नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहको छ । सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेका देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएका हुन् । उपसभापति खड्काले शुक्रवार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको जानकारी दिए ।
उनले भने, ‘हामी सुरुमा अत्तालिएका थियौँ । तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो । अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको र १२ वटा टाँका लगाइएको छ ।’
सभापति देउवाको गर्धनमा सामान्य चोट छ । टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ । उनले अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्न सक्ने भएको बताएका छन् ।
उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ । बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले छिटो स्वास्थ्य लाभ गर्न असहयोग गर्छ ।’ देउवा पत्नी आरजु राणा देउवाको पनि स्वास्थ्यमा सुधार आएको उनले बताए । उनको मुख र गर्धनमा चोट लागेको छ ।
घाउको प्रकृति हेर्दा उनीहरूमाथि सिसा, रड वा धारिलो हतियार प्रहार भएको हुन सक्ने अनुमान छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा रहेका देउवा दम्पत्तिलाई आन्दोलनकारीले घरबाहिर निकालेर कुटपिट गरेका थिए भने घर जलाएका थिए ।

