दशैं लागेसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । जेठ दोस्रो सातादेखि लेक उक्लिएका गोठाला दशैँ शुरु भएसँगै बेसी झर्न थालेका हुन् । चार महिना लेकमा बसेका गोठालाहरू परिवारसँग भेट्ने आशा बोकेर बेसी झरिरहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोला लगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् ।
गोठालाहरू ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन् । ती क्षेत्र समुद्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ ।
पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन् । चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ । महिनौँ परिवारसँग टाढिएका उनीहरू अब आगामी जेठ महिनासम्मसँगै हुने छन् । एकै परिवारले २०० देखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरू हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् ।
बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन् । यतिवेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरू बेसी झरेर बजार तिर लाग्ने गर्छन् ।
बेसी झरेका गोठालेहरू अब केही दिनमै मुख्यमुख्य शहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् । दशैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन् । निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताए । आफ्ना २०० बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पुर्याउन समस्या हुने गरेको उनको भनाइ छ ।
चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाए । ‘हाम्रा बाउबाजेले यहीँ पेशा गरे, हामीहरूले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रो छोरानातीले भेडा गोठाला बन्न चाहेनन्, उनीहरूले पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो,’ उनले भने ।
उनका अनुसार यो साल मात्रै होइन हामीहरू हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ दिन टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ । बर्खाभरि पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् ।
बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन् । गोठालाहर भेडा बेच्नका लागि केही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताए ।
आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरके वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उनको भनाइ छ । ‘म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०–४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त बिस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दशैँ अल्ली पछाडि हुँदा असोज २०–२२ तिर झथ्र्यो अहिले त अलि छिटै पर्यो,’ उनले भने ।
उनका अनुसार असारमा गएपछि म तीज वेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्ने गाह्रो हुन्छ, नजिक छैन लेक त्यहीँ भएर खर्च पर्च एकै पटक लिएर जाने र दशैँ मनाउन आउने गर्छौँ । लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ । जसले दशैँको माहोल बढाएको छ । निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारी सकेको बताए । गाई १३ गतेसम्म बेसी झारी सक्ने घर्तीले सुनाए ।
सत्यपाटी