्सा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १० गते शुक्रबार

यसपालि दशैं उपभोक्ताका लागि रमाइलोभन्दा बढी चिन्ताको विषय बनेको छ । लगातारको वर्षा, राजमार्गमा पहिरो र जेनजी आन्दोलनको असर देखाएर तरकारीदेखि खानेतेलसम्मको मूल्य ह्वात्तै बढाइएको छ तर उपभोक्तावादी अधिकारकर्मीहरूको भनाइमा यो मूल्यवृद्धिको मूल कारण आपूर्ति संकट मात्र होइन, नियमन प्रणालीको सतहीपन हो ।

कालीमाटी तरकारी बजारको तथ्यांकले देखाउँछ, मात्र ९ दिनमा गोलभेँडाको मूल्य ७२ प्रतिशत, काँक्रो ७१ प्रतिशत, प्याज १७ प्रतिशत र बोडी ५० प्रतिशतभन्दा बढी बढेको छ । थोकमै यस्तो वृद्धि हुँदा खुद्रामा मूल्य दोब्बर–तेब्बर भइरहेको उपभोक्ताको गुनासो छ । तर, वाणिज्य विभाग भने ‘ठूला समस्या छैन, सामान्य त्रुटि मात्रै देखिएको छ’ भन्ने अडानमा छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको भनाइमा उपभोक्ता अहिले तीन किसिमले ठगिँदैछन्, मूल्य अनावश्यक रूपमा बढाइन्छ, गुणस्तर खस्किन्छ र नापतौलमा समेत गडबडी हुन्छ । उनले अनुगमनलाई ‘चाडबाडको फोटो सेसन’ मात्रै भएको आरोप लगाउँदै वर्षभरि चौबिसै घण्टा पारदर्शी संयन्त्र आवश्यक रहेको बताए ।

फलफूल व्यापारीहरू भने अर्कै पीडामा छन् । बाटोमै सड्ने फलफूल बजारमा ल्याउँदा उपभोक्ताले चर्को भुक्तानी गर्नु परेको छैन, बरु व्यापारीले नै घाटा बेहोरिरहेको उनीहरूको दाबी छ । चीनबाट स्याउ रोकिँदा भारतीय स्याउले बजार धानिरहेको छ, तर गुणस्तर बिग्रिएका कारण मूल्य बढाउन नसकिएको उनीहरूको भनाइ छ ।

तेल बजारमा पनि यस्तै चित्र छ । तोरी तेल प्रतिलिटर २५ रुपैयाँले बढेको छ । उद्योग र व्यापारीहरू भारतको निर्यात नीतिलाई दोष दिन्छन्, तर उपभोक्ताले यसको सीधा भार भान्सामा अनुभव गरिरहेका छन् । यो परिस्थितिले एउटा कुरामा औंल्याउँछ, राजमार्ग अवरोधले आपूर्ति समस्या ल्याएको छ तर बजार नियमनको कमजोरी र बिचौलियाको हाबीपनाले मूल्यवृद्धि झन् आक्रामक भएको हो ।

दशैंको मौकामा उपभोक्ता झन् असुरक्षित महसुस गरिरहेका छन्, तर नियामक निकायहरू भने ‘बजारमा ठूलो समस्या छैन’ भन्दै चित्त बुझाइरहेका छन् । यस्तो अवस्थामा उपभोक्ताका लागि वास्तविक चुनौती भनेको चाडपर्वको रमाइलोभन्दा बढी, भान्साको चुल्हो कसरी सम्भाल्ने भन्ने भएको छ ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार