२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा फेरियो नयाँ लिङ्गो

कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक स्थल जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाको दिन परम्परा अनुसार नयाँ लिङ्गो फेरिएको छ । सोमबार चन्दननाथ मन्दिरमा ५२ हातको र भैरवनाथ मन्दिरमा ४८ हातको नयाँ लिङ्गो ठड्याइएको हो ।

चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार, मन्दिरमा लिङ्गो ठड्याएपछि मात्रै जुम्लावासीले आ–आफ्नो घरमा घटस्थापना गर्छन् । वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि देवीदेवताले प्राकृतिक विपद्बाट रक्षा गरून् भन्ने विश्वासका साथ ५२ हाते लिङ्गो राखिने प्रचलन रहेको छ ।

लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सी धानको सिक चढाउने परम्परा रहेको छ । यसले मार्सी धानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास गरिन्छ । दशकअघिसम्म कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो ।

जुम्लाबाट अन्न र पैसा, कालीकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा र मुगुबाट मास, मुगी दाल, राडीपाखी लगायतका सामग्रीहरू ल्याइन्थ्यो । तर, अहिले यो परम्परा रोकिएको मन्दिर गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताएका छन् । मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलन रहेको छ, जसअनुसार सोमबार स्थानीयहरूले घरघरमा घटस्थापना गरेका छन् ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार