२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

नेपाल एयरलाइन्सको काठमाडौं-ग्वाङ्जाउ सिधा उडान

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ७ गते मंगलबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलोपटक काठमाडौं–ग्वाङ्जाउ–काठमाडौं सिधा उडान सेवा सुरु गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार आगामी असोज ९ गतेदेखि उडान सुरु हुनेछ ।

निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान हुनेछ । त्यसपछि प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वाङ्जाउतर्फ सिधा उडान हुनेछ ।

काठमाडौंबाट ग्वाङ्जाउसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको छ । अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको महत्वपूर्ण शहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए । निगमले निकट भविष्यमै काठमाडौंबाट कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।

हाल नेपाल एयरलाइन्ससँग रहेका दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजमार्फत् कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैंग्लोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार