बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको जिल्लाको राप्तीसोनारी गाउँपालिकाको कचनापुर क्षेत्रमा बाघको त्रासले स्थानीय आतङ्कित भएका छन् । बाघको आक्रमणबाट चार दिनअघि कचनापुरको माथेबास मदुईस्थित जनमुखी सामुदायिक वनमा राप्तीसोनारी गाउँपालिका–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारुको मृत्यु भएपछि सो क्षेत्रमा बाघको त्रास बढेको हो ।
राप्तीसोनारी–२ माथेबास मदुईमा रहेका आफन्तको घरबाट आफ्नो घर सोही गाउँपालिका–३, सिनाबास फर्किने क्रममा लक्ष्मी थारुलाई बाघले खाएको अवस्थामा वनमा शव भेटिएको थियो । सो घटनापछि माथेबास, मदुई लगायत कचनापुर र सो वरिपरिका गाउँहरुमा समेत बाघको आतङ्कले स्थानीयलाई अत्यधिक त्रसित बनाएको कचनापुरका भूपेन्द्र वलीले बताए ।
उनले भने, ‘बाघको डरले गाउँ सुनसान छ, दिउँसो पनि स्थानीयले आफ्नो घरका ढोका बन्द गरेर बस्छन् । गाउँका बासिन्दाको दैनिक जीवनी नै बदलिएको छ, जङ्गलमा घाँस दाउरा गर्न जान पनि छोडेका छन् ।’ बाघको आक्रमणबाट लक्ष्मीको मृत्युपछि गाउँको दैनिक जीवन नै अस्तव्यस्त भएको छ । यसअघि बेलुकीपख गाउँमा स्थानीय भेला भएर गफगाफ गर्ने, बालबालिकाले खेल्ने गर्थे ।
अहिले बेलुका नहुँदै गाउँ सुनसान हुने गरेको छ । साँझ परेपछि सबै घरमा बन्द हुन्छन् । कचनापुरका अर्का स्थानीय सुरेश भण्डारीले बाघको डरले अहिले मानिसहरू घर बाहिर निस्कन डराउन थालेको जनाउँदै कतिपय परिवारले पालैपालो जाग्राम बस्ने गरेको पनि बताए । बाघको त्रासकै कारण गाउँका स्थानीयले अहिल टर्च र लौरो लिएर समूहमा रातभरि होहल्ला गर्दै जाग्राम बस्न थालेको जनाइएको छ ।
बाघ नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग अनुरोध गरिएको जनप्रतिनिधिहरुले जनाएका छन् । राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार थारुले लक्ष्मीलाई बाघले खाएपछि निकुञ्जलाई बाघ नियन्त्रणका लागि अनुरोध गरिएको बताए । उनले सो क्षेत्रमा भएको यो पहिलो घटना नभएको जनाउँदै यसअघि पनि पटक पटक बाघ, चितुवा र जङ्गली बँदेलको आक्रमण हुँदै आएको बताए । निकुञ्जबाट पानी र आहाराको खोजीमा निस्केका बाघले नजकिको गाउँबस्तीमा गत लामो समयदेखि आक्रमण गर्दै आएका छन् ।
सत्यपाटी