२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

अदालतहरुमा आगजनी हुँदा रविका प्रमाण जलेर खरानी, गोरेका जोगिए !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ३ गते शुक्रबार

जेनजी आन्दोलन सुरु भएको पहिलो दिन (भदौ २३) नै शहीद चोक र आसपासलाई सुरक्षा निकायले संवेदनशील मानेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रशासन, अदालत लगायतका निकाय यही क्षेत्रमा थिए ।

त्यसदिनै मुख्यमन्त्री कार्यालय नजिकै दुई जनालाई गोली लाग्यो र दिउँसोदेखि नै निषेधाज्ञा जारी भयो । भोलिपल्ट (भदौ २४) बिहान १० बजेदेखि कफ्र्यू लागू भयो । प्रदर्शनकारीहरू पोखरा सभागृहमा भेला भइसकेका थिए ।

१२ बजेतिर भीड नियन्त्रणबाहिर गइ पोखरा महानगरपालिकामा तोडफोड र आगजनी सुरु भयो । त्यसपछि सरकारी संरचना, नेताका घरदेखि व्यवसायसम्म विध्वंस फैलियो । प्रमुख निशानामा कास्की जिल्ला अदालत पनि पर्यो ।

सरकारी वकिल कार्यालयदेखि अदालतसम्म जलाइयो । आन्दोलनकारीले पहिलो निशाना नै रवि लामिछानेको मुद्दा रहेका ३ नम्बर फाँटलाई बनाएको कर्मचारीहरूले बताए । करिब ४ बजेतिर आन्दोलनकारी अदालतमा प्रवेश गर्दा कर्मचारीहरू भाग्न थाले ।

सूचना अधिकारीका अनुसार सहकारी लगायतका मुद्दाका मिसिल जलेका छन् । करिब ७० हजार फैसलामध्ये आधा अभिलेख जलेको अनुमान छ । पाँच न्यायाधीशका इजलास र कार्यालयका गाडीहरू समेत नष्ट भए ।

अदालत पुरानो संरचना भएकाले क्षति ठूलो भएको पूर्वन्यायाधीश राघवलाल वैद्य बताउँछन् । अभिलेख नष्ट हुँदा न्याय प्रणालीमै असर पर्ने अधिवक्ता भगवती पहारीको भनाइ छ । अनलाइन प्रणालीले केही बचाएको भए पनि धेरै ऐतिहासिक फैसला र मिसिल गुमेका छन् ।

हाल अदालतले बन्दीप्रत्यक्षीकरण र म्याद थपजस्ता सेवा थालिसकेको छ, तर नियमित पेशी कहिले सुरु हुने टुंगो छैन । त्यस्तै आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा मोरङ जिल्ला अदालतको ६१ वर्षको इतिहास जलेको छ ।

२०२१ सालमा स्थापना भएको यो अदालतमा अभिलेख शाखामा रहेका एक लाख ५० हजारमध्ये करिब एक लाख ४५ हजार मुद्दाका मिसिल नष्ट भए । विचाराधीन तीन हजार ६०० मुद्दामध्ये दुई हजार ५०० को मिसिल भने जोगियो ।

आगलागीमा अदालत भवन, ६२ निजी मोटरसाइकल, ५९ दसीको रूपमा राखिएका मोटरसाइकल, न्यायाधीशका सात र अदालतका तीन चारपांग्रे गाडी जले । उच्च अदालत विराटनगरमा पनि आगजनी र लुटपाटबाट ठूलो क्षति भयो ।

रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार यहाँका करिब ६५ हजार मुद्दामध्ये केही मिसिल जले पनि, अभियान फाँटमा रहेका ५४७ मुद्दा सुरक्षित छन् । त्यसमा सनम शाक्य हत्या प्रकरण र सुन तस्करीका नाइके चुडामणी उप्रेती ‘गोरे’को मुद्दा पनि सुरक्षित छ । उच्च अदालतमा ११ सरकारी, दुई निजी गाडी र केही मोटरसाइकल जलेका छन् ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार