२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

रातको भोजनमा भात वा रोटी के खानु उचित ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ६ गते सोमबार

धेरैजसो बेला मानिसहरूबीच यसबारे बहस हुने गर्छ कि चामल खानु स्वास्थ्यका लागि राम्रो हो कि रोटी । धेरै मानिसहरूले बेलुकीको भोजनमा चामल अर्थात् भात र रोटी दुवै खान्छन् । यसलाई उनीहरूले सन्तुलनको रूपमा पनि हेर्ने गर्छन् ।

नेपालसहित भारतका केही ठाउँ बिहार, पश्चिम बंगाल जस्ता राज्यहरूमा भात प्रमुख भोजन हो । तर कतिपय स्थानमा रोटीलाई प्राथमिकता दिइन्छ । नेपालको तराइमधेशमा रातीको भोजनमा रोटी खाने प्रचलन छ । तर विशेषज्ञहरूले यो बहसलाई केवल भात र रोटीको आधारमा मात्र हेर्दैनन् ।

तपाईंको थालमा के हुनुपर्छ ?

बेलुकीको खानामा रोटी हुनुपर्छ कि भात यो धेरै कुरामा निर्भर गर्छ । तर यो पनि हेर्नुपर्ने पर्छ कि तपाईं कुन प्रकारको भात वा रोटी खाँदै हुनुहुन्छ र कसरी खान्छौं भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । हाम्रो थालमा भात होस् वा रोटी, दुवैमा कार्बोहाइड्रेट पाइन्छ ।

सामान्यतया मानिन्छ कि रोटीमा भातभन्दा कम कार्बोहाइड्रेट हुन्छ, त्यसैले स्वास्थ्यका हिसाबले यो राम्रो हुन्छ । भारतकी डायटिसियन नाजनीन हुसेन भन्छिन्, ‘यदि तपाईं मोटो खालको पिठो वा बढी फाइबर भएको रोटी खानुहुन्छ भने ठीक छ, तर यदि तपाईं सफा (रिफाइन) पिठोको रोटी खानुहुन्छ भने त्यो भातकै जस्तै हो र यसलाई खाँदा पनि सुगरको स्तर छिट्टै बढ्छ ।’

उनको भनाइमा, लामो पालिस भएको चामल स्वास्थ्यका लागि राम्रो हुँदैन, तर बिना पालिस सानो दाना भएको चामल राम्रो हुन्छ । फाइबरको हिसाबले डाक्टर वा डायटिसियनहरूले प्रायः ब्राउन राइस वा बिना पालिस चामल खान सल्लाह दिने गर्छन् । अर्को सल्लाह यो पनि हुन्छ कि भातलाई दाल, दही वा तरकारीसँग खानुपर्छ । खिचडी वा पुलाउ बनाएर खानु पनि शरीरका लागि लाभदायी हुन्छ । कतिपय डायटिसियनले त हामीले खाने पिठो, चीनी, मैदा र नुनजस्तै सेतो विष बन्दै गएको पनि बताउँछन् ।

‘हाम्रो खाने तरिका पनि गलत छ, हामी रोटी धेरै र तरकारी कम खान्छौं । तर तपाईंले भातसँग बढी तरकारी खानुभयो भने यसको ग्लाइसेमिक इन्डेक्स सुधारिन्छ, जसले गर्दा शरीरमा सुगर बिस्तारै घुल्छ । यस हिसाबले यो रोटीभन्दा राम्रो हुन्छ,’ उनी भन्छिन् । रोटी बनाउन प्रयोग हुने पिठोलाई हरियो पातलो तरकारी वा लौकासँग मिसाएर गुँथेमा यसलाई पनि स्वास्थ्यकर बनाउन सकिन्छ ।

भात वा रोटीमध्ये कुन राम्रो ?

भात र रोटीबीचको आधारभूत फरक ऊर्जा आवश्यकतासँग जोडिएको छ । जसलाई बढी ऊर्जा चाहिन्छ, उसकै लागि भात राम्रो हुन्छ । जस्तै शारीरिक श्रम धेरै गर्नेहरूको लागि भात उपयुक्त हुन्छ । तर जसले बारम्बार खान चाहँदैनन् वा बढी खान चाहँदैनन्, उनीहरूका लागि रोटी राम्रो हुन्छ किनभने यसमा फाइबर बढी हुन्छ । यसले पेट लामो समयसम्म भरिएको महसुस हुन्छ ।

दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) की डायटिसियन माला मनराल भन्छिन्, ‘रोटी पनि राम्रो प्रोटिनसँग खाँदा अझ राम्रो हुन्छ । मासु खानेका लागि धेरै विकल्प छन्, तर शाकाहारीहरूले रोटी तरकारी वा दालसँग खान सक्नेछन् ।’ के खानुपर्छ भन्ने कुरा तपाईंको काम र जीवनशैलीमा निर्भर गर्छ । यदि तपाईं बसेर काम गरिरहनु भएको छ भने कम क्यालोरी चाहिन्छ । त्यस्ता मानिसलाई डायटिसियनहरूले रोटी खान सल्लाह दिन्छन् ।

किनभने चामल बढी खाए मोटोपन बढ्ने खतरा हुन्छ । हरेक व्यक्तिको शारीरिक सक्रियता र उमेरअनुसार निश्चित क्यालोरी आवश्यक हुन्छ । मानौं कसैलाई १६०० किलोक्यालोरी चाहिन्छ भने, त्यसको ६० प्रतिशत कार्बोहाइड्रेट, २० प्रतिशत प्रोटिन र करिब २० प्रतिशत बोसो हुनुपर्छ । यसमा कार्बोहाइड्रेटका लागि रोटी, भात र प्रोटिनका लागि दाल वा मासु खानेहरूका लागि अण्डा आदि सामेल हुनुपर्छ ।

स्वास्थ्य र रोगअनुसार फरक

कसैले भात खानुपर्छ वा रोटी, यो धेरै हदसम्म उसको स्वास्थ्यमा पनि निर्भर हुन्छ । सामान्यतया मधुमेह (सुगर) रोगीलाई भातभन्दा बढी फाइबर भएको खाना खान सल्लाह दिइन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने फ्रिजमा राखिएको चामल फाइबर कन्टेन्टका हिसाबले राम्रो मानिन्छ । चामललाई फ्रिजमा राख्दा यसको रेसिस्टेन्ट स्टार्च फाइबरमा बदलिन्छ, जसले गर्दा सुगरको मात्रा अचानक बढ्दैन । मानिन्छ कि सानैदेखि जुन चीज खानको बानी हुन्छ, त्यसलाई पचाउन सजिलो हुन्छ र त्यही खानाले सन्तुष्टि दिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार