२०८३ जेठ २९ , शुक्रबार 13, June 2026, Saturday

व्यापारमा दसैँ प्रभाव, भदौमा २८ अर्बले बढ्यो आयात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ८ गते बुधबार

भदौको अन्तिम साता ठुलो राजनीतिक उथलपुथल बेहोरे पनि मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको प्रभाव नदेखिएको तथ्यहरूले देखाएका छन् । त्यसको विपरीत वस्तु आयात उकालो लागेको छ । असोजको सुरुवातसँगै दसैँको चहलपहलसमेत सुरु भइसकेको अवस्थामा भदौमा आयात विगतको तुलनामा अत्यधिक बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–०८३ को दुई महिना (साउन–भदौ) को अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी तथ्याङ्क अनुसार नेपालले तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको दुई महिनाको तुलनामा १६.२३ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । भदौमा मात्रै आयातको तथ्याङ्क अझ बढी छ । यस वर्ष भदौमा एक खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको देखिन्छ । जबकि गत वर्ष भदौमा एक खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

जेनजी आन्दोलनकै बिच पनि भदौमा आयात गत वर्षको तुलनामा करिब २८ अर्ब रुपैयाँले बढेको देखिन्छ । निर्यात व्यापारमा पनि चालु वर्ष अत्यन्त ठुलो सुधार देखिएको छ । गत वर्षको दुई महिनाको तुलनामा वस्तु निर्यात ८८.५७ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष भदौसम्म नेपालबाट २५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

फेरियो आयातको प्रवृत्ति

दुई महिनाको वस्तु आयातको प्रवृत्ति विगतको तुलनामा पृथक् छ । सवारीसाधनका लागि प्रयोग हुने डिजेल सबैभन्दा धेरै आयात हुने सूचीमा सधैँ शीर्ष स्थानमा रहँदै आएकोमा यस पटक त्यसमा परिवर्तन आएको छ । विभागका अनुसार नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तु बनेको छ, कच्चा भटमास तेल । विगत दुई महिनामा नेपालले २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कच्चा भटमास तेल आयात भएको छ ।

यस्तो तेल प्रशोधित भएर भारततर्फ निर्यात भएको देखिन्छ । भटमास तेलपछि १४ अर्ब ९१ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यद्यपि डिजेलको आयात विगतको तुलनामा सामान्य बढेको छ । त्यसपछि १३ अर्ब ६६ करोड रुपैयाँ बराबरको रासायनिक मल आयात भएको छ । १० अर्ब ५८ करोड रुपैयाँ बराबरको पेट्रोल आयात हुँदा नौ अर्ब ४३ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको विभागको तथ्याङ्क छ । त्यसपछि आठ अर्ब ८७ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

भटमास तेलले बढायो निर्यात

सर्वाधिक आयात हुनेमा कच्चा भटमास तेल रहेजस्तै सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा प्रशोधित भटमास तेल रहेको छ । विभागका अनुसार दुई महिनामा २० अर्ब ४२ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । त्यसपछि एक अर्ब ५८ करोड रुपैयाँको गलैँचा, एक अर्ब ३८ करोड रुपैयाँको सूर्यमुखी तेल र एक अर्ब ३१ करोडको पाम तेल निर्यात भएको विभागको तथ्याङ्क छ ।

समग्र निर्यात बढ्दा कुल व्यापारमा निर्यातको हिस्सा बढेर १३.४२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिका निर्यातको हिस्सा ८.७२ प्रतिशत थियो । कुल तीन खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार हुँदा दुई खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँको व्यापार घाटा भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार